राजस्व संकलन ४६ प्रतिशतले बढ्यो

काठमाडौं, १६ चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २३ अर्ब ३७ करोड ८९ लाख रुपियाँ राजस्व संकलन भएको छ । सो अवधिमा कर राजस्वबापत १८ अर्ब ८६ करोड ७५ लाख रुपियाँ र गैरकरतर्फ ४ अर्ब ५१ करोड १४ लाख रुपियाँ गरी कुल २३ अर्ब ३७ करोड ८९ लाख रुपियाँ संकलन भएको हो । गत आवको तुलनामा यो ४६ दशमलब १३ प्रतिशत बढी हो ।

गत आवको फागुनमा मूल्य अभिवृद्धि कर ५ अर्ब ८४ करोड ७९ लाख संकलन भएकोमा यस वर्षको सोही अवधिमा ६ अर्ब ६५ करोड ७२ लाख संकलन भई वृद्धि दर १३ दशमलव ८४ प्रतिशत भएको छ । यसैगरी भन्सार महसुलतर्फ गत आर्थिक वर्षको फागुन महिनामा ३ अर्ब ३० करोड १२ लाख संकलन भएकोमा चालु आवको यस महिनामा ५ अर्ब ४ करोड ६ लाख संकलन भई वृद्धि दर ५२ दशमलव ६९ प्रतिशत रहेको छ । अन्त:शुल्कतर्फ गत आवको फागुनमा २ अर्ब ४३ करोड ११ लाख संकलन भएकोमा अहिले ३ अर्ब १७ करोड ४ लाख संकलन भई वृद्धि दर ३० दशमलव ४१ प्रतिशत रहेको छ ।
आयकरतर्फ गत आवको फागुनमा १ अर्ब ५२ करोड ७१ लाख संकलन भएकोमा चालु आबको सोही महिनामा २ अर्ब ३७ करोड ५९ लाख संकलन भई वृद्धिदर ५५ दशमलव ५८ प्रतिशत रहेको छ । त्यसैगरी, गत आवको फागुनमा रजिस्ट्रेसन दस्तुर र सवारीसाधन कर ७४ करोड ८८ लाख संकलन भएकोमा चालु आवको सोही अवधिमा १ अर्ब २ करोड संकलन भएको छ ।
राजस्व असुलीको संयोजनमा केही सुधार भएको छ । विगतमा भन्सार महसुलको योगदान अन्य राजस्वको योगदानभन्दा अधिक रहने गरेको भए पनि केही वर्षदेखि आयकरको योगदान बढ्दै गएको छ । फागुन महिनासम्मको अवस्थालाई विश्लेषण गर्दा पनि मूल्य अभिवृद्धि करको योगदान ३० प्रतिशत रहेको छ भने आयकरको योगदान २१ प्रतिशत रहेको छ । भन्सार महसुलको अंश २० प्रतिशत, अन्त:शुल्कको अंश १३ प्रतिशत र गैरकरको अंश १२ प्रतिशत रहेको छ । आयातमा निर्भर रहेको राजस्वको संरचनामा केही परिवर्तन भई आन्तरिक स्रोत परिचालनमा प्रभावकारिता आएको देखिन्छ ।
गत आर्थिक वर्षको फागुनको भन्सार महसुल २६ अर्ब १० करोड ८० लाखमा ४० प्रतिशतको वृद्धि भई समीक्षा अवधिसम्म ३६ अर्ब ४६ करोड १४ लाख रुपियाँ संकलन भएको छ । यसैगरी, मूल्य अभिवृद्धि कर गत आवको तुलनामा १६ दशमलव ९७ प्रतिशतले वृद्धि भई ५३ अर्ब ४९ करोड २९ लाख रुपियाँ संकलन भएको छ । गत आवको १९ अर्ब २८ करोड २ लाख संकलन भएको अन्त:शुल्क चालु आवको समीक्षा अवधिमा १९ दशमलव ७२ प्रतिशतको वृद्धि भई २३ अर्ब ८ करोड १६ लाख भएको छ ।
अर्थसचिव शान्तराज सुवेदीले हालसम्मको राजस्व संकलन सन्तोषजनक रहेको भए पनि आन्तरिक राजस्व विभागले संकलन गर्ने मूल्य अभिवृद्धि कर र अन्त:शुल्क लक्ष्यअनुरूप संकलन हुन नसकेको, घरबहाल कर, ब्याज कर र अग्रिम करकट्टीको अनुगमन गर्न, मूल्य अभिवृद्धि करको विवरण पेस नगर्ने, क्रेडिट विवरण पेस गर्ने र शून्य विवरण पेस गर्न निर्देशन दिए । व्यावसायिक क्षेत्रमा भएका परिवर्तनसँगै राजस्व चुहावटका क्षेत्रमा समेत परिवर्तन आउनसक्ने भएकाले राजस्व अनुसन्धान विभागले अनुसन्धानको पद्धतिमा सोअनुरूप परिवर्तन गर्ने र निगरानीका क्षेत्र विस्तार गर्नुको साथै अनुसन्धान सम्पन्न गर्न बाँकी रहेका पुराना केसहरूलाई प्राथमिकतामा राखी टुंगो लगाउन पनि अर्थ सचिवले निर्देशन दिए । राजस्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले राजस्व संकलनको समग्र प्रवृत्तिको विश्लेषण गर्दै फलफूल तथा खाद्यान्नको आयातले समेत व्यापार घाटा वृद्धिमा दबाब परेको हुनाले खाद्यान्नमा आत्मनिर्भर हुने गरी कृषि उत्पादनमा वृद्धि गर्न लक्षित हुनुपर्ने, मूल्य अभिवृद्धि हुने चियाकफीजस्ता वस्तुको निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए ।

प्रतिक्रिया