असारमा चुनाव नहुने भो : खनाल

JNकाठमाडौं, २६ चैत । एमाले अध्यक्ष झलनाथ खनालले आगामी असारमा चुनाव नहुने बताएका छन् । एमाओवादी चुनावका लागि तयार नभएपछि असारको चुनाव टरेको उनको भनाइ छ ।

मिति नसार्नेगरी कात्तिक वा मंसिरका लागि चुनावको मिति तय गर्नुपर्ने खनालले बताए । ‘एमाओवादीले असार पहिलो साता नै चुनाव चाहेको भए सहमति गर्न फागुन ३० गते नै किन कुर्नुपथ्र्यो ? उसले असारमा चुनाव चाहेको भए अगाडि नै सहमति गर्न सक्थ्यो,’ आइतबार आफ्नो निवासमा आएका पत्रकारसित अध्यक्ष खनालले भने ।
असारमा चुनाव नभए मंसिरमा चुनाव हुन नदिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई अध्यक्ष खनालले ‘फुटुंग्रे धम्की’को संज्ञा दिए । यस्ता धम्कीले अरूलाई नतर्साउन उनले दाहाललाई चेतावनी दिए । ‘असारमा चुनाव हुन नसक्ने परिस्थिति आफैँले खडा गरेर मंसिरमा पनि हुन दिन्न भन्नु कहिल्यै चुनाव हुन नदिने धम्की हो । यस्ता फुटुङ्ग्रे धम्की दिएर कोही तर्सनेवाला छैन, चुनाव हुन्छ,’ उनले भने ।
एमाओवादी नेतृत्वको सरकारले जस्तो पटक–पटक चुनावको मिति फेर्न नहुने खनालको भनाइ छ । नागरिकता वितरण, निर्वाचन कानुन, जनशक्ति परिचालन, भोटिङ मेसिन, सिसिटिभी जडान, कर्मचारीको व्यवस्थासहित समस्या समाधान हुन नसकेको र राजनीतिक वातावरण बनिनसकेकाले पनि असारमा चुनावको सम्भावना न्यून बनेको उनको तर्क छ । ‘केही दिनभित्रै चुनावको मिति तोकिन्छ, मिति तोक्ने अनि चुनाव नगराउने एमाओवादी सरकारले गरेजस्तो अब चल्दैन,’ उनले भने, ‘अब ढाँटको काम गर्नु हुँदैन । वस्तुवादी योजनाअनुसार मिति तोक्नुपर्छ ।’
एमाओवादीको नीति, व्यवहार, उद्देश्य, हैसियत र रहस्यको पर्दाफास भइसकेको भन्दै उनले अब संविधानसभामा उसको प्रतिनिधित्व हुनेमै शंका गरे । ‘एमाओवादीले के भनेको थियो र के गर्‍यो, उसले नीति के देखाएको थियो व्यवहार के गर्‍यो सबै पर्दाफास भइसकेको छ । अबको चुनावमा उसको प्रतिनिधित्व कति हुन्छ हेर्नुपर्छ,’ उनले भने । विगतमा जारी गर्न ठिक्क पारेको संविधान एमाओवादीको सर्वसत्तावाद लाद्ने योजनाका कारण घोषणा हुन नसकेको दाबीसमेत उनले गरे ।
आन्दोलनरत नेकपा–माओवादीलाई पनि चुनावमा सँगै लिएर जाने खनालको भनाइ थियो । ‘दश वर्ष युद्ध लडेकालाई त हामीले संवादमार्फत ल्यायौँ भने अहिले उहाँहरू(वैद्य)लाई वार्तामा ल्याउन नसक्ने भन्ने हँुदैन,’ उनले भने ।
चुनावमा बहुपहिचानको संघीयता, राष्ट्रिय एकता, नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने शक्तिको दुईतिहाइ पुर्‍याउन सहकार्य गर्न सकिने अध्यक्ष खनालले बताए । ‘मुलुकको सार्वभौम अस्तित्व बन्धकी राख्न र मुलुकभित्र जातीय झगडा चर्काएर विखण्डन गर्न लागेका शक्तिविरुद्ध बहुपहिचानको संघीयता, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय अखण्डताका पक्षमा उभिएका शक्तिहरूसँग हामी तालमेल गरेर अघि बढ्न सक्छौँ,’ उनले भने, ‘सत्तास्वार्थका लागि विखण्डनको आगो झोस्ने र राष्ट्रिय आत्मसमर्पणको बाटो हिँड्नेहरूलाई पराजित गरी संविधान लेख्नुपर्छ ।’

प्रतिक्रिया