आमरण अनसनप्रति ऐक्यबद्धता बढ्दो

राजविराज, २२ चैत । भ्रष्टाचारको अन्त्य, संघीय लोकतन्त्रको मूल्य, मान्यता र चरित्रअनुरूप राज्यका क्रियाकलाप, मधेसमा लोकसेवा आयोगका शाखा कार्यालयलगायत १० बुँदे मागसहित नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकासकुमार तिवारीले सुरु गरेको आमरण अनशन साताँै दिन नाघेको छ । सिडिओ कार्यालय राजविराजअगाडि शिव मन्दिर प्रांगणमा उनले अनसन जारी राखेका छन् ।

अनसनमा विभिन्न संघसंगठनले सहयोग, ऐक्यबद्धता तथा समर्थन जनाउने क्रम जारी छ । पछिल्लोपटक सञ्चार यात्रा नेपालकी अध्यक्ष करुणा झाले प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनमा ऐक्यबद्धता जनाएकी छिन् । यता राज्यले हालसम्म आमरण अनसनलाई बेवास्ता गरेको पार्टीका नेताले आरोप लगाएका छन् ।
तिवारीले जिविस, जनस्वास्थ्य, शिक्षा, कृषि, राजविराज नगरपालिकासहित विकासका कार्यालयको आव ०६८/६९ को आयव्यय
विवरण र विभिन्न योजनामा भएका खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, जिविसमा भएको पेस्की बेरुजु तत्काल असुलउपर गर्नुपर्ने, भ्रष्ट गाविस सचिव र कर्मचारीलाई कारबाही, जिविस सप्तरीद्वारा राखिएका सन्देशमूलक होडिङबोर्ड मैथिली भाषामा हुनुपर्ने माग गरेका छन् । यस्तै, मुलुकका अन्य जिल्लासरह सप्तरीमा समेत विद्युत् आपूर्ति, जिल्लाका विभिन्न स्थानमा भएका जीर्ण सडक मर्मतसम्भार तथा राजविराजका सबै सरकारी कार्यालयमा सूचना अधिकृतको माग गरिएको छ ।
सहायक सिडिओ बलभन्द्र गिरीले तिवारीका कतिपय माग पूरा भइसकेकेको र कतिपय माग सम्बोधनको क्रममा रहेकाले अनसन तोडेर सहयोग गर्न आग्रह गरे । स्थानीयस्तरमा पूरा गर्न सक्ने मागका विषयमा आपसी छलफलबाट पनि सम्बोधन गर्न सकिने भन्दै गिरीले लोकसेवाको शाखा र होर्डिङ बोर्डका विषयमा माथिल्लो निकायमा लेखेर पठाइसकेको बताए ।

प्रतिक्रिया