हेर्दाहेर्दै रत्न ढल्नुभयो

Sushila-Shresthaरत्नकुमार बान्तवा, तत्कालीन नेकपा (माले)का संस्थापक नेतामध्ये एक । २७ चैत २००८ मा इलामको चमैता–७ चित्रेमा गरिब किसान परिवारमा जन्मिएका बान्तवाले उही मितिमा २०३५ मा सहादत प्राप्त गरे । २७ वर्षको उमेरमै सामाजिक तथा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्‍याएका उनले बाँचेका दिनसम्म परिवारदेखि राज्यप्रणाली परिवर्तनको आन्दोलनलाई समेत अभिभावकत्व प्रदान गरे । उनले यस अवधिमा व्यक्तिगतभन्दा पनि परिवार, समाज र राष्ट्रका लागि समय खर्चेको देखिन्छ । सामन्ती राज्यसत्ताविरुद्ध सुरुङ युद्धको थालनी र गुरिल्ला युद्धको अभ्याससमेत गरेका उनी कोअर्डिनेसन संगठनको साधारण सदस्य हुँदै पार्टीको केन्द्रीय तहमा पुगेका थिए । जीवनको अन्तिम समय उनले मृत्युलाई चिनेझैँ ‘कमरेड, संघर्षमा के कसो हुने हो, लौ एकपटक आफ्नो देशलाई हेरौँ’ भन्दै देशको मुहार हेरेका थिए । उनै जननेताले सहादत प्राप्त गर्दाका क्षणको स्मरण गर्दै छिन्– नेत्री सुशीला श्रेष्ठ ।

ताप्लेजुङमा स्कुले विद्यार्थी हुँदैदेखि सामाजिक विभेद धेरै देखेँ । समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न पढ्नुपर्छ, चेतना हुनुपर्छ भन्ने मैले बुझेकी थिएँ । समाजमा परिवर्तन ल्याउन जसरी पनि पढ्नुपर्छ । आफू शिक्षित भएर अरूलाई ज्ञान बाँड्नुपर्छ भन्नेमा म ढुक्क थिएँ ।
विद्यार्थी थिएँ, घरमा बुबाआमाले झापा आन्दोलनको कुरा दन्त्यकथाजस्तै गरेर सुनाउनुहुन्थ्यो । उहाँहरू झापा आउने–जाने क्रम भइरहन्थ्यो । म उहाँहरूका कुरा चाख दिएर सुन्थेँ । दाजु पनि झापा आन्दोलनको पक्षमा लाग्नुभएको रहेछ, धेरै कुरा सुनाउनुहुन्थ्यो । परिवारको कुरा सुन्दा म बिस्तारै झापा आन्दोलनतिर आकर्षित भएँ । अन्यायको विरोधमा चलेको झापा आन्दोलनप्रति मेरो पूर्णसमर्थन थियो । राजनीतिक रूपमा भन्दा सामाजिक रूपमा म झापा आन्दोलनप्रति आकर्षित भएँ । नेत्र घिमिरे, रामनाथ ढकालजस्ता सहिदबाट प्रभावित थिएँ, सामाजिक परिवर्तन गर्न मान्छेले कति त्याग गर्दा रहेछन् भनेर । सहिदको जीवनी पढेपछि अझै उत्साही बनेकी थिएँ ।
०३३ सालमा पढ्न काठमाडौं आएँ । मेरो संगत वामपन्थीहरूसँग बढ्दै गयो । त्यति बेला भर्खरै नख्खु जेल ब्रेक भएको थियो । त्यो घटनाले मलाई थप उत्साही बनायो । अन्तर्राष्ट्रिय महिला आन्दोलनका अगुवाहरूको संघर्षका कथा खोजी–खोजी अध्ययन गर्थेँ । काठमाडौं आएपछि थाहा पाएँ, यहाँ थरीथरीका कम्युनिस्ट पार्टी रहेछन् । दाजु मभन्दा परिपक्व भएकाले होला, उहाँले मलाई सचेत गराउनुभएको थियो, ‘झापा आन्दोलनको पक्षमा सबैसँग खुलेर कुरा नगर्नू ।’ दाजुले किन यसो भनेको होला भन्ने लागेको थियो । यहाँ आएपछि बुझेँ । धेरैजसो कम्युनिस्ट झापा आन्दोलनविरुद्ध रहेछन् । बोराभर चामल राखेर भोको बस्ने अभ्यास गर्ने धेरै कम्युनिस्ट देखँे मैले । कम्युनिस्ट नेता कार्यकर्ता मलाई प्रश्न गर्थे, ‘सिल्कको साडी लगाउनेले पनि क्रान्ति गर्छ र ?’ मेरो जवाफ हुन्थ्यो, ‘आवश्यकता परे जस्तो अवस्थामा पनि क्रान्ति गरिन्छ ।’ अन्न राखेर भोको बस्न आवश्यकता थिएन । त्यत्तिकै पनि धेरै जनता भोकै बसेका छन्, भन्थेँ म । आडम्बरी प्रवृत्तिविरुद्ध थिएँ ।
मेरो सम्पर्क पार्टीसँग बढ्दै गयो । अशोक राई मेरो पहिलो पार्टी सम्पर्कव्यक्ति थिए । बिस्तारै अरूसँग पनि सम्पर्क बढ्दै गयो । ०३५ सालमा पार्टीले मलाई ताप्लेजुङ पठायो । पढाइ छाडेर राजनीति गर्न म पूर्व लागेँ । पार्टीले ४ बजे इटहरी सम्पर्कमा पुग्न भनेको थियो । गाडीका कारण दुई घन्टा ढिलाइ भयो । तब मैले पार्टी सम्पर्क गर्न सकिनँ । केही समय सम्पर्कविहीन भएँ । सञ्चारसुविधा थिएन, सुरक्षाको दृष्टिले सोधखोज गर्न गाह्रो । पार्टी सम्पर्क खोज्दै झापा पुगेँ । झापामा महिनादिन बसेँ । झापाबाट पार्टीले मलाई इलाम पठायो । इलाममा गएपछि रत्नकुमार बान्तवासँग भेट भयो । करिब १०/१२ दिन उहाँसँग बसेर काम गर्ने अवसर पाएँ ।
इलामको इभाङ भन्ने गाउँमा हाम्रो सेल्टर थियो । म, रत्नलगायत केही साथी त्यहाँ बस्थ्यौँ । सेल्टरमा पार्टीको दस्तावेज र केही हतियार थिए । चैत २७ गते बिहान झिसमिसेमा म, रत्नकुमार बान्तवा र अर्का एक साथी ताप्लेजुङको पार्टी कामका लागि सेल्टरबाट बाटो लाग्यौँ । सेल्टरबाट निस्केको केही समयमा बस्ती सकिनेबित्तिकैको जंगलछेउ चारैतिर प्रहरीले हामीलाई घेरा हालिहाले । रत्न प्रहरीको नियन्त्रणमा परिहाल्नुभयो । सँगै गएका अर्का साथी भाग्नुभयो । रत्न प्रहरीको पन्जाबाट फुत्कने प्रयास गर्नुहुँदै थियो । मैले उहाँलाई फुत्कन सहयोग गरेँ । प्रहरीको हात फुत्काएँ । उहाँ केही पर पुग्नेबित्तिकै प्रहरीले फायरिङ गरे । उहाँलाई गोली लाग्यो, भुइँमा ढल्नुभयो । मलाई पनि प्रहरीले बन्दुकको कुन्दा र लट्ठीले हाने । म पनि ढलेँ । म होसमा आउँदा उहाँको मृत्यु भइसकेको थियो । म हात बाँधिएको अवस्थामा थिएँ । त्यति बेला चुपचाप हेर्नुसिवाय केही उपाय थिएन ।
केही समय त्यहाँ राखेपछि रत्नको शव गाउँलेलाई बोक्न लगाई देउमाई खोला पार गरी मंगलबारे पुर्‍याए । त्यहाँ एउटा घरमा पुगेर प्रहरी खाना खान लागे । मलाई लाग्छ, त्यो उतिबेलाका वडाध्यक्षको घर थियो । रत्नको पार्थिव शरीर केही पर राखेर प्रहरीहरू खानपिनमा लागे । उनीहरू जाँड ल्याएर मलाई पनि खान आग्रह गर्दै थिए । रत्नलाई मारिएको ठाउँबाट करिब सात घन्टा हिँडेर हामी त्यहाँ पुगेका थियौँ । बाटोमा मलाई प्रहरीहरू अनेक प्रश्न सोध्थे, कहिले फकाउँदै कहिले तर्साउँदै । म चुपचाप उनीहरूका प्रश्न सुनिरहन्थेँ । सात घन्टामा मैले उनीहरूसँग एक शब्द पनि बोलिनँ ।
प्रहरीहरू प्रश्न बर्साइरहेकै थिए– ‘कसकी छोरी हो, को–को छन् तिम्रा नेता, कहाँ बस्छन् ? कहाँबाट आयौ ? यस्तो उमेरमा किन यसरी हिँडेको ?’ म सुनेको नसुन्यै गर्थें । फेरि धम्क्याउँथे, ‘यसलाई कसरी बोलाउनुपर्छ हामीलाई थाहा छ † चौकीमा लगेर सिस्नोपानी लगाएपछि सबै भन्छे †’ उनीहरूले जति धम्क्याए पनि मलाई मृत्युसँग रत्तिभर डर थिएन । केवल डर थियो त आन्दोलनमा क्षति पुग्ला भन्ने ।
प्रहरीसँग हिँडिरहँदा म कसरी भाग्ने भनेर सोचिरहेकी थिएँ । मौकाको पर्खाइमा थिएँ । जब उनीहरू खानपिनमा लागे, म यसो खोल्सातिर लागेँ । एउटा प्रहरीले अर्को प्रहरीलाई भन्यो, ‘यसलाई बाहिर जानुपरेजस्तो छ जान दे ।’ म पर गएँ, मेरो पछि–पछि एउटा प्रहरी आउँदै थियो । मैले भनेँ, ‘जनताले तिमीहरूलाई कुकुर भन्थे, साँच्चै कुकुर हौ ? दिसा त कुकुरले खान्छ, तिमीहरू पनि खान्छौ ?’ ऊ हच्कियो, त्यही मौकाको फाइदा उठाउँदै म खोल्सैखोल्सा भागे । प्रहरी ‘भागी–भागी’ भन्दै कराउन थाल्यो । एकै छिनमा फायरिङ सुरु भयो । म खोल्साको तल ढुंगाको आड लागेर बसेँ । जताजता आवाज आउँथ्यो म त्यतै ढुंगामा आड लाग्थेँ । माथिबाट प्रहरी भन्दै थिए– ‘मृगजस्तै कति छिटो भागी, कता गइहोली †’ केही समयपछि आवाज बन्द भयो । तर, चटट्ट गर्दै अर्कै आवाज आउन थाल्यो । माथि हेरेको त, जंगलमा चारैतिर आगोको राँको छ । भाग्ने ठाउँ कतै छैन । प्रहरीहरू भन्दै छन्– ‘अब यही जंगलमा डढेर मर्छे, भोलि लास खोज्न जानुपर्छ ।’
डढेर मर्नुभन्दा भाग्नु बेस ठानेँ । केही तल पानी थियो । पानीछेउ जाँदा आगोबाट बच्न पनि सकिन्छ भनेर तल झरेँ । तल पनि प्रहरीको आदेशमा गाउँलेहरू ठाउँठाउँ आगो झोस्दै थिए । गाउँलेले मलाई देखेनन् वा नदेखेजस्तो गरे, म उनीहरूका आँखा छलेर आगोबाट उम्केँ । गाउँ छिर्ने अवस्था थिएन । डढेलो लागेको जंगलको खोल्सापारि गएर बसेँ । साँझ पर्‍यो, कता जाने अन्योलमा परेँ । शरीरभर चोट लागेकाले रगताम्य थिएँ । जंगलजंगल भौँतारिएर चार रात बिताएँ । सोचेँ– यसरी भौँतारिनुभन्दा जे त पर्ला गाउँतिर जान्छु । पाँचौँ दिन बस्तीमा छिरेँ । तर, मलाई त्यो गाउँबारे केही थाहा थिएन, कता जाने भनेर ।
एक महिलालाई सोधेँ, इभाङ जाने बाटो । उनैले देखाएको लोकेसनका आधारमा म पुन: पार्टी सेल्टर पुगेँ । तर, मलाई धेरै खतरा थियो । प्रहरीले मेरो विद्यार्थी परिचयपत्रमा रहेको फोटो लगेको थियो । सबैतिर मेरो फोटो सार्वजनिक भएको थियो । सेल्टर भएको घरका कमरेडले मलाई त्यहाँ बस्न नहुने भन्दै जंगलमा लगेर राखे । राति तिनै कमरेडले पार्टी सम्पर्कमा पुर्‍याए ।
मैले सहिद रत्नसँग छोटो समय काम गर्ने मौका पाएँ । उहाँ निडर, साहसी र मेहनती हुनुहुन्थ्यो । हत्या हुनु अघिल्लो दिन जनताको घरमा चैते धान रोपाइँ थियो, उहाँ धान रोप्न जानुभयो । म पनि जान्छु भनेँ, उहाँ मान्नुभएन । ‘तपाईंको लवाइ, रूप यहाँका जनतासँग मिल्दैन, मान्छेले शंका गर्छन्’ भन्नुभयो । मलाई सेल्टरमै छोडियो । उहाँ जनताको घरमा बस्दा केही न केही काम गर्नुहुन्थ्यो, कहिल्यै त्यसै नबस्ने स्वभाव थियो । तर, अहिले लाग्छ– जनताको राज्यव्यवस्था स्थापित गर्न हिँडेका ती नेता न हामीबीच छन् न त तिनका आदर्श र विचार । रत्नमा कुनै लालचा र स्वार्थ थिएन । युद्धको सबै कौशलता थियो उहाँमा । भाला, बन्दुक, तीरजस्ता सबै हतियार चलाउनुहुन्थ्यो । जनताका लागि सहजै त्याग गर्ने ती नेताले जन्माएका धेरै नेताको उपलब्धि भयो तर देश र जनताको उपलब्धि भएन । आजका दिन रत्नलाई सम्झँदा लाग्छ– उहाँले जनताको पार्टी बनाउन चाहनुभएको थियो । तर, यति बेला नेपालमा कम्युनिस्ट पार्टीहरू डन र धनका बन्दै छन् ।
(सचित राईको सहयोगमा)

प्रतिक्रिया