उदयपुरका दुई सामुदायिक वनमा आगलागी

Dadheloउदयपुर,२४ चैत । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर २ स्थित दुई वटा सामुदायिक बनमा आगलागी भएको छ ।
चप्पन सामुदायिक वन र जनज्योति महिला सामुदायिक वनमा भिषण आगलागी भएका हुन् । शुक्रवार राति ११ बजेबाट सुरु भएको डढेलोबाट जंगलका रुखबिरुवा, पशुपंक्षी र वन पैदावर जलेको चप्पन सामुदायिक वनका सचिव रामबहादुर राईले जानकारी दिए ।
डढेलोले चप्पन र जनज्योति सामुदायिक वनको करिब २ सय हेक्टरभन्दा बढि क्षेत्रफलमा भएका वन सखाप पारेको छ । डढेलोले बोटबिरुवा मर्नुकासाथै मृग, खरायो, कालिज, मयूर, लुईचे, हरिणलगायतका पशुपन्छीको बासस्थान समेत बिनास भएको सचिव राईले बताए ।
आगो निभाउने पानी तथा माटोको अभावमा बनमा लागेको डढेलो केहीवेर नियन्त्रण भन्दा बाहिर रहेपनि स्थानीयको सहयोगमा डढेलो नियन्त्रणमा लिईएको छ ।
चप्पन सामुदायिक वनको नागवेले, भोर्लागाछी, गैरीखर्क, खनियापानी र गोठखर्क क्षेत्रहरुमा आगालागी भएको हो ।
त्यस्तै, जनज्योति महिला सामुदायिक वनको चप्पन र बरुवाधार गाँउ नजिकै आगलागी भएकाले स्थानीयवासी त्रसित भएका छन् ।
डढेलोसंगै हावा समेत चलेकाले स्थानीय रातभर जाग्रम बसेका थिए । जंगलमा आगो लगाउने व्यक्तिको पहिचान नभएपनि वनको पश्चिमी भेगमा पशुपंक्षीको चोरी शिकारी बढ्दैगएको र शिकारीहरुले आगो लगाईदिएको हुनसक्ने सचिव राईले बताए ।

प्रतिक्रिया