भक्तपुरमा १९ हजारभन्दा बढी निरक्षर

भक्तपुर, १८ चैत । भक्तपुरमा १९ हजारभन्दा बढी निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ ।

शिक्षा कार्यालय भक्तपुरले सार्वजनिक गरेको तथ्यांकमा १९ हजार ९ सय ५२ जना निरक्षर रहेको पाइएको छ । सन् २०१५ सम्ममा नेपालबाट निरक्षरता उन्मूलन गर्ने लक्ष्यलाई सफल पार्न साक्षरता अभियान सञ्चालन गरिएको शिक्षा कार्यालयले जानकारी दिएको छ । भक्तपुरलाई पहिलो निरक्षरता उन्मूलन जिल्ला बनाउने लक्ष्यका साथ शिक्षा कार्यालय भक्तपुरले जिल्लाव्यापी साक्षरता अभियान थालनी गरेको छ ।
अभियानअन्तर्गत यस वर्ष कम्तीमा १३ हजार ९ सय ६६ लाई साक्षर बनाउने लक्ष्यका साथ अभियान थालनी गरिएको कार्यालयले बताएको छ । तीन महिनासम्म चल्ने अभियानका लागि जिल्लामा दुई नगरपालिका र १६ गाउँ विकास समितिका लागि ६ सय ९८ कक्षा सञ्चालन हुने भएको छ ।
चैत पहिलो साताबाट सुरु गरिएको अभियानका लागि ६ सय ९८ कक्षाका लागि ६ सय सहयोगी शिक्षक र ६० निरीक्षक व्यवस्था गरिएको छ । साक्षरता अभियान सञ्चालन गर्न सरकारले भक्तपुरका लागि ९५ लाख ७५ हजार रुपियाँ बजेटसमेत बिनियोजन गरिसकेको छ ।

प्रतिक्रिया