स्कर्टिङको बहानामा असुली

हेटौंडा, २६ चैत । मकवानपुरको भैँसे प्रहरीले बन्दमा सवारी साधन स्कर्टिङ गर्ने बहानामा रकम असुली गरेको छ । काठमाडौंबाट वीरगन्जका लागि आउँदै गरेको दुई वटा ट्रक र दुई वटा टाटा सुमो स्कर्टिङ गर्ने बहानामा रकम लिएर हेटौँडाको सुपारेटारसम्म स्कर्टिङ गरिएको हो ।

प्रहरीले स्कर्टिङवापत प्रति सवारी एक सय रुपियाँ असुलेको थियो । काठमाडौंबाट आइरहेको ना ४ ख ६३८३ र ना ४ ख ४८६२ नम्बरको ट्रक तथा ना २ ख ६४६४ र ना २ च ०६ नम्बरको सुमोसँग पैसा लिएको हो । चौकीटोलको बाइपास हुँदै वीरगन्ज जान लागेका सवारीलाई बन्दकर्ताले हेटौँडा राप्तीतटमा रोकेपछि रकम असुली गर्दै स्कर्टिङ गरेको रहस्य खुलेको हो ।
वीरगन्जसम्म स्कर्टिङ गरिदिन्छु भन्दै प्रहरीले पैसा मागेपछि सबै सवारी सधनबाट प्रतिसवारी एक सय रुपियाँ दिएको चालकहरुले बताए । ‘भैँसेबाट सुरक्षित रुपमा स्कर्टिङ गरेर लगिदिन्छौँ भनेकाले प्रहरीलाई रकम दियौँ,’ ट्रक चालक सुरेन्द्र राउत कुर्मीले बताए । ‘वीरगन्जसम्म स्कर्टिङ गर्ने भनेका थिए सुपारेटार पुलसम्म ल्याएर छाडिदिए,’ कुर्मीले गुनासो गरे । बन्दमा समस्या हुने भएकाले आफूहरु नजाने भने पनि प्रहरीले सुरक्षित रुपमा पुर्‍याइदिने भन्दै पैसा मागेको सवारी चालकहरुले बताए । भैँसे चौकी इन्चार्ज असई परमानन्द यादव सहितको टोलीले रकम असुली गरेको घटनाले अहिले मकवानपुर प्रहरीमा खैलाबैला मच्चिएको छ ।
घटनाले चर्चा पाएपछि मकवानपुरका एसपी ठाकुरप्रसाद बर्तौलाले घटनाको चर्चा आफूसम्म आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । पछिल्लो समय प्रहरीले रकम असुलीलाई चर्को रुपमा अघि बढाएको छ । मकवानपुरका डिएसपी जयन्त थापा रकम असुलीको कुरा नमिले पछि बिदाको बहानामा बसेका छन् भने रकम असुलीमा माहिर मानिएमा प्रहरी अधिकृत मकवानपुरमा भित्रिएका छन् ।

प्रतिक्रिया