नेप्सेमा झिनो सुधार नयाँ वर्षमा नयाँ रेकर्ड

share_non_movedकाठमाडौं, २५ चैत । सेयर कारोवारमा झिनो सुधार देखिएको छ । केही समय यता घटन थालेको सेयर बजार अघिल्लो साता यथास्थितिमा रहेको थियो । गत साता भने नेप्से परिसूचक १ दशमलव ८२ अंकले वृद्धि भई नेप्से ५ सय १३ दशमलव १७ मा सीमित रहेपछि बजारमा आशाको तरंग देखिन थालेको छ ।

एमाओवादी नेतृत्वको समयमा घटेको सेयर बजार पछिल्लो समयमा बुलिस ट्ेरन्डतर्फ गईरहेको अवस्थामा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारसँगै बजारमा पुन: बियरिस ट्रेन्डतर्फ जान थालेको थियो । तर, केही दिन यता सेयर बजार घट्ने क्रम रोकिएको छ ।
तैपनि, चैतमा बजारमा सुधार आउने संकेत देखिएको छैन । नेकपा–माओवादीले बारम्बार गर्दे आएको नेपालबन्दजस्तो अलोकप्रिय कार्यक्रमको कारण पनि आगामी साता पनि सेयरमा खासै सुधार आउने संभावना नभएको सेयर विज्ञहरूले बताएका छन् । रेग्मी नेतृत्वसँगै माओवादीले चुनाव केन्द्रलाई युद्धभूमिमा परिणत गरिदिने धम्की दिएको कारण बजारमा एक किसिमको राजनीतिक अन्योलता देखिएको छ । नेकपा माओवादी वैद्यपक्षसँगै अन्य साना ३२ दलले पनि सो पार्टीका नीति तथा कार्यक्रमलाई साथ दिएपछि थप अन्योल देखिएको छ ।
त्यसैगरी चालु आवको नौ महिना वित्तीय विवरण सार्वजनिक हुने क्रम पनि चैत मसान्तपछि सुरु हुने र चैत मसान्तसम्म सेयर धितोको ब्याज तिर्नुपर्ने जस्ता कारणले पनि सेयर बिक्री बढेको छ । चैत मसान्तपछि सेयरमा नयाँ तरंग आउने अनुमान पनि एक थरी विश्लेषकको छ । त्यसैले समग्रमा भन्नुपर्दा नयाँ वर्ष सेयरका लागि नयाँ रेकर्ड कायम गर्न सफल हुनेछ ।
गत साता स्टक एक्सचेन्जमा १ सय ७ कम्पनीको कारोबार भएको थियो । जसमा ५ हजार ८ सय ३७ कारोबारबाट ४१ करोड २५ लाख ८५ हजार रुपियाँ बराबरका १४ लाख १० हजार ८५ कित्ता सेयर खरिद–बिक्री भएका छन् । यो भन्दाअघि १ सय ७ कम्पनीको कारोबार भएको छ । जसमा ४ हजार ४ सय ९९ कारोबारबाट ३२ करोड ४१ लाख ५२ हजार रुपियाँ बराबरका १० लाख ३५ हजार १ सय ७४ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा अघिल्लो साताको तुलनामा २७ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २० करोड ४९ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४९ दशमलव ६८ प्रतिशत हो ।
साताको परिसूचक हेर्दा वाणिज्य बैंक समूहको सूचकांकमा ५ दशमलव २४ अंकले सुधार भएको छ भने जलविद्युत्तर्फ १० दशमलव ६८, ब्यापारमा १ दशमलव १०, बिमामा ७ दशमलव ४७ अंकले वृद्धि भएको छ । परिसूचक घटेका समूहमा सबैभन्दा बढी होटल समूहको रहेको छ । सो समूहको परिसूचक १२ दशमलव ३० अंकले ऋणात्मक रह्यो भने अन्य समूहको सूचकांक पनि १० दशमलव ५७ अकले घटेको छ । वित्त समूहको भने सबैभन्दा न्यून १ दशमलव ५० ले मात्र सूचकांक घटेको छ ।
त्यसैगरी, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.५४ अंकले वृद्धि भई १ सय २९ दशमलव ६३ अंकमा पुगेको छ । गत साता कारोबार रकमतर्फ ५ करोड ८२ लाख रुपियाँको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार भएको सेयर २ लाख ३० हजार ३ सय २० कित्ताको आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा ६ सय ५४ वटाको आधारमा सिभिल बैंक अग्रस्थानमा छ

प्रतिक्रिया