हुगली किनारमा प्रेम

shmayalकोलकाता नेपालको एउटै मात्र प्रमुख बन्दरगाह हो, तेस्रो मुलुकसँग व्यापार गर्न भारतले दिएको । हुन त यो नेपालको प्रतिरोधी राजनीतिको बीउ रोप्ने भूमि पनि हो । तर, नेपालीको बाक्लो उपस्थिति यहाँ चिनिइहाल्ने प्रकारको छैन । किनभने कलकत्ताको छालाको रंग र नेपालको छालाको रंग उस्तै छ ।
कोलकाताका सडकहरू कि माथिमाथि कि तलतल परेका छन् । घरको घुँडा या कम्मरबाट पताका झैँ पसारिएका । यसमाथि हिँड्ने वा गुड्ने मानिसहरू बाँच्ने उपक्रममा मात्रै अरूसँग बोल्छन् । नत्र कलकत्ताबाट कोलकाता बनेको यस महानगरमा कमैलाई फुर्सत छ ।
३४ वर्षसम्म यस भद्रलोकमा एकछत्र राज गरेको वामपन्थी समर्थक जनमत एक्कासि मोडिएर तृणमूलतिर लागेपछि कलकत्ता अलिकति मौनधारण गरिबसे जस्तो छ । तर, त्यहाँका मानिसहरूसँग कुरा गरी हेर्दा लाग्छ, उनीहरूका लागि अब परिवर्तन ढिलो होइन, छिटोछिटो चाहियो । दक्षिण एसियाका यत्तिकै पुराना र योभन्दा निकै फुच्चे सहरी सभ्यताले फड्को मारेर भर्चुअल सिटीको रूप लिइसके । तर, कोलकाता आफ्नो छातीमा भिक्टोरिया मेमोरियलको विशाल तक्मा टाँसेर आफ्नो छिनिएको वैभवलाई पुन: पाउने प्रयासमा लागेको देखिन्छ ।
shबंगालीहरू भद्र मानिन्छन् । सायद यही भद्रताले गर्दा यिनले बुद्धिवादी काम गर्छन्, उत्तरप्रदेश वा विहारको जस्तो हल्ला गर्दैनन् । अरूले फुच्चे काम गरिरहँदा यिनलाई आफ्नो बुद्धिमाथि नै बढी भरोसा हुन्छ । यहाँ यिनका लागि काम गर्न छिमेकी मुलुक र सँधियार राज्यका गरिबहरू आउनुपर्छ । विगत साढे ३ दशकमा वामपन्थी अर्थतन्त्रले झन्डै पूरै कोलकातामा मध्यम वर्ग ह्वात्तै बढाइदिएपछि अति गरिबहरू सहरको छेउछाउतिर लागेछन् । हुन त विहान नौ बजेको समय सडक छिचोल्नै नसक्ने गरी आवाद हुन्छ । मेट्रोमा टेक्ने ठाउँसम्म पनि हुन्न । तर, कोलकाता कोलकातै हो । मेट्रो कोच हेर्दैमा यस महानगरको आवादीको पत्तो लाग्छ ।
२८ वर्षको अन्तरालमा म कोलकातामा छु । अहिले हेर्दा लाग्छ, त्यसबेला मलाई यहाँ ल्याइपुर्‍याउने साथीले मलाई हावडाको वरिपरि घुमाएर फर्काइदिएको रहेछ । म जहाँ पुग्नै पाएको थिइन, त्यही डाउनटाउन कोलकाता बढी रुचिकर रहेछ । महानगरको यही बहुरूपीयताका कारण होला एलेन गिन्स्वर्ग केही समय यहाँ हराएका थिए सुनिल गंगोपाध्यायहरूसँग । मानिसहरूका बीच मानिसको खोज गर्न, अखाडा जमाउन, कविता र उपन्यासहरूको सिर्जना गर्न र कलाका यावत शाखाहरूको विस्तार गर्न यस्तै ठाउँ बढी उब्जाउ हुने रहेछ । त्यसैले होला, भारतका अन्य सहरभन्दा कलकत्ता अलि भिन्नै स्वभावको छ ।
कलकत्ताको यही समृद्ध माटो र सामरिकता बाँकी भारत निल्न अंग्रेजहरूको व्यापारिक कम्पनीका लागि उपयुक्त रहेछ र तिनले यहाँका स्थानीय शासकहरूलाई कूटनीतिक र सामरिक चातुर्यले विस्तारै अधीनस्थ गर्दै लगेका रहेछन् । उनीहरूले यस महानगरलाई औद्योगीकरण हुँदै गरेको तत्कालीन युरोपको झल्को आउने गरी विकास गरेछन् जसका अवशेष अझैँ पनि हुगलीका किनारहरूमा छन् । दिल्लीमा मुगल साम्राज्यका छापहरू छन्, यहाँ अंग्रेजहरूको लिगेसी अति प्रभावपूर्ण छ । तिनले छाडिदिएका खाली स्थानहरू आजको कोलकाताका लागि वरदान नै बनेका छन् । राजधानी दिल्ली सार्नुअघि आफ्नो शान शौकत प्रदर्शन गर्न अंग्रेजहरूले कोलकातामा कैयौँ स्मारक बनाएका छन्, मूर्तिहरू गढेर राखेका छन् र बिल्डिङहरू ठड्याएका छन् । आज कोलकाता हेर्न जाने मानिसहरू तिनै वस्तु र स्थापत्य हेर्छन् जसका जगमा सामान्य भारतीय जनताको हाड पसिना छ ।
तर बंगालका गौरव मानिएका नेताजी सुवासचन्द्र वोस, वैज्ञानिक जगदीशचन्द्र वोस, साहित्यकार शरत्चन्द्र र रवीन्द्र आदिले बौद्धिक बंगला संस्कृति, देशभक्तिपूर्ण विद्रोह र दुर्लघ्य संघर्षका पदचिन्हहरू पनि यहीँ नै छाडेका छन् । उहिलेको रामृष्ण मिसनदेखि पछिको मदर टेरेसाका आध्यात्मिक र मानवीय उच्छ्वासहरू पनि बंगाललाई विश्वमा प्रतिष्ठित गराउने तत्त्व हुन गएका छन् । यी चरम बौद्धिक र मानवीय विम्बहरूका साथै तीन करोड जति मानिस बस्ने भनिएको यस महानगरमा मानिस यिनै गौरवमा भुलेर बसेको छ भन्न गाह्रै छ । सायद कोलकातालाई अधिक मानवीय बनाउने प्रयासहरू भूमिगत नै छन् ।
साढे तीन दशक पुरानो वाममार्गी शासनलाई प्रतिस्थापन गरेर ‘दिदी’ अर्थात् ममता बनर्जीको सरकार बनेपछि पश्चिम बंगालको राजधानी कोलकाताको कोलाहलमा एक खालको मौनताले स्पर्श गरिरहे जस्तो लाग्छ । अन्यथा यो हल्लाखल्लाकै सहर हो । बडेमाका पुराना बिल्डिङहरू, मलहरू, बिग बजार र न्यू मार्केटमा अलि बढी नै चहल पहल हुन्छ, धर्मभीरुहरू कालीघाट र गंगासागरमा भीडभाड गर्छन् । हावडा रेल्वे स्टेसन मौनताको सबैभन्दा बढी ध्वंशक हो जहाँ, दैनिक करिब आधा करोड जनसंख्याबाहिर जान्छ, उत्तिकै कोलकाता छिर्छ । दिल्लीमा जस्तो हावडाको रेल्वे प्लेटफार्ममा कुर्सी रेस चलिरहन्छ ।
अतीतको कोलकातामा भद्रलोकको छाप छ । दक्षिणतिर, र उत्तरको दमदम इलाकातिर नयाँ कोलकाता बनेको छ जहाँ गगनचुम्बी सिटीहरू बनिरहेका छन् । लाग्छ, मुम्बई, दिल्ली र चेन्नइभन्दा पछि परे पनि औपनिवेशिककालीन कोलकाताको भित्री सौन्दर्यमा केही कमी आएको छैन । तर, कोलकातामा आगो हुर्किरहेको छ ।
हामी त्यहाँ हुँदा नै ‘दिदी’ले प्रहरी महानिर्देशकलाई गलहत्याएर पठाइदिइन् । ऊ बडो खिन्न भएर बाहिरियो । एक प्रहरी अफिसरको हत्याका सन्दर्भमा संदिग्ध अपराधीहरू थिए दिदीका दलका आफ्ना मानिस । तिनलाई पक्राउ गर्ने प्रयास गर्दा उसमाथि दिदीको बक्रदृष्टि पर्‍यो । गभर्नर पनि दिदीको क्रोधसँग खिन्न भए । यस समाचारले कोलकाता भित्रभित्रै अग्निमय बनिरहेको थियो । अब हुने परिवर्तनको ढाँचा यस समाचारले पनि बनाउन सक्छ ।
कार्यालयको समय सकिएपछि साँझपख महावाणिज्यदूत चन्द्र घिमिरेले हामीलाई हावडा पुलको नजिक रहेको प्रिन्सेप घाट उतारे । आफैँ एक संवेदनशील कवि चन्द्र घिमिरे राजेश खन्नाको ‘चिंगारी जो भड्के…….’ गीतको सुटिङ स्थल देखाउन लालायित थिए । साँझपखको हावडा सेतुमाथिबाट दिइने रंगीन उज्यालो र त्यसले हुगलीको पानीमा देखिने अद्भूत दृश्य देखाउन चाहन्थे उनी ।
हामी प्रिन्सेप घाटमा थियौँ । यस सहरका परिकल्पनाकार मानिने एकजना स्थापत्यविद्को सम्मानमा ‘फेलो सिटीजन’ हरूले बनाएको भनिएको प्रिन्सेप घाटकै दायाँ सिटी रेल्वे र माथि निकै लामो आकासे सडक तेर्सिएको छ । यस श्वेतरंगी स्मारकका भुइँमा सैयौँ जोडी बसेका छन् । कतै ठाउँ खाली छैन । के यो विदाको दिन हो ? हुन त महानगरहरूमा यसरी मानिस जम्मा भइरहन विदा हुनै पर्छ भन्ने छैन ।
वास्तवमा यस ठाउँमा म मोदनाथ प्रश्रित र निनु चापागाईंजस्ता ‘सौन्दर्यशास्त्रीहरू’ सँग जान चाहन्थेँ । तर, उनीहरू सिक्किम हाउसमै छुटिसकेका थिए । त्यसैले कवि चन्द्र घिमिरेको अगुवाइमा युवा साथीहरूसँग पुगेँ । त्यहीँ गएर मेरो मनमा फुरेको थियो, यी जोडीहरूको प्रेमलीला र साढे तीन दशकको वाम राजनीतिको सौन्दर्यका बीच कुनै सम्बन्ध छ कि छैन ? प्रश्रित र निनुका सौन्दर्यशास्त्रले यसको कसरी विवेचना गर्दा हुन् ? तर, उनीहरू शताब्दीयौँ पुरानो बरको ठूलो रूख हेर्न हावडा पारीको किनार गइसकेका रहेछन् ।
भोलिपल्ट बिहान कतै न कतै जाने, तर आयोजकलाई कुनै प्रकारको झन्झटमा नपार्ने मनसायले हामी निस्क्यौँ भिक्टोरिया मेमोरियलतिर । स्मारक स्वयंको बेलायती शैलीको भव्यता त थियो नै, बिहानीको कुदाइ, ध्यान र प्रेमलीलामा व्यस्त मानिसहरू पनि यसको बगैँचाको भव्यताको स्वाद लिइरहेका देखिन्थे । मेमोरियलको पूर्वी भागको बाटोछेउको एक बुटामुनि एक दूधमुखे मुसलमान किशोरी एकाबिहानै आफ्नो युवा प्रेमीको बाहुपाशमा लट्ठिएकी थिई । यस युगलका लागि बाँकी विश्वको हलचलको केही वास्ता थिएन ।
ओहो, जीवन कति आशक्तिपूर्ण छ यहाँ पनि † अतिरिक्त मोटाइले कुरूप हुँदै गएका महिला र पुरुष आफ्नो वजन घटाउन भिक्टोरिया मेमोरियलको सुरम्य बगैँचामा आउँदा रहेछन् । तिनका आँखा सोहोरिएका छन् आफैँतिर । छेउबाट को कसरी गुज्रिरहेछ, पत्तो छैन ।
हिजो साँझको हुगलीको पूर्वी किनारमा रहेको प्रिन्सेप घाटमा जुन खालका रासलीला देखिएका थिए ती आफैँमा अद्भूत थिए । प्रिन्सेप मेमोरियलका विशाल पिलरमा जीवनको अर्कै पाटो देखिन्थ्यो । मानौँ यस दुनियाँमा यी जोडीहरूका लागि मृत्यु भन्ने कुरै हुन्न, दु:ख भन्ने कुनै तत्त्व हुन्न । यी आदम र इभहरू प्यान्डोराले बाकस खोल्नुअघिका दु:खकष्टको कल्पनै नभएका प्राणीहरू हुन् । तरल यस भीडमा कुनै पनि सम्भ्रान्त बंगाली मिसिएको मैले देखिन ।
सायद सम्भ्रान्त र कुलीन बंगालीहरूका लागि यो स्थान प्रेम प्रदर्शनका निम्ति उपयुक्त स्थान होइन । उनीहरूका लागि बेग्लै प्रबन्ध भएका सुविधायुक्त महल, सितारा होटल, समुद्री किनारका रिसोर्टहरू वा हवाई द्वीप वा पताया बिच जस्ता ठाउँहरू छुट्याइएका छन्, क्यासिनो र डिस्कोथेकहरू छन् । मलाई एउटा प्रश्नले लखेटिरह्यो, के प्रिन्सेप घाटका यी जोडीहरू लेफ्ट फ्रन्टका मानिस हुन् जसले साढे तीन दशकसम्म ज्योति बाबुहरूलाई सत्तामा राखिराखेका थिए ? के ममता बनर्जीका मतदाताहरू साँझपखको प्रिन्सेप घाट आउनु नपर्ने वर्गका हुन् ?
मैले स्वयं उत्तर दिएँ, हुन सक्छन् । त्यस्तो वर्गका लागि यही ठाउँ नै हो जहाँ एक प्रकारको सर्वहारा प्रेम, निम्न वा निम्नमध्यम वर्गीय प्रेम गर्न सकिन्छ । नेपालका माक्र्सवादी पण्डित मानिएका नेता र तिनलाई आफ्नो सूर, ताल र स्वरले सत्ता नामक बैकुण्ठमा लगेर विराजमान गराइदिने महामना जनगायकहरू भन्ने गर्थे— ‘वर्गीय समाजमा प्रेम पनि वर्गीय हुन्छ ।’ हो पनि, हाम्रा नेताहरूले कोलकाताबाटै सिकेर आएका हुन् वर्गीय प्रेम । आखिर नेकपाको सूत्रपात उहीँ भएको थियो, यिनका प्राथमिक पाठशालाका गुरु रतनलाल ब्राह्मण उतैका थिए ।
सम्मेलनको दोस्रो दिन थियो । काव्यगोष्ठीको आयोजन । भारतीय भाषापरिषद्को सभागारमा कविहरूको आगमन हुँदै थियो ।
बिहान चियापानमा एक खाँट्टी नेपाली मगर्नी युवती आकाशे रंगको साडीमा सजिएर मेरो छेउ आइन्, र सँगै बसेर फोटो खिचाइन् । मलाई म कोलकाता जस्तो विशाल महानगरमा नभई नेपालको कुनै फुच्चे सहरमा छु जस्तो लाग्दै थियो । मैले उनको नाम सोधेँ । युना थापा । यी म्याग्दी, बाग्लुङ, स्याङ्जा वा पाल्पाकी युवती हुन् जस्तो लाग्यो मलाई । तर, यी कोलकातावासी भइसकेकी रहिछन् । भरे यिनै थिइन्, जसले सांस्कृतिक कार्यक्रममा आफ्नो उँचो स्वरको उद्घोषणले हल गुञ्जाइदिएकी थिइन् । प्रमुख आयोजक नारायण हुमागाईका अनुसार कोलकातामा यस्ता नेपाली करिब तीन लाखको संख्यामा होलान् । तर, तीमध्ये धेरै आफूलाई नेपाली भन्न पनि रुचाउँदैनन् या नेपालीका कार्यक्रममा सहभागिता पनि जनाउँदैनन् । चार्टर्ड एकाउन्टेन्टको कोर्स गरिरहेका एक युवक ओम शर्मा खनालको अनुभव पनि त्यस्तै छ ।
आयोजकहरूसँग फोटो खिच्तै चियाको चुस्की लिँदै गर्दा चन्द्रले एक भद्र र पाका बंगालीलाई मेरो छेउमा लिएर आए । र भने, ‘दाइ, उहाँ सुविमल वासाक, तपाईंले पक्कै उहाँलाई पढ्नु भएको छ ।’
मैले सत्तरीको दशकमा हिन्दी पत्रपत्रिकामा पढेका तर लामो समयसम्म हराएका सुविमललाई सम्झेँ । यी उनै सुविमल वासाक थिए, जो अद्भूत संरचना र विन्यासका कविता लेख्थे, चर्चामा थिए, काठमाडौं आउने जाने गर्थे । भोको पिढीसँग निकट थिए । चन्द्रको सौजन्यमा पुन: नेपाली लेखकहरूसामु प्रकट भएका थिए तर आफ्नै नगरमा । हाम्रो संक्षिप्त परिचयपछि उनी नोस्टाल्जिक थिए काठमाडौंसँग । मुस्काइरहेका थिए । बेचैन पनि देखिन्थे ।
सुविमल वासाकले झोलाभरि आफूले बंगलामा अनुवाद गरेका नेपाली कविताका पाण्डुलिपि बोकेका थिए र बेलाबेला त्यो पाण्डुलिपि अनि त्यसका बंगलामा प्रकाशित कटिङहरू खोलेर देखाउँथे । उनी रहेछन् नेपालमा रहँदा नेपाली कवि वासु शशीको निकटमा रहेर नेपाली कविताको अध्ययन गरेका, अनुवाद गरेका र पटनामा कुनैबेला अध्ययनरत जगदीश घिमिरेलाई पनि भेटेका । उनले पचासौँ नेपाली कविका कविता सुन्दर बंगला लिपिमा देखाए । मलाई उनमा नेपाली कविताप्रतिको गहिरो अनुराग रहेछ भन्ने अनुभूति भयो । मलाई सँगै पानखान बाहिर जान आग्रह गरेका थिए उनले, जब म पानखान्न भन्ने थाहा पाए, यी पातला मनुष्य लिफ्टबाट भुइँतिर झरे । र, एक बिंडा पान मुखमा हालेर आधा घन्टामै दाखिल भए ।
र काव्यगोष्ठी सुरु भयो । नेपाली, भारतीय नेपाली, बंगला, हिन्दी भाषाका कविताहरूको वाचन र श्रवणले हल व्यस्त भयो । मलाई केही साथीहरूसहित मञ्चमा उकालिएको थियो तर त्यसको औचित्य पुष्टि भने गरिएको थिएन । सुविमल ती पुराना बंगला कवि थिए जसले अरूसँगै उभिएर नेपाली कविहरूको सम्मानमा कविता पाठ गरे । नयाँ र पुराना पुस्ताका बंगला र हिन्दी कविहरू अपेक्षाकृत गम्भीर लाग्दथे । यीमध्ये बंगलाका दुईजना युवा कवयित्रीहरू पनि थिए, फ्लोरा मुखर्जी र आयशा खातुन ।
मञ्चमा बस्तै गर्दा मैले फ्लोरा मुखर्जीको पोर्टे्रट बनाएको थिएा । जब मेरो पालो आयो, रमेश पौडेलले मेरो गुप्त कर्म देखिहाले र त्यो पोर्टे्रट लगेर फ्लोरा मुखर्जीलाई देखाइहाले । वास्तवमा त्यो राम्रो बन्न पाएको थिएन । हलमा हल्का अँध्यारो थियो र फ्लोराको व्यक्तित्वले मेरो ध्यान तानिरहेको थियो ।
फ्लोराले मसँग फोटो खिचाइन् र भनिन्, ‘यो मेरा लागि विशिष्ट उपहार हो, के म यो आफूसँगै राखूँ ?’
‘राख्नुस्’ मैले भनेँ र उनीसँग हात मिलाएर बिदा भएँ । सायद यही नै कोलकाताका भद्रलोकसँगको मेरो बिदाइ थियो, किनभने अर्का भद्र पुरुष सुविमल वासाक आँखाबाट ओझेल परिसकेका थिए । म भने, कवि चन्द्र घिमिरेप्रति कृतज्ञ थिएँ, जसले मेरो सम्मानमा भनेर मेरै विकास पण्डित शीर्षकको एक कविता पाठ गरे ।
बंगला र नेपालीमा धेरै समानता छन् भन्ने कुरा उठेको थियो, शिक्षा मन्त्री ब्रात्य वसुले पनि यस्तै केही भनेका थिए । चन्द्र जस्ता सेतु त्यहाँ गइरहे भने नेपाली साहित्य बंगला दुनियाँमा जान धेरैबेर लाग्ने छैन । नारायण हुमागार्इंले युना र ओम खनालजस्ता नयाँ पुस्ताका अनुयायी पाए भने त्यो दिन टाढा रहने पनि छैन । तर, मलाई भने काठमाडौंको चोभारको डाँडा र प्रिन्सेप घाटका निम्नमध्यमवर्गीय प्रेम लीलाका कथामा पनि समानता छन् जस्तो लाग्न थालेको छ ।

प्रतिक्रिया