आदिवासी चलचित्र महोत्सव वैशाखमा

hal-goruकाठमाडौं : ‘सातौ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव (निफ) २०१३’ को आयोजना आगामी वैशाखमा हुने भएको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने उक्त महोत्सव वैशाख १२ देखि १५ गते चार दिनसम्म चल्ने छ ।
‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ नारा रहेको महोत्सव आइफा (इन्डिजिनियस फिल्म अर्काइभ)ले आयोजना गर्न लागेको हो । शताब्दीऔंदेखि अन्याय र विभेदमा परेर आदिवासी मूल्यमान्यता र परम्परालाई प्रतिबिम्बित गर्न उक्त नारा तय गरिएको जानाइको छ । आदिवासीको अनुभव र परम्परागत ज्ञानलाई बहिष्करण गर्ने, सञ्चारको पहुँचदेखि टाढा राख्ने, मूलधार कथाहरूको मात्र पक्षपोषण गर्ने, आदिवासी मानवअधिकार हननका घटनाहरूलाई संवेदनशील नठान्ने आदि प्रवृत्ति कायमै छ । यस्तो रवैयालाई आधुनिक सञ्चारप्रणाली इन्टरनेट, सामुदायिक रेडियो, टेलिभिजन, फिचर फिल्म, वृत्तचित्र, भिडियो, पत्रिका आदि सञ्चारमाध्यमका शक्तिशाली संयन्त्र प्रयोग गर्दै आदिवासीहरूप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन, दबावका लागि विश्वव्यापी रूपमा ऐक्यबद्ध हुँदै आपसी सद्भाव र अन्तरसांस्कृतिक समझदारी बढाउन महोत्सवको आयोजना गर्न लागिएको आईफाले जनाएको छ ।
महोत्सवमा नेपाल, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, कोलम्बिया, इक्वेडर, जर्मनी, होन्डुरस, भारत, इजराएल, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, रसिया, दक्षिण इथोपिया, स्पेन, स्विट्जरल्याण्ड, पेरु, ताईवान र अमेरिका गरी २१ देशका छोटा तथा लामा चलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, प्रयोगात्मक चलचित्र र म्युजिक भिडियोसहित ९३ चलचित्रले सहभागिता जनाएका छन् । जसमा नेपालबाट २५ र विदेशबाट ६८ चलचित्र प्राप्त छन् । प्राप्त यी ९३ ओटा चलचित्रबाट छानिएका उत्कृष्ट चलचित्रको मात्र महोत्सवमा प्रदर्शन गरिने छ ।
नेपालका सहभागी २५ चलचित्र एवं वृत्तचित्रहरू मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बू र कुलुङजस्ता समुदायका छन् । (सौस)

प्रतिक्रिया