नेपालको भाग्यमाथि ब्ल्याक होलको दुश्चक्र

Bhaअहिले ८० वर्ष उमेरका अरविन्द रिमाल ००७ सालको क्रान्तिताका १७ वर्षका नौजवान थिए । ००४ सालको जयतु संस्कृतम् तथा त्रि–चन्द्र कलेज आन्दोलन हुँदाका प्रत्यक्षदर्शी तथा आन्दोलनका सहभागीमध्ये एक उनी त्यसबेलाका राणाशाहीविरोधी आन्दोलनको फेहरिस्त बताउँदै गर्दा अहिले पनि उत्तिकै जवान छन् कि जस्तो लाग्छ । ००७ सालदेखि आजसम्मको करिब ६२ वर्षका दौरान नेपाली राजनीतिक रंगमञ्चमा व्यवस्था परिवर्तनकै नाममा धेरै उथलपुथल भएको तर स्थायित्व दिन भने नेपाली राजनीतिक नेतृत्व चुक्दै आएको घटनालाई नेतृत्वकर्ताको दूरदर्शिता र देशभक्तिपूर्ण त्यागको अभाव भनी टिप्पणी गर्छन् । ००७ सालको क्रान्तिको एउटा उचाइलाई १९९७ देखिको निरन्तर संघर्षको परिणाम ठान्छन् उनी ।

संविधानसभाको आजको नियोजितजस्तै लाग्ने विघटन हिजो त्रिभुवनले घोषणा गरेदेखि डा. केआई सिंहले गरेको फौजी विद्रोहको एउटा माग र पुष्पलालले पनि ‘नेकांको विरोध गर्नुसट्टा संविधानसभाको मागलाई उठाउनुपर्ने थियो’ भन्ने स्वीकारोक्तिसम्मका घटना सम्झन्छन् । संविधानसभा बारम्बार यसरी कुचक्रमा पर्नुमा नेपालीका भाग्यपछाडि रहेको ‘ब्ल्याक होल’को इन्ट्रेस्ट र आफ्नो अठोटबाट भन्दा कसैको इसारामा चल्ने नेपाली नेतृत्वको पुरानो रोगको संज्ञा दिने रिमाल आफूले देखेको क्रान्तिबारे यसरी गफिन्छन् :
मैले ००४ सालमा म्याट्रिक पास गरिसकेको थिएँ । आयुर्वेद पढी कविराज बन्ने मेरा पिताजीको भावनाअनुरूप म कोलकाता गएँ । कोलकाताबाट फर्केपछि बुबाले भन्नुभयो– कविराज पढ्न गएको छोरो कम्युनिस्ट पढेर आएछ । म यसरी परिवर्तन हुनुमा नेपालमा सुरु भइसकेको परिवर्तनको लहर र कोलकातामा पुष्पलालसँगको भेट थियो । मेरो विचारमा पुष्पलालमा त्यो राजनेतामा हुनुपर्ने करिस्मा थियो, जसले मनभरि/विचारभरि भावी नेपालको खाका बोकेर हिँड्नुभएको थियो

सन् १९५९ मा ल्याटिन अमेरिकी मुलुकका चेले क्रान्तिको जस्तो ‘करिस्मेटिक’ चार्म छाड्न सकेका थिए, त्यो क्षमता दश वर्षअघि नै नेपालमा पुष्पलालमा विकसित भइसकेको म पाउँथेँ । मात्र के हो भने समयले भनुँ कि अन्य कारण (नेपालका त्यतिबेलाका कम्युनिस्टले पनि त्यो कुरा बुझ्न सकेनन्) ले, उनको त्यो क्षमता बाहिर त्यति प्रचार हुन पाएन ।
त्यति बेला कांग्रेसी, स्वयं बिपीले ‘टोटालिटेरियन’ भनी एन्टी कम्युनिस्ट धारको नेतृत्व गर्ने र कम्युनिस्ट दललाई प्रतिबन्ध गर्नेजस्ता कमजोरी गरे । टंकप्रसाद आचार्य मात्र नेपाली लिडरहरूमा त्यस्ता एक राजनेता हुन् जसले नेपालमा दुवै राजनीतिक शक्तिको महत्त्व बुझ्नुभएको थियो । समयमै कांग्रेसी र कम्युनिस्टले हामी नेपाल निर्माणकै शक्ति हौँ भनेर नबुझ्नु पनि नेपाली प्रजातन्त्रको दीर्घकालीन दुर्गतिको कारण बनेको हो ।

त्यही साल असार १ गतेदेखि तीनधारा पाकशालाका विद्यार्थीले आधुनिक विषय पठनपाठनको समेत माग गरी जयतु संस्कृतम् आन्दोलनको घोषणा गरे । नेपालमा पहिलोपटक यिनै विद्यार्थीले ‘धर्ना दिने’ र ‘सत्याग्रह’ जस्ता बिल्कुलै नयाँ विधिको प्रयोग गरेर आन्दोलनमा नयाँपन र विलक्षणता प्रस्तुत गरिदिएका थिए । केही महिनापछि ००४ सालमै त्रि–चन्द्र कलेजका विद्यार्थीले पनि आन्दोलनको आँधी उठ्ने गरी तरंग ल्याइदिए, ऐतिहासिक छात्र–हडताल सञ्चालन गरेर । यी हडतालमा सरिक हुने विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, त्रिपुरवरसिंह प्रधान, होराप्रसाद जोशी, तिलकराज शाही, भुवनलाल जोशी, कृष्णप्रसाद रिमाल, ध्रुवलाल जोशीजस्ता र्‍याडिकल विद्यार्थीका क्रान्तिकारी गुरु भने गोपालप्रसाद रिमाल हुनुहुन्थ्यो । यो बेला आन्दोलन जारी नै थियो । आन्दोलनकारीहरू पटकपटक कलेजका प्लेकार्ड बोकेर जुलुससहित राणा प्रधानमन्त्रीको निवास विशालनगरसम्म पनि पुग्थ्यौँ । जुलुस तितरबितर गर्न पुलिसले लाठी चार्ज गथ्र्याे भने कहिले त कमलादी पुग्दानपुग्दै जुलुसमाथि दमकलले पानीको फोहोरा लगाउँथ्यो पनि । त्यही साल आन्दोलनकारीले नयाँ राजनीतिक संगठन ‘नेपाल प्रजा पञ्चायत’ खोलेका थिए । यस संगठनले मोहन शमशेरसँग राजनीतिक माग राखेको थियो । तर, सुनुवाइ नभएपछि दसैँको टीकाकै दिन कात्तिक ५ गतेदेखि आन्दोलनको घोषणा गर्‍यो । आन्दोलनले गति लिँदै गयो भने आन्दोलनकारी पनि दिनहुँजसो काठमाडौं, भक्तपुर र पाटनका कुनै न कुनै ठाउँबाट पक्राउ पर्ने क्रम जारी थियो । उपत्यकाका तीनै सहरमा आमसभा हुन्थे । जहाँ म र चन्द्रधर उप्रेती पुग्ने गथ्र्यौं । १९९७ देखिको लामो संघर्षको परिणाम ००७ को क्रान्ति थियो, जसलाई हामीले यो पुस्तासम्म आइपुग्दा पनि संरक्षण गर्न र नयाँ उचाइमा लान सकेका छैनौँ ।
त्यसताका बिपी कोइराला र केदारमान व्यथित भूमिगत रूपमा डिल्लीबजारस्थित सूर्यबहादुर बस्नेतको घरबाट भोटाहिटीस्थित त्रिरत्न तुलाधरको घरमा बस्न थाल्नुभएको थियो । उहाँ पनि पक्राउ पर्नुभयो । त्यसपछि आन्दोलनले झनै गति समात्यो ।

त्यसताका प्रजा पञ्चायतले नेपाली राष्ट्रिय कांग्रेसको शाखाकै रूपमा काम गरेको थियो । प्रजापरिषद्का नेताहरू जेलमा हुनु र ००३ सालअघि बिपी र डिल्लीरमण रेग्मी बनारसमै हुँदा दुवैको सहमतिबाट प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको सम्मानक अध्यक्ष चुनेका थिए । आचार्यलाई यसरी चुन्नुमा गणेशमान सिंह र केदारमान व्यथितको भूमिका थियो । यो एउटा बुद्धिमत्तापूर्ण तरिका थियो, जसले काठमाडौं चारभन्ज्याङभित्रका नेताकार्यकर्ता र बामपन्थी समेतमा बाहिरी झगडाको कुनै असर पर्न दिएको थिएन । नेपालका नेतामध्ये टंकप्रसाद आचार्य मात्रै त्यस्ता नेता हुनुहुन्छ, जसले शीतयुद्धकालीन दुई ध्रुवीय प्रभावबाट बचेर प्रजातान्त्रिक तथा साम्यवादी दुवै राजनीतिक शक्तिलाई नेपाली मौलिकताअनुरूप एकै छातामा गोलबद्ध गर्ने र प्राप्त उपलब्धिलाई संरक्षण गर्दै अघि बढ्ने धेय राख्नुहुन्थ्यो ।
विश्वक्रान्तिको याम थियो त्यो बेला । टंकप्रसादजीलाई यो कुरा राम्रै याद थियो । त्यसैले उहाँले बाम तथा कांग्रेसी शक्तिलाई एकै ठाउँ राख्ने प्रयत्न गर्नुभयो । उहाँलाई कांग्रेसीहरूले कम्युनिस्टको ‘छद्मभेष’ भन्ने आरोप पनि लगाउँथे । कांग्रेसीले उहाँको सदुद्देश्यलाई बुझ्ने प्रयासै गरेनन् । यति कि गणेशमानजीले समेत पछिल्ला दिनमा टंकप्रसादलाई टाढाको नजरले हेर्न पुग्नुभयो । सत्य त तीतो हुन्छ नै । कालान्तरमा पञ्चायती शासनविरुद्ध गणेशमानजीले कांग्रेस र कम्युनिस्टको एकताबाटै निरंकुश पञ्चायती व्यवस्था ढाल्न सकिने भन्दै एकता गर्न आए भने कम्युनिस्ट खेमाबाट पनि पुष्पलालले क्रान्तिका शक्ति एक हुन् भनेको कुरा लागू भएरै छाड्यो ।
बिपी र पुष्पलाल पनि यो कुरा बुझ्नुहुन्थ्यो । तैपनि, ००७ पछि कांग्रेसीहरूमा उन्माद आयो । कम्युनिस्टहरूले कांग्रेसलाई ‘सोसल फासिस्ट’ र कांग्रेसीले कम्युनिस्टलाई ‘टोटालिटेरियन’ भन्न थाले । नेपाली क्रान्तिको दुर्भाग्य यहीँबाट सुरु भयो । किनभने, नेपाली क्रान्तिका दुई शक्तिलाई फुटाउने र स्वार्थ लिनेहरूका लागि यो स्वर्णिम अवसर बन्न पुग्यो । विडम्बना, यो अहिलेसम्म नै जारी छ । हाम्रा क्रान्तिका यी दुई शक्ति सधैँ मिलेर अघि बढिदिएको भए नेपालको आज यो दुर्गति हुँदैनथ्यो ।

क्रान्ति एउटा ऐतिहासिक प्रक्रिया नै हो । सात सालदेखि अहिलेसम्म भएका सबै घटना मात्र होइन, पृथ्वीनारायण शाहताकाको नेपाल एकीकरण पनि नेपाली इतिहासको अनिवार्य घटना थियो । ती घटना इतिहासका अनिवार्यप्रक्रिया थिए । सात सालदेखि आजसम्मका ती हिस्टोरिकल प्रोसेसमा नेपालका राजनीतिक दलहरू सहभागी हुने, कर्ता पनि बन्ने तर अबको भावी गन्तव्य के हो र कसरी जानुपर्छ भन्नेजस्तो महत्त्वपूर्ण पाटोलाई बुझ्न नसकेकाले परिवर्तनले संस्थागत रूप लिन सकेको छैन । त्यसको मुख्य कारण देशभक्ति र इमानदारिको अभाव हो । देशभक्तिपूर्ण अगुवाइ गर्ने राजनेता जस्तै– मदन भण्डारी अथवा गणेशमानलगायतलाई या त भौतिक रूपले सिद्धयाउने या त नेतृत्वबाट पाखा लगाउने प्रवृत्ति देख्दा नेपालको भाग्यमाथि कुनै अर्काे ब्ल्याक होल छ कि (जसको इसारामा यहाँका नेताहरू घुम्ने गर्छन्) भन्ने आशंका पनि जन्मेको छ । देशभक्ति सिद्धिएको नेता हाम्रो असली नेता हुन सक्छ र ?
नेपाली राजनीतिमा खास गरी दुई शक्ति छन्– बाम र लिबरल । यिनले ०४६ सालमा जुन उद्देश्यका लागि संयुक्त आन्दोलन गरे, त्यसपछि चाहिँ संयुक्त यात्रा जारी राख्न किन सकेनन् ? प्रश्न यहीँनेर छ । जस्तै, अहिले संविधानसभा विघटन भयो । कांग्रेस, एमाले लोकतान्त्रिक एकता गरिरहेका छन् । यो राम्रो छ । तर, विडम्बना के भने हामी केका लागि एकताबद्ध भएका छौँ भन्ने आत्मबोध नै यिनीहरूलाई भएको छैन । त्यो एकता कति टाढासम्म हुन आवश्यक छ भन्ने यिनले बुझ्नुपर्छ । किनकि, यिनीहरू नै नेपालको परिवर्तनका हिजोदेखिका खास शक्ति हुन् । माओवादीले त्यो साख लिन सकेको छैन, झन् गुमाउँदै पो छ । यस्तो लाग्छ– नेपाली क्रान्ति अहिले पनि प्रतिक्रान्तिकै चपेटामा छ । जानेर वा नजानेर दलहरूले नै त्यो बाटो हिँडिरहेका छन् कि † उदाहरणका लागि कार्लमाक्र्सले समीक्षा गरेको लुई बोनापार्टको १८औँ ब्रुमायरलाई हेर्दा पुग्छ । त्यतिबेलाको लुईको नेतृत्वले प्रतिक्रान्तिको नेतृत्व गरेजस्तै नेपालको अहिलेको अवस्था मिल्दोजुल्दो देखिँदै छ । तर, त्यतिबेलाको फ्रान्सेली प्रतिक्रान्तिकारीले आफ्नो देश बन्दकी राखेको थिएन । परिवर्तनको ठूलै डिङ हाँक्नेले बोलीअनुसारको व्यवहार गरेको देखिँदैन हमीकहाँ । व्यवहार र बोलीबीच डरलाग्दो विरोधाभास पनि हामीले पाएका छौँ । तर, हाम्रा नेताहरूले त्यस्तो नगरून् ।

प्रतिक्रिया