६ साना कम्युनिस्ट पार्टीबीच एकता

काठमाडौं, १८ चैत । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले उचाइ दिने भन्दै विभिन्न ६ साना कम्युनिस्ट पार्टीबीच एकता भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार क्रान्तिकारी कम्युनिस्ट एकतालाई अघि बढाउने उनीहरूले जनाएका छन् ।

नेकपा (माले समाजवादी), नेकपा (एकीकृत), नेकपा
(संयुक्त माक्र्सवादी), माक्र्सवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माले विद्रोही समूह र अग्रगामी विचार समूह नामक पार्टीबीच शनिबार एकता भएको हो । पुनर्गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको छ ।
नवगठित पार्टीको अध्यक्षमा ऋषि कट्टेल, प्रथम सहअध्यक्षमा जगतबहादुर बोगटी र द्वितीय सह–अध्यक्षमा लोकनारायण सुवेदी चयन भएका छन् । त्यस्तै, उपाध्यक्षहरूमा टंक राई, रामबहादुर भण्डारी, हरिदेव ज्ञवाली, यदुवंश झा रहेका छन् । महासचिवमा तिलकबहादुर थापा मगर र सचिवमा शरणबिक्रम मल्ललाई चयन गरिएको छ । सबै पार्टीका पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रियपरिषद्का सदस्यहरूलाई नयाँ पार्टीमा पनि यथावत राख्ने अन्तरिम व्यवस्था गरिएको छ ।
पार्टी एकता कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कट्टेलले कम्युनिस्ट आन्दोलनमा आएको विकृति र विसंगतिका कारण एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्ने अवस्था आएको बताए । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि कम्युनिस्टहरू एक भई नयाँ जनवादी क्रान्ति गर्नुपर्ने उनको भनाइ थियो । सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई जनवादी क्रान्तिमा गोलबन्द हुन उनले आह्वान गरे । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिवस १५ सेप्टेम्बर १९४९ लाई मानेको छ ।

प्रतिक्रिया