“पाँच वर्षमा सहकारी योगदान दोब्बर”

sahakari-ryaliकाठमाडौं, २१ चैत । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले व्यापार र बजेटघाटा उच्च रहेको अवस्थामा सहकारीको योगदान महत्त्वपूर्ण हुनुपर्ने बताएका छन् । आगामी ५ वर्षभित्र सहकारीको योगदान दोब्बरले बढ्न सक्ने बताउँदै उनले सहकारीलाई उत्पादनतर्फ लगाई आयात प्रतिस्थापन गर्न सकिने मा जोड दिए ।

५६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काठमाडौं र डिभिजन सहकारी कार्यालय काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री कोइरालाले अर्थतन्त्रमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले सहकारी क्षेत्रलाई अझै व्यवस्थिततवरले विकास गर्नुपर्ने बताए । सहकारीको विकास र प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता जनाए । ‘हाल सहकारीको संख्यात्मक वृद्धि भएको छ ।’ उनले भने, ‘गुणात्मक विकासका सबै निकायको ध्यान दिनुपर्छ ।’ सहकारीताको माध्यमबाट नेपालले अर्थतन्त्रमा कोल्टो फेर्न सकिने उनको भनाइ थियो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सरकारले सहकारी व्यवसायलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । सहकारी क्षेत्रबाटै देशको आर्थिक विकास गर्न सकिने उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । त्यसैगरी सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी क्षेत्रमा भएका विकृतिलाई रोक्नुपर्ने बताए । केही सहकारीमा देखिएको समस्यालाई रोकी सहकारीको सिद्धान्तअनुरूप सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । उत्पादनमूलक सहकारीलाई राज्यले सहयोग गर्ने विश्वाससमेत दिलाए । सहकारी दिवसका अवसरमा आयोजित विविध खेलकुद कार्यक्रममा सहभागीहरूलाई पुरस्कृत तथा सम्मानसमेत गरिएको थियो ।

सहकारी अब आइटी प्रविधिमा
सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीका सेवाहरू अब आइटी प्रविधिमा लैजाने बताएका छन् । सहकारीमा विकृति फैलिएकाले सबै सेवाहरू अनलाइनको माध्यमबाट सेवा दिने तयारी गरीरहेको पनि उनले बताए । को–अपरेटिभ मिडिया सोलुसल प्रालिद्वारा सञ्चालित सहकारी खबर डटकम उद्घाटनमा उनले सो कुरा बताएका हुन् ।
‘सबै सहकारीलाई लिकमा जोड्ने तयारी गरेका छौँ ।’ उनले भने, ‘यसो गर्दा सहकारी डुब्नबाट बचाउन सकिन्छ ।’ अहिले सहकारी डुबेपछि मात्र थाहा पाइने गरेको भन्दै उनले आइटी सेवा सुरु गरे सहकारीका धेरै समस्या समाधान हुने आवश्यकता औल्याए । वित्तीय क्षेत्रमा  सहकारी प्रविधिमा पछाडि परेको भन्दै तत्काल आइटी प्रविधिमा लैजान लागेको उनको भनाइ थियो । त्यसैगरी सहकारी विभागका कृषि विज्ञ विष्णु घिमिरेले सहकारीमा १ खर्ब ४७ अर्ब बचत जम्मा भए पनि सुरक्षित गर्न चुनौती रहेको बताए । आइटी प्रविधि सेवा सुरु गरेपछि सहकारी बचत सुरक्षित गर्न सकिनेमा उनले जोड दिए । केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका संचालक तुलसीप्रसाद सापकोटाले सहकारी अभियानले समन्वयनात्मक भूमिका खेल्न नसकेको आरोप लगाए । सहकारी अभियानमा राजनीतिको विकृति देखा परेको भन्दै सापकोटाले सहकारीहरू उत्पादनतर्फ जानुपर्ने र सहकारी शिक्षाको विकास गर्न विद्यालय तथा क्याम्पस स्तरमा सहकारी पाठ्यक्रम निमार्ण गरिनुपर्नेमा जोड दिए । सहकारी प्रशिक्षण केन्द्र धनगढीका प्राचार्य हरिबहादुर भट्टले सहकारीमा उत्पादन र वितरणमा ध्यान दिनुपर्ने बताए ।

सहकारीकर्मी सम्मानित
धादिङ: ५६ औँ सहकारी दिवसकै अवसर पारेर जिल्लाका तीनवटा सहकारी संस्था र तीन जना सहकारीकर्मी सम्मानित भएका छन् । जिल्लामा क्रियाशील सहकारी संस्थामध्येबाट उत्कृष्ट कार्य गर्ने सानाकिसान कृषि सहकारी संस्था कल्लेरी, कालीदेवी महिला विकास बहुउद्देशीय सहकारी नौविसे र उज्यालो बहुउद्देशीय सहकारी सुनौलाबजार पुरस्कृत भएका छन् । त्यसैगरी नेत्रावती बचत तथा ऋण सहकारी संस्था खहरेका अध्यक्ष भुवन धरेल, भैरवी बचत तथा ऋण सहकारी संस्था धादिङबेसीका व्यवस्थापक देवनारायण लामिछाने र डिभिजन सहकारी कार्यालयका कार्यालय सहायक नारायणप्रसाद तिमिल्सिनालाई पनि सम्मान गरिएको छ । त्यस्तै बारा जिल्लामा पनि उत्कृष्ट सहकारी संस्थाहरू र सहकारी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
यसरी पुरस्कृत हुनेहरूमा जनकल्याण बचत तथा ऋण सहकारी संस्था सिमरा, कवहीगोठ सामूहिक सक्रिय बचत तथा ऋण सहकारी संस्था, सौभाग्य कृषि सहकारी, जनहित उपभोक्ता सहकारी संस्था र सहकारी कर्मचारी दिपेश खनाल सम्मानित भएका छन् ।

प्रतिक्रिया