राम्रो काम गर्नेको सरुवा गरिन्न : स्वास्थ्यमन्त्री

काठमाडौं, १७ चैत । स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले राम्रो कार्यसम्पादन गर्ने कर्मचारीको सरुवा नगर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएपछि पहिलोपटक शुक्रबार स्वास्थ्य सेवा विभाग पुगेका उनले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने बताएका छन् ।

तर, नराम्रो गर्ने र अन्यत्रबाट कामबारे गुनासो आएमा भने आफूले कसैलाई छुट नदिने चेतावनी पनि मन्त्री मल्लिकले दिए । उनले देशभर वितरण हुने खोप भण्डारणको गुणस्तरको विषयमा चासो व्यक्त गरे । देशभर वितरण भइरहेका विभिन्न रोग निवारणका खोपकेन्द्रदेखि जिल्लास्तरसम्म के–कसरी भण्डारण
हुन्छ भन्ने विषयमा जानकारी लिएका हुन् ।
‘सरकारले नि:शुल्क वितरण गरिरहेको खोप भण्डारण गर्ने कोल्ड चेनको अवस्था केन्द्रदेखि जिल्लासम्म के–कस्तो रहेको छ ?’ आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीसँग मन्त्री मल्लिकले सोधे, ‘कोल्ड चेन नमिल्दा खोप बिग्रने समस्या धेरै छन् भन्ने गुनासो छ के हो ?’ मन्त्री मल्लिकको जिज्ञासा निर्देशक डा. केसीले मेटाएका थिए । दुर्गम क्षेत्रमा खोप ढुवानी गर्दा भने समस्या आउने गरेको उनले विभागीय मन्त्रीलाई जानकारी गराए ।
मन्त्री मल्लिकले विभागबाट हुने अन्य कामबारे पनि विस्तृत जानकारी मागेको स्वास्थ्यकर्मी संघका महासचिव ओम उपाध्यायले बताए । उनका अनुसारमा मन्त्री मल्लिकले नि:शुल्क स्वास्थ्य, परिवार स्वास्थ्य, एचआइभी एड्सलगायत विषयमा बढी चासो राखेका थिए ।

प्रतिक्रिया