सडकका छाडा चौपाया अब प्रहरीको कब्जामा

cowकाठमाडौं : सडकमा छाडिएका छाडा गाईवस्तुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि प्रहरीले यस्तो अभियान थालेको हो ।
काठमाडौं महानगरपालिकासितको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान सुरु गरेको हो । महाशाखाका अनुसार सडकमा छाडा भेटिएका गाईगोरु नियन्त्रणमा लिई ‘कान्जी हाउस’ पठाइनेछ । चौपाया धनीलाई कारबाही स्वरूप निश्चित जरिवाना गरिने प्रहरीले जनाएको छ । चौपाया धनीले बुझ्न ढिलो गरे लिलाम नै गरिनेछ ।
ट्राफिक महाशाखाले सोमबार मात्रै १८ वटा गाईगोरु नियन्त्रणमा लिई कान्जी हाउस पठाएको छ । महाशाखाका अनुसार डल्लुबाट ४, कालीमाटीबाट २, स्वयम्भूबाट १, गोंगबुबाट ३, सामाखुसीबाट २, चप्पलकारखानाबाट ३ र गौशालाबाट ३ वटा छाडा गाईगोरु नियन्त्रणमा लिइएको थियो ।
महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले नियन्त्रणमा लिइएका अधिकांश चौपाया चरनका लागि छाडिएको बताए । त्यसमध्ये धर्मका नाममा डामेर छाडिएका बहर र साँढे पनि रहेको उनले बताए । ‘पछिल्ला दिनमा छाडा चौपायाको बिगबिगी नै देखियो, यसले उपत्यकाको ट्राफिक जाम बढाएको मात्र होइन, दुर्घटना नै गराएको देखियो,’ उनले भने ।
महाशाखाका अनुसार आर्थिक वर्ष ०६८/६९ मा सडक दुर्घटनामा उपत्यकामा मात्रै १५ वटा चौपायाको मृत्यु भयो । ५ घाइते भए । आर्थिक वर्ष ०६९/७० को चैत महिनासम्म दुर्घटनाकै कारण १३ चौपायाको मृत्यु भयो । ७ घाइते भए । ती दुर्घटनामा धनजनको उल्लेख्य क्षति भएको महाशाखाले जनाएको छ । (सौस)

प्रतिक्रिया