टाउको काटेर झोलामा हाल्दिन्छु

Suminaकाठमाडौं, २२ चैत । अभिनेत्री सुमिना घिमिरेले रंगपत्रकार विजय ‘आवाज’लाई ज्यान मार्ने धम्की दिएकी छन् । उनले विजयको मोबाइलमा फोन गरेर ज्यान मार्ने धम्की दिएकी हुन् ।

मंगलबार बेलुकी साढे ५ बजे फोन गरेर सुमिनाले मलाई ज्यान मार्ने धम्की दिएकी छन्, धम्कीमा टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिने भनेकी छन्, विजय ‘आवाज’ले भने । आफूले काम गर्दै आएको अनलाइनमा ‘सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना’ शीर्षकमा समाचार लेखेको कारणले आफूलाई अभिनेत्रीले ज्यान मार्ने धम्की दिएको विजयले खुलाए ।
टेलिफोनमार्फत रंगपत्रकार विजयलाई धम्की दिएको अभिनेत्री सुमिनाले स्विकारेकी छन् । ‘मेरा बारेमा एक सातादेखि रेगुलर नराम्रो समाचार लेख्दै आएकाले आवाजलाई धम्की दिएको हो’, ‘म पनि कसैकी छोरी र चेली हु, मेरो व्यक्तिगत लाइफ बारे नकारात्मक समाचार छाप्ने अधिकार कसैलाई छैन’, सुमिनाले भनिन् ।
सुमिनाले आफू चलचित्र अभिनय गर्दा र चलचित्रभवनमा पुग्दा मात्र अभिनेत्री रहने र अन्य समय अभिनेत्री नरहनेसमेत उनले बताइन् । उनले भनिन् ‘मैले विजयलाई हिरोइनको दर्जाबाट भन्दा पनि एउटा केटी भएको हिसाबले गाली गरेकी हुँ ।’ विजयलाई आफूले धम्की दिए पनि अभद्र गाली नगरेको उनले बताइन् ।
विजयले भने आफूलाई सुमिनाले तल्लो स्तरको शब्द प्रयोग गर्दै गाली गरेको बताए । ‘मेरो विषयमा किन समाचार लेखेको, मेरो बारेमा राम्रो नराम्रो केही समाचार नलेख्, तँ साले खाते, मलाई चिनेको रहेनछस्, तेरो टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिन्छु’ भनी गाली गरेको कुरा विजयले सुनाए ।
विजय ‘आवाज’लाई सुमिनाले असभ्य भाषामा गाली गरेको करिब चार मिनेटको अडियो रेकर्ड विभिन्न अनलाइनमा जस्ताको तस्तै राखिएको छ । नेपाली मिडियामा चलचित्रहरू र त्यसमा अभिनय गर्ने नायक नायिकाहरूका विषयमा समीक्षा हुनुलाई सामान्य मानिन्छ । सुमिना बारे अनलाइनमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रको समीक्षा गरिएकोमा यसैलाई आधार मानेर ‘टाउको झोलामा खुट्टा खोलामा’ भन्दै उनले धम्की दिनुले उनी चलचित्रमा मात्रै असफल नभएर सांस्कृतिक तवरबाट समेत कमजोर रहेको पुष्टि भएको छ । नायिकाजस्तो संस्कृतिकर्मीबाट यस्तो तल्लो स्तरको भाषाप्रयोगको सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन । उनले खेलेका अधिकतर चलचित्र नचलेको र घाटामा गएको समाचार प्रकाशन भएको थियो । समाचारमा नायिकाको व्यक्तिगत विषयमा कुनै टिप्पणी नगरी चलचित्रमा उनले सफलता पाउन नसकेको तथ्य मात्र विश्लेषण गरिएको थियो तर यसै विषयलाई लिएर उनले पत्रकारलाई फिल्मी स्टाइलमा धम्की दिएकी हुन् ।

यस्तो थियो समाचार
चलचित्र क्षेत्रकी आशालाग्दी नायिका सुमिना अहिले असफल हुँदै गएकी छन् । उनका कुनै चलचित्रले व्यावसायिक सफलता हात पार्न नसकेपछि उनको करिअर अहिले ओरालो लाग्न थालेको हो । अभिनयका माध्यमले भन्दा पनि विभिन्न चलचित्रकर्मीसँग नाम जोडेर सुमिनाले चर्चा बटुलेकी हुन् । ‘दुलही’, ‘छविलाल कञ्जुस छैन’, ‘किन मायामा’, ‘हेल्लो प्रकृति’, ‘तिम्रो लागि’, ‘रङ’लगायत उनले अभिनय गरेको चलचित्र प्रदर्शनमा आएका छन् तर यी कुनै पनि चलचित्रले निर्माताको लगानी बचाउन सकेनन् । उनले सबैभन्दा धेरै आशा गरेको चलचित्र ‘नाइन ओ क्लक’ को व्यापार पनि अहिले शून्य नै छ । दुलहीमा सोझी युवतीको भूमिकामार्फत अभिनयक्षेत्रमा प्रवेश गरेकी सुमिनाले अहिले चलचित्रमा चल्न हट दृश्यलाई माध्यम बनाएकी छन् तर पनि उनलाई दर्शकले रुचाएनन् । यसैले उनी अहिले सफल हुने चलचित्रकै खोजीमा छटपटारहेकी छन् ।
यिनको अभिनय रहेका आधा दर्जनभन्दा बढी चलचित्र भए पनि एउटैले पनि राम्रो व्यापार गर्न सकेन । दर्शक सुमिनाको टाउको हेर्न हलसम्म पुग्दैनन् । त्यसैले उनलाई चलचित्रमा चल्न नसकेकी नायिकाको रूपमा विश्लेषण गर्न सकिन्छ ।
महासंघ र चलचित्र पत्रकार संघको आपत्ति
काठमाडौं : अभिनेत्री सुमिना घिमिरेले टेलिफोनमार्फत रंगपत्रकारलाई दिएको धम्कीमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर अभिनेत्री सुमिना घिमिरेले अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार विजय ‘आवाज’ सुवेदीलाई तल्लो स्तरको भाषामा गाली–गलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । समाचारप्रति गुनासो वा असहमति भए त्यसउपर वैधानिक बाटो रोज्नुको सट्टामा टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिने धम्की आपराधिक हो । जनताले माया गर्ने कलाकारबाट यस किसिमको धम्की अशोभनीय र आफैंमा निन्दनीय कार्य भएकोले घटनाप्रति क्षमायाचना गरेर प्रेसको संवैधानिक मर्यादालाई मान राख्न अभिनेत्री घिमिरेलाई महासंघले अनुरोध समेत गरेको छ ।
त्यस्तै अभिनेत्री घिमिरेको यस गलत कदमले चलचित्र पत्रकार संघले पनि निन्दा गरेको छ । समाचारको विषयलाई लिएर यस संघका केन्द्रीय सदस्य समेत रहेका सुवेदीलाई अत्यन्त तल्लो स्तरको तुच्छ, निकृष्ट, असभ्य र असामाजिक भाषामा गालीगलौज गर्दै ज्यानको धम्कीसमेत दिएको घटनाप्रति संघ घोर निन्दा गर्दछ, संघले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो घटनानलाई संघले गम्भीरतापूर्वक लिएकाले पत्रकारमाथि न्यूनतम मर्यादासमेत नाघेर निन्दनीय कार्य गर्ने घिमिरेले गल्ती नसच्याए संघले उनलाई बहिष्कार गर्ने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच चलचित्र पत्रकार संघ मकवानपुर शाखाले पनि बुधबारकै दिन विज्ञप्ति जारी गर्दै पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभिनेत्री सुमिना घिमिरेसंग सम्बन्धित सम्पूर्ण कार्यक्रम र समाचार बहिष्कार गर्ने घोषणा गरेको छ । (सौस)

प्रतिक्रिया