स्ववियुको माग गर्दै नेविसंघ आमरण अनशनमा

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग राख्दै बाह्र दिनदेखि रिले अनशन गर्दै आएको नेपाल विद्यार्थी संघले बिहिबारदेखि आमरण अनशन सुरु गर्ने भएको छ ।
कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयअगाडि नेविसंघले आमरण अनशन सुरु गर्ने भएको हो  । तत्काल स्ववियुको निर्वाचनको मिति घोषणा गरिनुपर्ने, विद्यार्थीका मौलिक हक लागू गरिनुपर्ने र त्रिवि शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने नेविसंघको माग छ ।
१२ दिनसम्म २४ घन्टे रिले अनशन बस्दासमेत त्रिविले माग सुनुवाइ नगरेकाले बाध्य भएर आमरण अनशन बस्नुपरेको नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नैनसिंह महरले बताए ।  उनले मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने दाबी गरे । विभिन्न बहानामा त्रिवि स्ववियुको निर्वाचन नगराउने षड्यन्त्रमा लागेको नेविसंघको आरोप छ । (सौस)

प्रतिक्रिया