बेचिएका चेलीको आवाज ढुवानीमा

dhuwani_frontकाठमाडौं : चेलीबेटी बेचबिखनको मुद्दालाई विषयवस्तु बनाइएको चलचित्र ढुवानीको फस्टलुक सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ‘माइती नेपाल’की अध्यक्ष अनुराधा कोइरालाले चलचित्रको फस्टलुक सार्वजनिक गरिन् ।
कार्यक्रममा कोइरालाले चेलीबेटी बेचबिखन रोक्न चलचित्र निर्माण युनिटले चालेको कदमको खुलेर प्रशंसा गरिन् । उनले भनिन्, चलचित्र ग्रामीण भेगका दर्शकहरूलाई देखाउनुपर्छ । चेलीबेटी बेचविखन भारतको कोठीमा मात्र सीमित नरहेको र काभ्रेपलान्चोक तथा सिन्धुपाल्चोकबाहेकका जिल्लाहरूबाट पनि चेलीहरू बेचिने गरेको तथ्यलाई अघि सार्दै उनले देशको धेरै जसो भूभागबाट चेलीबेटी बेचिएकाले चलचित्र चेतनाका लागि प्राय: सबै ठाउँमा देखाउन निर्माण पक्षलाई अनुरोध गरिन् ।
कार्यक्रममा चलचित्रकी निर्मात्री कविता श्रेष्ठले ढुवानी चलचित्र आफूले नाफा कमाउनेभन्दा पनि समाजसेवाको लागि निर्माण गरेको बताइन् । उनले चलचित्रको प्रदर्शनपछि चेलीबेटी बेचबिखनका पनि कमी आउने विश्वास लिएको उनले बताइन् ।
चलचित्र ‘ब्याच नम्बर १६’पछि पीताम्बर पाण्डेले ‘ढुवानी’ निर्देशन गरेका हुन् । यसले चेलीबेटी बेचविखनसम्बन्धी चेतना फैलाउन सघाउ पुर्‍याउने, पाण्डेले बताए ।
चलचित्रको प्रर्दशनमिति भने तय भएको छैन । किशोर खतिवडा, प्रवीण खतिवडा, धिरेनराज थापा, अनुजा गायक, सगुन शाही, उदय अलीलगायतको अभिनय रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र देव महर्जनको द्वन्द्व रहेको छ । निर्देशक पाण्डेले नै यसको पटकथा लेखेका हुन् हरि लम्सालले यसमा संगीत दिएका छन् । (सौस)

प्रतिक्रिया