डिस्चार्ज भए पारस

Paras-Shahaकाठमाडौं, १६ चैत । हृदयाघात भएर बैंककस्थित अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह झन्डै डेढ महिनापछि ‘डिस्चार्ज’ भएका छन् । ‘गम्भीर’ अवस्थामा पुगेका उनको स्वास्थ्य अवस्थामा ‘चामत्कारिक’ सुधार आएको थियो ।

काठमाडौंमा रहेको परिवारसित सम्पर्क विच्छेद गर्दै करिब दुई वर्षदेखि बैंककमा बस्दै आएका पूर्वयुवराज पारस हृदयाघात भएपछि ३८ दिनअघि स्थानीय समितिवेज अस्पतालमा भर्ना गरिएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालले बिहीबार उनलाई डिस्चार्ज गरेको हो ।
अस्पतालबाट डिस्चार्ज भए पनि एक महिनासम्म पारसले चिकित्सकहरूको निगरानीमै बस्नुपर्नेछ । त्यसैले उनी तत्काल नेपाल भने आउने छैनन् । ‘उहाँ अझै पूर्णरूपमा ठीक भइसक्नुभएको छैन, अस्पतालले अझै एक महिना चिकित्सकको निगरानीमै राख्नुपर्ने भनी डिस्चार्ज गरेको छ,’ बैंककमा पारससँगै बस्दै आएका एनआरएन थाइल्यान्डका सचिव सुनील खड्काले भने । पूर्णरूपमा निको भएपछि पारस नेपाल फर्किने उनले बताए ।
गत ८ फागुनमा हृदयाघातका कारण अचेत भएपछि पूर्वयुवराज पारसलाई उपचारका लागि समितिवेज अस्पताल भर्ना गरिएको थियो । खड्काकी श्रीमती र पारसकी थाई प्रेमिका कन्निका चाइसानले उनलाई अस्पताल पुर्‍याएका थिए । अहिलेसम्म उनको उपचारमा सवा करोडभन्दा बढी खर्च भइसकेको स्रोतले जनाएको छ । बैंकक पुगेर सबै खर्च पूर्वराजा ज्ञानेन्द्र शाहले नै व्यहोरेको स्रोतको भनाइ छ । ‘उपचारका क्रममा सुरुमा भएका केही साधारण खर्चबाहेक सबै खर्च उहाँकै परिवारले व्यहोरेको छ,’ दरबारनिकट स्रोतले सौर्यसँग भन्यो ।
अस्पताल भर्ना गरिँदा बेहोस रहेका पारसको ११ दिनपछि १९ फागुनमा होस खुलेको थियो । हृदयाघातका कारण बन्द भएको उनको मुटुको भल्भ चिकित्सकहरूले ९ फागुनको बिहान खोलेका थिए । अचेत अवस्थामै रहेका पारसको उपचार प्रक्रिया अगाडि बढाउन अस्पतालले दुईपटक सिटिस्क्यान गरेको थियो ।
अस्पताल भर्ना भएको ११ दिनपछि होस खुलेका पारसले मान्छे चिन्न थाले पनि बोल्न भने सकेका थिएनन् । त्यसको दुई दिनपछि मात्रै उनले बोल्न र पानी पिउन थालेका थिए । स्वास्थ्यमा क्रमश: सुधार हुँदै गएपछि अस्पतालले उनलाई १ चैतमा जेनरल वार्डमा सारेको थियो ।
उपचारकै क्रममा १२ फागुनमा पारसको पेटमा आन्तरिक रक्तस्राव भएपछि अवस्था झन् जटिल बन्दै गएको थियो । अवस्था गम्भीर बन्दै गएको र होस पनि नखुलेको खबर आइरहेपछि एमाओवादी अध्यक्षपुत्र प्रकाश दाहालले पारसको मृत्युको हल्ला फैलाएका थिए ।
अस्पताल भर्ना गरिएको ८ दिनसम्म पनि छोराको होस नआएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल पारसका छोराछोरीसहित १६ फागुनमा थाइल्यान्ड गएका थिए । त्यसको पाँच दिनपछि पारसपत्नी हिमानी पनि थाइल्यान्ड पुगेकी थिइन् । पारस बिरामी भएको खबर पाएलगत्तै थाइल्यान्ड जाने तयारीमा रहेकी हिमानी अकस्मात् छोरीको एपेन्डिसाइटको अप्रेसन गर्नुपर्ने भएपछि रोकिएकी थिइन् । छोराको स्वास्थ्यमा सुधार आएपछि आमा कोमल नेपाल फर्किसकेकी छन् भने पूर्वराजा ज्ञानेन्द्र र हिमानी उतै बसेका छन् । सचिव खड्काका अनुसार उनीहरू अर्को साता नेपाल फर्कने तयारीमा छन् ।

प्रतिक्रिया