मेरो दायित्व मंसिरसम्म चुनाव गराउने : रेग्मी

काठमाडौं, २७ चैत । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव हुन्छ भनेर भाषण दिँदैमा चुनाव नहुने बताएका छन् । सरकारले असारमा चुनाव घोषणा नगरेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक प्रतिक्रिया आइरहेका बेला मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले अन्तरिम संविधानको संशोधित प्रावधान अनुसार मंसिरमा चुनाव गर्नुपर्ने दायित्व सरकारलाई भएको बताए ।

दाहालले सरकारका कारण चुनाव घोषणा नभएको भन्दै अभिव्यक्ति दिएपछि रेग्मीको जवाफी प्रतिक्रिया बाहिर आएको हो । मदन भण्डारी फाउन्डेसनले सोमबार राजधानीमा आयोजित पुरस्कार वितरण समारोहमा रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए । रेग्मीले विधि र प्रक्रिया अनुसार चुनावको तयारी गर्नुपर्ने भएकाले चुनाव हुन्छ भनेर भाषण गर्दैमा नहुने त्यसका लागि तयारीमा लाग्नुपर्ने बताए । विगतमा एमाओवादी नेतृत्वले घोषणा गरेको चुनाव हुन नसकेको तर्फ इंगित गर्दै उनले तयारीका सबै काम गरेपछि चुनाव तोक्नु उपयुक्त हुने बताए । ‘विधि, प्रक्रिया, र अन्य व्यवस्थापकीय कार्य सुनिश्चित नगरी त्यसै हुन्छ भन्दैमा निर्वाचनको काम हुने होइन’ रेग्मीले भने, ‘तसर्थ यसका लागि कार्य सम्पन्न हुने गरी नै तिथि मिति तोकिनु वाञ्छनीय हुन्छ भन्ने मलाई लाग्दछ । विगतको तीतो अनुभवले पनि यही कुरालाई इंगित गर्दछ ।’
एमाओवादी अध्यक्ष दाहालले असारमा चुनाव नगरे मंसिरमा हुने चुनाव हुन नदिने बताइरहेका बेला रेग्मीले मंसिरअघि चुनाव हुन नसक्ने स्पष्ट पारे । ‘०६९ साल चैत्र १ गते नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश संविधानको अभिन्न अंगका रूपमा रहेको छ, यसमा दुई मत छैन’ उनले भने, ‘उक्त संवैधानिक प्रावधानले मुलत: वर्तमान अवस्थामा प्राथमिकताका साथ सम्वत् ०७० साल मंसिरभित्र अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व वर्तमान सरकारमाथि राखेको छ ।’
उनले नेकपा–माओवादीसहितका केही दललाईसमेत सहभागी गराएर मात्रै चुनाव गर्नुपर्ने बताए । ‘दलहरूको सक्रिय र इमान्दारीपूर्ण सहयोगविना सरकारले मात्र चाहेर निर्वाचन सुनिश्चित हुने होइन’ उनले भने, ‘चुनावको लागि उचित वातावरण बनाउन दलहरूबीच संवाद र छलफललाई सक्रियतापूर्वक अघि बढाई छिटोभन्दा छिटो निर्वाचन
प्रक्रियालाई गति दिन र निर्वाचनमा सबैलाई सहभागी हुने वातावरण बनाउनेतर्फ लागि पर्न राजनीतिक दलहरुलाई आह्वान गर्दछु ।’
चुनावको मिति घोषणा नहुँदैमा आशंका नगर्न आग्रह गर्दै रेग्मीले सरकारको मुल कार्यभार संविधानसभा निर्वाचन गराउनु रहेको वताए । ‘निर्वाचन सरकारको एक मात्र उद्देश्य हो र सोही दिशामा सरकारका सबै प्रयासहरू केन्द्रित पनि छन्’ रेग्मीले भने, ‘सरकारलाई निर्वाचनको मिति घोषणा गरियोस् भन्दै समयसापेक्ष माग र आवाजहरू आइरहेका छन् । निर्वाचनको कार्यक्रमप्रति कुनै पनि राजनीतिक दल, संघ, संगठन, समुदाय, नागरिक समाज र सम्बन्धित निकायमा कुनै प्रकारको दुविधा, आशंका र अनावश्यक निराशा नरहोस्, बरु निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने दिशातर्फ नै यहाँहरू सबैको सहयोग केन्द्रित रहोस् ।’

प्रतिक्रिया