“भावी आइजिपीको चलखेल”

nepal policeकाठमाडौं, २५ चैत । नेपाल प्रहरीमा एआइजीको नयाँ दरबन्दी थप्ने तयारी भइरहेको छ । थपिने दरबन्दीबाटै भावी आइजिपी बन्ने लगभग पक्का भएकाले यसमा चलखेल भइरहेको प्रहरी स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार अहिले रहेका निर्देशनालयको स्तरवृद्धि वा छुट्टै विभाग गठन गरी एआइजीको नयाँ दरबन्दी थप्ने विषयमा संगठनभित्र अनौपचारिक छलफल सुरु भएको छ । पहिलो चरणमा अन्वेषण योजना निर्देशनालयलाई स्तरवृद्धि गरी विभाग बनाउने विषयमा छलफल भएको छ । दोस्रो चरणमा संगठनको आर्थिक पाटो मात्रै हेर्ने आर्थिक प्रशासन विभाग बनाउने योजना छ । सबै छलफल र योजना अहिलेसम्म गोप्य राखिएका छन् ।
प्रहरी संगठनको आर्थिक पक्षलाई परदर्शी र वैज्ञानिक बनाउन छुट्टै आर्थिक विभाग बनाउने प्रस्ताव अगाडि सारिएको हो । अहिले डिआइजीले नेतृत्व गरिरहेको अन्वेषण योजना निर्देशनालयलाई पनि स्तरोन्नती गरेर विभाग बनाइनेछ । नयाँ गठन गरिने दुवै विभागमा एआइजीको दरबन्दी रहनेछ । अहिले कायम चार वटा विभागको नेतृत्व पनि एआइजीहरूले नै गरेका छन् । प्रहरी संगठनमा अहिले मानव स्रोत, प्रशासन, अपराध अनुसन्धान र कार्य विभाग छन् ।
स्रोतका अनुसार नयाँ विभाग बनाउने नाममा भावी आइजिपीको चलखेल भइरहेको हो । विभाग गठन गरिए त्यसको नेतृत्व गर्ने एआइजीको दरबन्दी पनि सिर्जना गर्नुपर्नेछ । ‘विभागको नेतृत्व एआइजीले नै गर्ने व्यवस्था छ, बहालवाला एआइजीहरू कोही खाली छैनन् । संगठनमा नयाँ विभाग बन्यो भने नयाँ एआइजीको आवश्यकता पर्छ । त्यस विषयमा अनौपचारिक छलफल पनि भइसकेको छ’, स्रोतले भन्यो ।
प्रहरीमा अहिले आठ जना एआइजीको दरबन्दी छ । ती मध्ये कुनै पनि दरबन्दी रिक्त छैनन् । नयाँ दरबन्दी सिर्जना गरिए बहालवाला डिआइजीबाटै बढुवा गरिनेछ । ‘दरबन्दी थपिए बहालवाला डिआइजी मध्येबाटै एआइजी छानिन्छन्, छनोट गर्दा वरिष्ठता वा कार्यक्षदता केलाई आधार मान्ने भन्ने विषयमा भने बहस भइसकेको छैन’, स्रोतले भन्यो ।
थप गरिएको दरबन्दीमा जो डिआइजी एआइजीमा बढुवा हुन्छ, भावी आइजिपी पनि उही हुने लगभग पक्का छ । किनभने, बहालवाला आइजिपीसँगै अहिलेका सबै एआइजी आगामी ३० असोजमा अनिवार्य अवकाश पाउँदै छन । ०४० असोज ३० मा सेवा सुरु गरेका उनीहरूको आगामी ३० असोजमा ३० वर्षे सेवा अवधि पूरा हुँदै छ ।
थप गर्ने भनिएको नयाँ दरबन्दीमा वरिष्ठतालाई आधार मानिए एआइजीको पहिलो प्रत्यासी डिआइजी पार्वती थापा हुन् । त्यसपछि विमला थापा(शर्मा)को पालो आउँछ । पार्वतीले १ पुस ०४० मा सेवा सुरु गरेकी हुन् भने विमलाले ३० चैत ०४० मा ।
उनीहरूपछिका प्रत्यासी भने ०४३ को ब्याजमा सेवा सुरु गरेका बहालवाला डिआइजीहरू हुन् । यो ब्याजको पहिलो नम्बरमा उपेन्द्रकान्त अर्याल छन् । त्यसपछि क्रमश: राजेन्द्रसिंह भण्डारी, नारायणप्रसाद बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदारप्रसाद साउद, रमेशशेखर बज्रचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, विरेन्द्रबाबु श्रेष्ठ, यादव अधिकारी, पर्शुृराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा छन् । डिआइजी राईले उनीहरूमध्ये एक वर्षअघि प्रहरी सेवा प्रवेश गरेका हुन् । राईले भने १ पुस ०४२ मा सेवा सुरु गरेका हुन् भने बाँकीले ३ माघ ०४३ बाट ।
प्रहरी प्रवक्ता केशव अधिकारीले यसबारेमा आफूसँग अझै ‘आधिकारिक जानकारी’ आइनपुगेको बताए । नयाँ विभाग गठन र थप एआइजी दरबन्दी सिर्जनाबारे संगठनभित्र छलफल भइरहेको आफूलाई थाहा नभएको उनले बताए । ‘मलाई यो बारेमा औपचारिक जानकारी छैन’, प्रवक्ता अधिकारीले भने ।

प्रतिक्रिया