साहित्यकारका फोटो खिच्दाखिच्दै फोटोग्राफी जानेँ

Kumar-Ale०४८ सालमा मैले कवि कृष्णप्रसाद भट्टराई ‘सर्वहारा’ को फोटो खिचेको थिएँ । लाग्थ्यो– नेपालका साहित्यकारहरूको इतिहास जीवन्त बनाउनुपर्छ । जसका लागि उहाँहरूको जीवन आउने तस्बिर संकलन गर्ने योजना बनाइरहेको थिएँ । त्यही बीचमा कवि केशवराज पिँडालीको मृत्यु भयो । मैले उहाँको तस्बिर संकलन गर्ने मौका गुमाएँ । आफ्नो योजनामा ढिलाइ गरे अवसर गुमाइँदो रहेछ भन्ने बुझेँ । उहाँको मृत्यु भएको भोलिपल्टदेखि नै मैले साहित्यकारहरूको तस्बिर लिन सुरु गरेको हुँ ।

त्यतिबेला न्युरोडमा मेरो फोटो स्टुडियो थियो । आठ हजार रुपियाँमा किनेको निकोर म्याट क्यामरा बोकेर साहित्यकारहरूको घरघर पुग्थेँ । अपरिचित केटो फोटो खिच्छु भन्दै घरमा आइपुग्दा उहाँहरू आश्चर्यमा पनि पर्नुहुन्थ्यो । कतिपटक त फोटो खिच्न नपाएर फर्किनु परेको क्षण अझै स्मृतिमा ताजै छन् । सोच्थेँ, फरकफरक स्वभावका साहित्यकारहरूसँगको बसाइ नै मेरा लागि नयाँ विषयको पढाइझैँ भयो । नयाँ मान्छे फोटो खिच्छु भन्दै पुग्दा तलदेखि माथिसम्म हेर्थे । हतपत विश्वास गर्दैनथे । यद्यपि, उहाँहरूको विश्वास जित्न सफल हुन्थे म । मैले औपचारिक रूपमा फोटोग्राफीको अध्ययन गरिनँ । तर, हरेक साहित्यकारको फोटो खिच्न घन्टौँ बिताउनुपथ्र्यो । उहाँहरूका कविताका भाव पनि फोटोमा प्रस्फुटन होस् भन्ने चाहन्थेँ । तिनै समय मैले फोटोग्राफी सिकेँ, नयाँ अनुभव बटुल्ने अवसर पाएँ ।
मलाई आफूले क्याप्चर गरेको तस्बिर पत्रिकामा छपाउने रहर कहिल्यै भएन । यद्यपि, मैले साहित्यकारहरूको तस्बिर संकलन गरेको थाहा पाएपछि पत्रकारहरू मलाई खोज्न थाले । विस्तारै मैले खिचेका तस्बिर प्रकाशित हुन थाले । अहिलेसम्म मैले करिब १५ हजारवटा तस्बिर संकलन गरेको छु । हरेक तस्बिरमा कला हुन्छन्, जसले जीवन बोलेको हुन्छ । इतिहासको सचित्र व्याख्या तस्बिरले नै गर्न सक्छ । इतिहासको संरक्षण तस्बिरले मात्रै गर्न सक्छ ।
तीन कक्षा पढ्दादेखि नै फोटोग्राफीमा मेरो रुचि बढेको हो । न्युरोडमा दाइको फोटो स्टुडियो थियो । म अधिकांश समय त्यहीँ बिताउँथेँ । त्यतिबेलादेखि नै ग्राहकहरूको तस्बिर खिच्न तम्सिन्थेँ । बाल्यकालदेखि नै बढेको तस्बिरमोह अन्तत: साहित्यकारहरूसँग गएर जोडियो ।
०५२ सालपछि भने फोटो स्टुडियोको काम पूर्णरूपमा छोडेर फोटोग्राफीमा लागेँ । साहित्यकारहरूका कथा, कविता सुन्दै तिनका भावलाई क्यामरामा कैद गर्ने मोहले मलाई फोटोग्राफर बनायो । हरेक समय तस्बिरमा जीवन खोजिरहन्छु । तस्बिरमा समावेश हुने कलापक्ष एक अर्काइभ हो । संवेदनशील भएर तस्बिर खोज्नेले समयको क्याप्चर बुझ्न सक्छ । जीवन चिन्न सक्छ । अनि, समयले दिएको सन्देश तस्बिरले बोलिदिन्छ ।
फोटोग्राफीका क्षेत्रमा हरेक दिनजसो प्रविधि परिवर्तन भइरहेका हुन्छन् । एउटा फोटोग्राफर प्रविधिसँग अपडेट भएमात्रै उसले आफूलाई प्रोफेसनल बनाउन सक्छ । मेरो फोटोग्राफी यात्रामा अहिलेसम्म आठवटा क्यामरा परिवर्तन गरिसकेँ । यद्यपि, आफू अझै प्रविधिसँग अपडेट हुन नसकेझैँ लागिरहन्छ ।
(वार्तामा आधारित)

प्रतिक्रिया