नेकपा–माओवादीद्वारा १४ विघा जग्गा कब्जा

bardiyaबर्दिया, २१ चैत । संविधानसभा निर्वाचन विथोल्ने गतिविधि गर्दै आएको नेकपा–माओवादीका कार्यकर्ताले आज विहान बर्दिया जिल्लामा १४ विघा जग्गा कब्जाको दाबी गरेका छन् ।
विहान करिब तीन बजे पुगेका दर्जन बढी नेकपा–माओवादीका कार्यकर्ताले खैरीचन्दनपुर गाविसमा व्यक्तिका नाममा रहेको १४ विघा जग्गा कब्जाको घोषणा गरेका हुन् । जग्गामा नेकपा–माओवादीका कार्यकर्ताले झण्डा गाडेर कब्जाको दाबी गरे पनि स्थानीयले तत्कालै झण्डा उखेलेर फालिदिएका छन् ।
खैरीचन्दनपुर निवासी लक्ष्मीनारायण उपाध्यायले आफ्ना छोरीहरुलाई दिएको जग्गामा नेकपा–माओवादीका कार्यकताले झण्डा गाडेको बर्दियाका प्रहरी नायव उपरीक्षक यमुना रजकले जानकारी दिए । उपाध्याय नाताले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका ससुरा पर्छन् ।
१४ बिघा जग्गामा झण्डा गाडेर कब्जा गरेको सूचना पाए लगत्तै राजापुरबाट प्रहरी निरीक्षक दीपक शाहको नेतृत्वमा प्रहरी टोली सो स्थानमा पुगेको थियो । प्रहरी पुग्नु अगावै स्थानीयले झण्डा उखेलेर फालेको नायव उपरीक्षक रजकले बताए ।

प्रतिक्रिया