चुनाव असफल बनाई छाडिन्छ : वैद्य

mohan-baidhya-ji-1काठमाडौं, २५ चैत । नेकपा–माओवादीले अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गराउने चुनाव असफल पारी छाड्ने उद्घोष गरेको छ । जनआन्दोलन दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन वैद्यले यथास्थितिमा चुनाव हुन नसक्ने र ‘चुनावको नाटक’ गरे त्यसलाई असफल पारेरै छाड्ने चेतावनी दिएका हुन् ।

यसअघि संविधानसभा यथास्थितिवादीको हातमा गएको उल्लेख गर्दै वैद्यले उनीहरूको हातबाट नखोसेसम्म चुनाव नहुने र भए पनि जनताको पक्षमा संविधान नबन्ने दाबी गरे । ‘संविधानसभाको चुनाव गराउने कुरा यथास्थितिवादीको हातमा गएको छ,’ उनले भने, ‘चुनाव नामको यो गाईजात्राको हामी विरोध गर्छा, जसरी पनि चुनाव गराइन्छ भनेर गए त्यसलाई असफल पार्छा ।’
उनले चारदलीय उच्चस्तरीय राजनीतिक समिति र सरकारसँग वार्ता नहुने पनि ठोकुवा गरे । ‘हैसियत नभएको राजनीतिक संयन्त्रसँग वार्ता हुँदैन अनि हामीले नै खारेजीको माग गरेको सरकारसँग पनि वार्ता हुँदैन,’ उनले भने, ‘राष्ट्रपतिले चालेको कदमबाटै सबै विषय सच्याउनुपर्ने भएकाले वार्ता राष्ट्रपतिसँग मात्र हुन सक्छ ।’
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टराईको उक्साहटमा लागेर एमाले र कांग्रेस पनि फसेकाले उनीहरूले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘प्रचण्ड र बाबुरामले जे जे भन्यो त्यही मान्दै जाने एमाले र कांग्रेसले पनि अब महँगो मूल्य चुकाउनुपर्नेछ’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यतिबेला गम्भीर प्रहार भएको छ अब स्वाधीनताका लागि लड्ने बेला आएको छ ।’
महासचिव रामबहादुर थापाले सरकारले हतियार बुझाउन गरेको आह्वानलाई आफूहरूले नमान्ने चेतावनी दिए । सरकारले माओवादी नेताका सुरक्षार्थ राखेका भनिएका हतियार फिर्ता नभएको भन्दै बुझाउन वैशाखको समय दिएको छ । फिर्ता नगरे बरामद गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको थियो । ‘नपड्किने थोत्रा हतियार लगे हुन्छ,’ उनले भने, ‘अब लड्नैपर्‍यो भने नयाँ हतियार ल्याइनेछ ।’
बन्द फिर्ता लिन अस्वीकार
काठमाडौं : नेकपा–माओवादीसहित विपक्षी गठबन्धनले आइतबारका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिन अस्वीकार गरेका छन् । ‘राजनीतिक हैसियत नै नभएको सरकारले गरेको आह्वानलाई’ स्वीकार नगर्ने भन्दै उनीहरूले त्यसलाई अस्वीकार गरेका हुन् ।
प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठनको विरोध गर्दै आएका उनीहरूको गठबन्धनले नेपाल बन्दसहितको आन्दोलन घोषणा गरेको थियो । शनिबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधव पौडेलले विज्ञप्तिमार्फत नेपाल बन्द फिर्ता लिन आह्वान गरेका थिए । ‘संविधानसभाको चुनाव जति सक्यो चाँडो सम्पन्न गर्ने कार्यमा सरकार जुटिरहेको र त्यसका लागि अहोरात्र तयारी गरिरहेको परिप्रेक्षमा,’ विज्ञप्तिमा भनिएको छ, ‘संवाद, छलफल र परामर्शबाट कुनै पनि समस्याको समाधान गर्न सकिने हुँदा सोका लागि नेपाल सरकार सदैव खुला रहेकाले चैत २५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन नेपाल सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका घटकलाई हार्दिक आह्वान गर्दछ ।’ (सौस)

प्रतिक्रिया