स्ववियु निर्वाचन जेठ १३ गते गर्ने निर्णय

TU
काठमाडौं, २४ चैत । त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव आगामी जेठको दोस्रो साता गर्ने निर्णय गरेको छ । स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुने छ ।
त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले जेठ १३ गते गर्ने स्ववियु निर्वाचन गर्ने निर्णय गरेको रेक्टर गुणनिधि न्यौपानेले जानकारी दिए । स्ववियु निर्वाचनको मिति घोषणा भए पछि नेपाल विद्यार्थी संघले सुरु गरेको अनशन पनि आजै देखि तोडिएको नेता ऋषिकेश जंग शाहले जानकारी दिए ।
स्ववियु निर्वाचन प्रत्येक २ वर्षमा हुनुपर्ने प्रावधान छ । यद्यपि २०६५ साल देखि निर्वाचन हुन सेकेको छैन । नेविसंघले निर्वाचनको मिति तोक्न दवाव दिँदै अनशन सुरु गरेको थियो ।
मिश्रित प्रणालीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट तथा उपाध्यक्ष र सहसचिवको निर्वाचन स्ववियु पदाधिकारीबाट हुने प्रावधान राखिएको छ । अब ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक पद्धतिबाट कार्यसमिति चयन गरिने छ ।
शैक्षिक क्यालेन्डर लागू गर्ने सम्बन्धमा त्रिवि विद्यार्थी तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर थापा र अनसनमा बसेका त्रिवि नेविसंघ ईकाई सभापति कैलाश कोइरालबीच लिखित सम्झौता भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताए ।

प्रतिक्रिया