३५ दिनमा ९५ बन्दुक संकलन

Bandukबाग्लुङ, १६ चैत । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ३५ दिनमा करिब एक सय थान अवैध हतियार संकलन भएको छ ।

सहज कानुनी वातावरण बनेपछि अवैध हतियार प्रयोगकर्ताले प्रहरीलाई बुझाएका हुन् । प्रहरीले १० फागुनमा ३५ दिने सूचना जारी गरेपछि हालसम्म ९५ थान बन्दुक संकलन भएको कार्यालयले जनाएको छ ।
हतियार बुझाउने क्रम जारी रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले ३० चैतसम्म म्याद थप गरेको डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । डिएसपी मरासिनीका अनुसार कार्यालयमा बुझाइएका तीन नाल बाह्रबोर बन्दुकसहित सबै हतियार चालु अवस्थाका हुन् ।
वन्यजन्तु तथा पक्षीको चोरी सिकारी नियन्त्रण गरी म्याग्दीलाई अवैध हतियारमुक्त जिल्ला बनाउने तयारी र भयरहित वातावरणमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अवैध हतियार संकलन गर्ने अभियान चलाइएको हो । गुर्जा, पाखापानी, राखु, घार, दाना, मराङ, भुरुङ तातोपानी, बाबियाचौरलगायत गाविसका स्थानीयले आफैँले हतियार बुझाएको डिएसपी मरासिनीले बताए । निर्धारित समयभित्र हतियार बुझाउनेलाई कारबाही नगर्ने सूचना जारी भएपछि अवैध हतियार बुझाउन सहज भएको हो ।
अटेर गरेर अवैध हतियार राख्नेलाई नियमअनुसार एक लाख रुपियाँ जरिवानासँगै ५ वर्ष जेल सजाय हुने व्यवस्था छ । मुदीमा रहेका अवैध हतियार स्थानीयले बुझाउन चाहे पनि ल्याउन नपाएकाले म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
वन्यजन्तुको चोरीसिकारी तथा आपराधिक घटनामा बन्दुकलगायत हतियारको प्रयोग हुने गरेको जनगुनासो रहँदै आएको थियो । म्याग्दीमा एकथान जर्मनी पेस्तोलसहित भरुवा बन्दुकलगायत ८२ थान इजाजत प्राप्त हतियार रहेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया