‘अचार काण्ड’का ‘असई’ इन्स्पेक्टर बन्न लबिङ गर्दै

काठमाडौं, २७ चैत । नेपाल प्रहरीमा चर्चित मानिने ‘अचार काण्ड’मा मुछिएका प्रहरी नायव निरीक्षक(सइ)हरू वरीयता मिचेर प्रहरी निरीक्षक बन्ने चलखेलमा लागेका छन् । ‘जसरी पनि बढुवा’ हुन उनीहरूले आन्तरिक र राजनीतिक लबिङ सुरु गरेको प्रहरी स्रोतले बतायो ।

सिन्धुपाल्चोकको डाँडापाखरस्थित तालिम केन्द्रभित्र भएको ‘अचार काण्ड’मा एक सय १० जना तत्कालीन प्रहरी सहायक निरीक्षक(असइ)हरू मुछिएका थिए । तीमध्ये ३० जना अहिले सई छन् । स्रोतका अनुसार उनीहरूमध्ये प्रविन जोशी, निशेस चापागाईं, दीपेन्द्र अधिकारी, पर्शुराम घिमिरे, निलम उप्रेती, रमेश भट्टराईलगायत आधा दर्जन सई बढुवाको लबिङका लागि पूर्वगृहमन्त्री र प्रहरी महानिरीक्षकको सचिवालय धाउन थालेका छन् ।
रोलक्रम मिचेरै भए पनि जुनसुकै हालतमा ‘प्रहरी निरीक्षक बन्नुपर्छ’ भन्दै ‘अचार काण्ड’मा मुछिएका सईहरूले लबिङ थालेको स्रोतको दाबी छ । रोलक्रमअनुसार ०५८ सालमा सई भएकाहरूको अहिले प्रहरी निरीक्षक बन्ने पालो हो । लबिङमा लागेकाहरू ०५९ सालमा सई भएका हुन् । ‘उनीहरू कुनै पनि हालतमा प्रहरी निरीक्षक बन्ने पक्षमा छन्, लबिङ गर्न प्रहरी महानिरीक्षको सचिवालय धाउने मात्रै होइन, पूर्वगृहमन्त्रीहरूको घर–घर पुग्ने काम पनि उनीहरूले गरिरहेका छन् । संगठनविरुद्ध विद्रोह गर्नेहरूको यो चलखेलले प्रहरीभित्रका इमानदार जुनियर अफिसरहरू त मर्कामा परिहाले नि ?’ स्रोतले भन्यो । पूर्वगृहमन्त्री वामदेव गौतम, भीम रावल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदारकहाँ उनीहरू पुगिसकेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार ‘अचार काण्ड’मा मुछिएका र अहिले लबिङमा लागेका सईहरू कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सिफारिसमा प्रहरीमा भर्ना भएका थिए । खड्काकै आडमा उनीहरूले तालिम केन्द्रमा विद्रोह गरेको स्रोतले बतायो । असईमा नाम निस्कनासाथ तालिमका लागि उनीहरूलाई नुवाकोटको ककनीस्थित तालिम केन्द्र पुर्‍याइएको थियो । पछि, कमान्डो तालिम दिने भन्दै सिन्धुपाल्चोकको डाँडापाखरस्थित तालिम केन्द्रमा पठाइयो ।
तालिम केन्द्रमा एक सय १० जना असइले अचारको विषयलाई लिएर झगडा सुरु गरेका थिए । ‘तालिम सकिएपछि सबै मेसमा खाना खान बसे, त्यसदिन खानमा गोलभेडाको अचार रहेनछ, मेसमै सबैले अचारको माग गरे । अन्य तालिम केन्द्रमा अचार पाइने, यहाँचाहिँ किन नपाइने भन्दै उनीहरू जंगिन थाले,’ त्यतिबेलाको घटना सुनाउँदै स्रोतले भन्यो ।
अचारको विषयलाई लिएर तालिमे असईहरू उग्र भएपछि तालिमकेन्द्रका तत्कालीन डिएसपी विजयलाल कायस्थले केहीसँग स्पष्टीकरण लिएका थिए र दोषीलाई सामान्य नसिहतसमेत दिएका थिए । तर, डिएसपीको उक्त कारबाही तालिमेले अस्वीकार गरे । उग्र बनेका तालिमेहरूले उनलाई निर्घात कुटेर कार्यकक्षमै थुने । घन्टाँैसम्म तालिम केन्द्र नै तालिमेहरूले कब्जामा लिए । तत्कालीन डिएसपी कायस्थ अपराध अनुसन्धान महाशाखाका एसएसपी छन् ।
विद्रोहमा उत्रिएका तालिमे असइहरूले तालिम केन्द्र नै कब्जामा लिएपछि असमान्य स्थिति नियन्त्रणका लागि हेडक्वार्टरबाटै प्रहरी टोली परिचालन गरिएको भयो । निकै तनावपछि मात्रै त्यतिबेला स्थिति नियन्त्रणमा आएको थियो । ‘उनीहरू उग्र हुनुमा मुख्य कारण पूर्वगृहमन्त्री खड्का हुन् । किनभने, उनीहरू खड्काकै सिफारिसमा भर्ना भएका हुन्, शक्तिशाली खड्काको प्रभाव उनीहरूमा पनि परेको थियो, त्यही कारणले उनीहरूले विद्रोह गर्ने आँट गरे,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार द्वन्द्वकालका भगौडा सईहरू पनि प्रहरी निरीक्षक बन्ने दौडमा लागेका छन् । यसका निम्ति उनीहरूले प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ज्ञापनपत्र बुझाएका छन् । ‘ज्ञापनपत्रमा आफूहरू समकक्षीभन्दा सिनियर भएकाले इन्स्पेक्टर बन्नुपर्ने माग उनीहरूले गरेका छन्,’ स्रोतले भन्यो ।
१० वर्षे माओवादी सशस्त्रयुद्धका बेला भागेकाहरूमध्ये केहीलाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको आदेशमा ०६४ सालमा पुन:स्थापना गरिएको थियो । त्यसबेला उनीहरूलाई जुनियर सईको दर्जामा पुन:स्थापना गरिएको थियो । ‘भगौडाहरूलाई जबरजस्ती पुन:स्थापना गरियो, नियमानुसार उनीहरू ०६४ का ब्याचीभन्दा जुनियर छन् । यो अवस्थामा उनीहरूले चलखेल गरेर इन्स्पेक्टर बन्न खोजिरहेका छन्,’ स्रोतले भन्यो ।
अचारकाण्डमा मुछिएकाहरूले भने आफूहरूले कुनै लबिङ नगरेको दाबी गरेका छन् । गौशाला प्रहरी प्रभागमा कार्यरत सई प्रविन जोशीले अहिले आफूभन्दा अघिल्लो ब्याचको बढुवा हुने बताए । ‘हामी त्यसरी दौडधुपमा लागेका छैनौँ, अहिले बढुवा हुने ०५८ को ब्याच हो, हामी त ०५९का हौँ । कार्यदक्षता र क्षमताका आधारमा कोही बढुवा हुन्छन् भने त्यो छुट्टै कुरा हो,’ उनले भने ।
तालिमका क्रममा भएको अचारकाण्डकै कारण बढुवा रोकिन्छ भन्ने विश्वास आफूलाई नलागेको पनि उनले बताए । ‘सिन्धुपाल्चोक घटना तालिमका क्रममा भएको घटना हो, त्यसकै आधारमा बढुवा रोकिन्छ भन्ने मलाई लाग्दैन । त्यस्तो हुँदो हो त असईबाट सई कसरी हुन्थ्यौँ ?’ सई प्रविनले भने ।

प्रतिक्रिया