राहदानी लिनेको संख्यामा वृद्धि

Passport Nepaliभक्तपुर : सिडिओ कार्यालय भक्तपुरबाट राहदानी लिनेको संख्यामा वृद्धि भएको छ ।
आर्थिक वर्ष ०६९/७० को आठ महिनामा मात्र २ हजार ३ सयभन्दा बढीले राहदानी लिएको कार्यालयले जनाएको छ । प्रशासनबाट साउनदेखि हालसम्ममा २ हजार ३ सय ४ ले राहदानी लिएका छन् । वैदेशिक रोजगारी तथा अध्ययनमा जानेको संख्यावृिद्धसँगै राहदानी लिनेको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ । गत आर्थिक वर्ष ०६७/६८ मा २ हजार ६ सय ८८ ले कार्यालयबाट राहदानी लिएकोमा यसवर्ष सो संख्यामा वृद्धि आएको हो । सिडिओ कार्यालय राहदानी फाँटका परशुराम थापाले दैनिक २० भन्दा धेरैको संख्यामा राहदानी लिन आउने गरेको बताए ।
उनले मासिक सरदर तीन सयभन्दा बढीले कार्यालयबाट राहदानी लिने गरेको समेत बताए । इमर्जेन्सी राहदानी लिन चाहनेलाई केन्द्रीय राहदानी विभागमा सिफारिस गरिने गरिएको कार्यालयले जनाएको छ । हालसम्म नौ सय नौलाई इमर्जेन्सी राहदानीका लागि दस हजार शुल्क लिएर केन्द्रमा पठाइएको छ । भक्तपुर प्रशासनबाट नागरिकता लिनेको संख्यामा समेत वृद्धि भएको कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया