भारतीय कम्पनीको विद्युत् अनुमतिपत्र खारेज

काठमाडौं, १५ चैत । वृद्धि भएको जलविद्युत् आयोजनाको दस्तुर नतिरेको र प्रगति प्रतिवेदन नबुझाएको भन्दै ऊर्जा मन्त्रालयले भारतीय कम्पनीको लगानीमा निर्माण गर्न लागिएको चैनपुर सेतीनदी जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । खारेज लाइसेन्स सरकारको बास्केट फन्डमा राखिएको विद्युत् विकास विभागले जनाएको छ ।

बझाङको चैनपुर सेती नदीमा भारतीय कम्पनी जिन्दाल पावर लिमिटेडले निर्माण गर्न लागेको ४ सय ५४ मेगावाटको जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिएको विद्युत् विकास विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्थले जानकारी दिए । बढेको नवीकरणीय दस्तुरको वृद्धि अनुसार नवीकरण गर्न तथा पछिल्ला प्रगति प्रतिवेदनहरू बुझाउनका लागि पटकपटक ताकेता गर्दा पनि नगरेको भन्दै ऊर्जा सचिव स्तरीय बैठकले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।
गत माघमा जलविद्युत्को अनुमतिपत्रको दस्तुर वृद्धि भएपछि खारेज गरिएको यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । करिब ६५ अर्बको लागतमा उक्त आयोजना नेपालमा निर्माण हुन लागेको थियो भने आयोजनाले अध्ययनका काम अघि बढाएको थियो । ‘नेपालले प्रसारण लाइन बनाउन नसक्ने र विभिन्न वाधा, अवरोध आउन नसकेपछि अनुमतिपत्र नवीकरण गर्न नआएको हुन सक्छ ।’ विभागका एक अधिकारीले भने, ‘नत्र त्यति ठूलो आयोजना बनाउनका लागि आएको भारतीय कम्पनीले पटकपटक विभागले पत्र पठाउँदा पनि बेवास्ता गर्ने थिएन ।’
विभागका अनुसार, जलविद्युत्को अनुमतिपत्र दस्तुर वृद्धि भएपछि मात्र करिब १४ सय मेगावाट बराबरका ३९ जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज भइसकेको छ । ती आयोजनामध्ये अधिकांश वृद्धि भएको नवीकरणीय दस्तुर नतिरेकै कारणले खारेज भएका हुन् । यसअघि विभागले एक हजार साना जलविद्युत् आयोजनासँग बढेको दस्तुर र प्रगति विवरणसमेत मागिसकेको छ । जलविद्युत् आयोजनाहरूलाई खोलामा झोला राख्ने प्रवृत्ति बढी भएकोले ओगट्नेबाट वास्तविक जलविद्युत् आयोजना बनाउनेहरूलाई अनुमतिपत्र दिनका लागि र ओगट्ने प्रवृत्तिलाई निरुत्साहित बनाउने उद्देश्यले भटाभट अनुमति खारेजी सुरु गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
चुनावी मन्त्रीद्वारा सरुवा
काठमाडौं : चुनावी सरकारका ऊर्जा मन्त्री उमाकान्त झाले ऊर्जा मन्त्रालयमा सरुवा गरेका छन् । मन्त्री झाले मन्त्रालयका वैदेशिक समन्वय तथा नीति महाशाखा प्रमुख एवं सह–सचिव सुनील मल्ललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ भने उक्त स्थानमा विद्युत् विकास विभागका केशवध्वज अधिकारीलाई ल्याइएको छ । त्यसैगरी मन्त्रालयले आयोगका डा. सञ्चय शर्मालाई विभागको उपमहानिर्देशकमा सरुवा गरेको छ ।
त्यसैगरी ऊर्जा मन्त्रालयका मोतिबहादुर कुँवरलाई पञ्चेश्वर आयोजना र मन्त्रालयकै प्रवीण अर्याललाई सप्तकोसी आयोजना प्रमुख बनाइएको छ । ‘चुनावी सरकारका मन्त्रीले आफूखुसी सरुवा गर्न थालेका छन् ।’ –मन्त्रालयका एक अधिकारीले भने, ‘मल्ल सरकार कानुनभन्दा विपरीत जानु हुन्न भन्ने कडा मिजासकै भएकोले सरुवा गरिएको हुन सक्छ, यसले राम्रो संकेत गर्दैन ।’

प्रतिक्रिया