बोक्सी घटनाको आयोगद्वारा स्थलगत अध्ययन

धनगढी, २६ चैत । शुक्रबार बोक्सी आरोपमा बर्बर यातना दिइएकी बेलादेवीपुर–८ घुर्सुवाकी राजकुमारी रानाको घटनाबारे राष्ट्रिय महिला आयोगको टोलीले स्थलगत अध्ययन गरेको छ ।

आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा आएको दुई सदस्यीय टोलीले आइतबार घटनास्थलमा पीडित परिवार र पीडक तथा अन्य सरोकारवालासँग भेटेर घटनाको अध्ययन गरेको हो । आयोगको अध्ययन टोली शनिबार धनगढी आएको थियो ।
‘विनाकारण घरमा सुतिरहेकी राजकुमारीलाई बोक्सी आरोपमा निर्वस्त्र पारेर मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएको रहेछ,’ स्थलगत अध्ययनपछि प्रवक्ता अन्सारीले भनिन्, ‘घटना जघन्य भएकाले संलग्नलाई तत्काल राज्यले हदैसम्मको कारबाही गर्नुपर्छ ।’
उनले घटनापछि पीडित परिवार सामाजिक बहिष्कृत हुने डरले घरभित्रै बस्ने गरेको बताइन् । उनीहरूलाई गाउँका भलमन्साले गाउँ झगडा गाउँमै मिलाउन दिनहुँ दबाब दिनेगरेकाले थप पीडा भएको बताएको छ । पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्ति दिएर सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि पहल गर्नुपर्ने अन्सारीको भनाइ छ । राजकुमारीको घरमा सात जना बस्ने गरेका छन् । घटनालाई ढाकछोप गर्न भलमन्साले राजकुमारीको मुद्दा सरकारले होइन आफैँले मिलाउन पाउनुपर्ने माग गरेको अन्सारीले बताइन् ।
भलामन्साले घटनालाई अड्डा, अदालतमा पुर्‍याएपछि नराम्रो हुने भनेर पीडित परिवारलाई धम्क्याउने गरेको आयोगकी नायब सुब्बा तथा अध्ययन टोली सदस्य खगेश्वरी नेपालले बताइन् । उनले पीडित परिवार डरले खुलेर बोल्नसक्ने अवस्थामा नरहेको र गाउँका सबैले मुद्दा फिर्ता गर्न भनेर दबाब दिइरहेको बताइन् ।
‘आयोगले दुई वर्षअघि मन्त्रिपरिषद्मा बोक्सी विधेयक पेस गरेको तर प्रस्तावित विधेयक पास नभएकाले यस्ता घटनाले प्रश्रय पाइरहेका छन्,’ अन्सारीले भनिन्, ‘सबै विधेयक धमाधम अध्यादेशबाट जारी हुने तर प्रस्तावित बोक्सी विधेयकलाई पास नगरेर राज्य जिम्मेवारीबाट पन्छिएको छ ।’ प्रस्तावित बोक्सी विधेयकमा १५ वर्षसम्म कैदको व्यवस्था गरिएको उनले बताइन् । जिल्लास्थित प्रहरी प्रशासनका अधिकारी, महिलाअधिकार क्षेत्रमा काम गर्ने संघसंस्था, नागरिक समाजका प्रतिनिधिहरूसँग पनि छलफल गरेको आयोग टोलीले सरकारसमक्ष पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइते सबै उपचारका लागि सिफारिस गर्ने बताएको छ ।
यसैगरी, टोलीले घटनामा संलग्नलाई बोक्सी आरोपका साथै कुटपिट, ज्यान मार्ने उद्योग र सार्वजनिक मुद्दा दायर गर्न आफूले जिल्ला तह र केन्द्रमा भनेको अन्सारीले बताइन् ।
यसैबीच, कैलाली जिल्ला अदालतले घटनामा संलग्नलाई आवश्यक अनुसन्धान गर्न आइतबार ६ दिनको म्याद दिएको एसपी घनश्याम अर्यालले बताए । अर्यालले यो घटनालाई सरकारवादी मुद्दा बनाएको जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न निरा राना र रामकुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न निराका पति मुन्नी भनिने रामसिंह र धर्मसिंह राना फरार रहेकाले उनीहरूको खोजबिन भइरहेको एसपी अर्यालले बताए ।
बोक्सी आरोपमा सख्त घाइते राजकुमारीको कोहलपुर मेडिकल कलेज र बन्दी रानाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया