विदेशबाट फर्केका युवा स्वरोजगारतर्फ

भोजपुर । वैदेसिक रोजगारीबाट फर्केका भोजपुरका अधिकांस युवा गाउँमै व्यवसाय तर्फ आकर्षित हुन थालेका छ न।

कतारमा ६ वर्षे रोजगारी गरेपछि घर फर्केका दलगाउँका नगेन्द्र कार्की र दुवईमा चार वर्ष रोजगारी गरेका ज्ञानु कार्कीले संयुक्तरूपमा एक वर्ष अगाडिदेखि कार्की गाई फार्म खोलेका छन् ।
उनीहरूले दूध उत्पादन गरी मासिक ७० देखि ८० हजार रुपिया सम्म कमाउँछन् । यसरी नै कोरियामा पाँच वर्ष रोजगारी गरेर फर्किएका ठूलोटुम्माका केशव खड्का र विभिन्न खाडी मुलुक बसेर फर्किएका भोजपुर–४ का गोपाल तामाङले अहिले सदरमुकाम नजिकै जग्गा भाडामा लिएर विगत दुई वर्षदेखि माछा र कुुखुरापालनका साथै यातायात व्यवसाय गर्दै आएका छन् ।
उनीहरूले अन्य ५,७ जनालाई रोजगारी पनि दिएका छन् । वार्षिक खर्च कटाएर पनि तीन, चार लाख नाफा कमाउँछन् । तिम्माका दिपकुमार राई साउदी अरबमा १० वर्षसम्म कुकमा काम गरेर गाउ फर्केपछिे सदरमुकाम नजिकै आफ्नै घरमा घरेलु फर्निचर उद्योग खोलेका छन् । उनले आम्दानी पनि राम्रै भइरहेको बताएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएपछि भोजपुरका अधिकांश युवाले आफ्नै गाउँ ठाउँमा स्वरोजगारमूलक व्यवसाय गर्न थालेका हुन । यातायातको सहजता र नियमित बिजुली आपूर्ति हुन थालेपछि वैदेशिक रोजगारबाट फर्किएकाहरू व्यवसायमा लागेका हुन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई चिर्दै उनीहरूले आफ्नै गाउँघरमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न थालेका हुन ।
विदेशमा मिहिनेत कडा गर्नुपर्ने, घरपरिवारसँग पनि टाढा हुनुपर्ने, पैसा त त्यहाँ र यहाँमा केही फरक नभएको वैदेशिक रोजगारीबाट फर्केर सदरमुकाम भोजपुर दुधडेरी सञ्चालक आम्तेक–६ पितौलाका सुरेन्द्र पराजुलीको छ । उनले मासिक १५ /२० हजार रुपिया आम्दानी गर्दै आ्रएका छन ।
तर वैदेशिक रोजगारबाट फर्किएका कति युवाहरूले स्वरोजगारमूलक काम गर्छन् भन्ने आधिकारिक तथ्याङ्क भने छैन । प्राय:जसो चारदेखि १० वर्ष वैदेशिक रोजगारमा बसेका युवाहरू विभिन्न व्यवसायमा संलग्न रहेका छन । यसक्रममा स्थानीय युवाहरू दूध उत्पादन, बङ्गुर, माछा, कुखुरापालन तथा कस्मेटिक, रेडिमेट कपडा पसल र तरकारीको व्यावसायिक खेती र अन्य विभिन्न आयआर्जन हुने घरेलु उद्योगमा लागेको पाइन्छ । ‘विदेशमा निकै जोखिमपूर्ण काम गर्नुपथ्र्यो, म त मेसमा काम गरेको धेरै दु:ख पाइयो, फेरि समयमा कामको पारिश्रमिक पाइदैनथ्यो । तर नेपालमा त घरपरिवारसँगै बसेर सामान्य काम गर्दा पनि राम्रै आम्दानी भइराखेको छ ।’ कार्की गाई फार्मका नगेन्द्र कार्कीले भने ।
उनले नेपाल भारतको सिमाना सिलगुडीबाट १२ माउ जर्सी गाई खरिद गरी एक वर्षदेखि दूध बिक्री गर्दै आएको बताए । कार्कीले लोकल गाई र बाख्रा पनि पाल्दै आएका छन । विदेशमा विभिन्न हैरानी र कडा मिहिनेत गरेका युवाहरूले नेपालमा सामान्य काम गर्दा पनि राम्रो आम्दानी गर्न सकिने अनुभव उनको छ । तर युवाहरू वैदेशिक रोजगारीतर्फ नै आकर्षित भइरहेका छन् ।
विदेश पनि घुम्न पाइने र पैसा पनि कमाई हुने प्रलोभनले अधिकांश युवा विदेश जान तयार भएको नागरिक समाज भोजपुरका उपसंयोजक नेत्रविनोद लुइँटेल बताउछन ।

प्रतिक्रिया