बैशाखसम्म हतियार नबुझाए अबैद्य

hatiyarकाठमाडौं, २१ चैत । सेना समायोजन विशेष समितिले एमाओवादी र नेकपा–माओवादीका नेताहरुको सुरक्षाका लागि राखिएका हतियार फिर्ता गर्न बैशाख मसान्तसम्मको अन्तिम समयसीमा दिएको छ ।
बानेश्वरमा आज बसेको समितिको बैठकले बैशाख मसान्तसम्म बाहिर रहेका हतियार नबुझाए गैरकानूनी रुपमा हतियार राखेको ठहर भई कारबाही गरिने निर्णय गरेको एमाले नेता समेत रहेका समिति सदस्य भीम रावलले जानकारी दिए ।
उनले हतियार फिर्ता नभए कानून अनुसार कारवाही गर्न सरकारलाई सिफारिस गरेको बताए ।
माओवादी नेताहरुको सुरक्षाका लागि भन्दै ३२ नाल हतियार राखिएको छ ।
समितिले पूर्व माओवादी लडाकुहरुको अभिलेख सरकारलाई बुझाउने निर्णय पनि गरेको छ । सेना समायोजनको प्रक्रियालाई अघि बढाउन नेपाली सेनाको महानिर्देशनलाई निर्देशन दिने निर्णय समेत भएको रावलले बताए ।
तालिम गर्न नसक्ने लडाकुहरुलाई कसरी निकास दिने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय भने हुन सकेन । सो विषयमा पर्सी बस्ने बैठकले निर्णय गर्ने रावलले जानकारी दिए ।
अहिले १४ सय ४२ लडाकुले तालिम लिईरहेकोमा केहीले तालिम गर्न नसके पछि छाड्ने चाहना ब्यक्तगरेका छन् ।

प्रतिक्रिया