सम्झना सिकार

Raman-Ghimireजंगलबाट सिकारको खोजीमा निस्केको भोको बाघले
पोखरीको छेउमा चरिरहेको
निर्दोष मृगलाई लखेटेजस्तो
मानिसलाई सम्झनाले लखेट्दो रहेछ ।

भोको बाघले लखेटेपछि मृगलाई
आफ्ना पन्जाले अँठ्याएर
पहिला घाँटी फोड्छ, मार्छ अनि खान्छ
त्यसपछि मृगले सदाका लागि मोक्ष प्राप्त गर्छ
तर, सम्झनाले मानिसलाई यसरी लखेटेर मार्दैन
खालि घाइते पार्छ
चिथोर्छ– बाघले मृगलाई जस्तै चिथोर्छ
घाइते पार्छ– बाघले मृगलाई जस्तै घाइते पार्छ
तर, बाघले जस्तो एकैपटक
खाँदो रहेनछ सम्झनाले
यसले त आफ्नो सिकारलाई पटकपटक
लखेट्दो रहेछ
लाखौँ माइल पछाडिसम्म लखेट्दो रहेछ
र भाग्दाभाग्दा/भाग्नै नसकिने गरी
पछारेर बेहोस पारेपछि
दर्फर्‍याउदँदो रहेछ, चिथोर्दो रहेछ र गिजोल्दो रहेछ
तर मार्दोरहेनछ ।

ऊ छेउमा बसेर ढुकिरहन्छ
अनि मूच्र्छाबाट ब्युँझेपछि मानिसलाई
फेरि लखेट्छ, लखेटिरहन्छ
थाकेर भाउन्न भई
फेरि मूच्र्छा नपरून्जेल लखेटीनै रहन्छ ।

सम्झनाले उल्टा खुट्टा लखेट्छ
उल्टा खुट्टाले दौडेर भाग्न
कहाँ सजिलो हुन्छ र ?
विपरीत दिशातिर फर्केर भाग्नु
किचकन्नीलेजस्तो कहाँ सकिन्छ र ?

सम्झनाले विगतरूपी मीठो नशामा लठ्याएर
कोसौँ पछाडि पुर्‍याएर अचानक
पछाडिबाटै आक्रमण गर्छ
ब्वाँसोले गाई–भैँसीलाई
उनीहरूको मलद्वारमा सुम्सुम्याउँदै
विस्तारै–विस्तारै
फकाई–फकाई
आन्द्राभुँडीसम्म पन्जा घुसारेर
एकैचोटि लडाएजस्तो
सम्झनाले पनि फकाइफकाई लडाउँछ र मूच्र्छित पार्छ
र नङ्ग्य्राउँछ, चिथोर्छ
तर ब्वाँसोलेजस्तो सिकार गरेर
मानिसलाई खाँदैन सम्झनाले ।

एउटा आशक्त प्रेमीले
मस्त निद्रामा सपना देखिरहेकी प्रेमिकालाई
विस्तारै उठाएर काखमा राखी
उसको श्वास–प्रश्वाससँगै
आरोहित–अवरोहित भइरहेका अवयवहरूलाई
मुग्ध भएर एकोहारो हेरिरहेझैँ
अपलक हेरिरहन्छ सम्झनाले बेहोस मानिसलाई
तर निद्राबाट ब्युँझिएकी प्रेमिकालाई प्रेमीलेजस्तो
गम्लङ्ग अँगालो कसेर मायाको चुम्बन गर्दैन सम्झनाले
उसले त मानिसलाई ब्युँझेपछि
पछाडि नै फर्काएर फेरि लखेट्छ
लखेटि नै रहन्छ ।

यतिखेर म
यस्तै सम्झनाको सिकार भएको छु
यसलाई छक्याउन म
जतिजति अघि दौडिने प्रयत्न गर्छु
गौँडागौँडा, गल्लीगल्ली र चोकचोकमा ढुकेर मलाई
निरन्तर/अविराम
लखेटि नै रहेको छ सम्झनाले ।

म यतिखेर युद्ध हारेको
आत्मसमर्पित सेनापति जस्तो भएको छु
अब ममा न भाग्ने शक्ति र आँट छ
न कतै उम्केर लुक्ने ठाउँ नै छ
नियति †
दर्फरिँदै, घाइते हुँदै
पटकपटक मुच्र्छा पर्दै
फेरि ब्युँझे पनि
अब त
चोक, गल्ली र गल्छेँडाहरूमा लुकेर
सिकार खेल्न ढुकेर बसेको
सम्झनाको एक्कासि आक्रमणले
विद्रहीहरूले
फेरि उठ्न नसक्ने गरी
ढालेको सालिकजस्तो
म प्रतिपल ढलिरहेछु
निस्सहाय र निरीह ढलिरहेछु ।
सालिक र ममा यति फरक छ
सालिक एकपटक ढालेपछि
विद्रोहीहरूले चौबाटोमा घिसार्दै
चूर्णचूर्ण हुने गरी ध्वस्त पार्छन्
र फेरि ठढ्याउन नमिल्ने यरी कुरुप पारेर छाड्छन्
तर मलाई सम्झनाले
कसैले नदेख्ने गरी लुकेर एकान्तमा
बारम्बार पछारिरहन्छ, बारम्बार घात गरिरहन्छ
र बारम्बार मारिरहन्छ ।

प्रतिक्रिया