बच्चा कोरल्न दक्षिणका पाहुना चरा नेपालमा

Chestnut-headed-Bee-eaterकाठमाडौं, १४ चैत । गर्मी सुरु भएसँगै दक्षिणी देशबाट ग्रिष्मकालीन आगन्तुक पाहुना चरा नेपाल भित्रिने क्रम सुरु भएको छ । जाडोयाम सकिएर गर्मी चढ्ने बेला दक्षिणी मुलुकबाट ३० देखि ४० प्रजातिका हजारौँ चरा हरेक वर्ष बच्चा कोरल्न नेपाल आउने गर्छन् ।

ग्रिष्मकालीन आगन्तुक चरामध्ये सबैभन्दा पहिले नेपाल आउने कटुसटाउके मुरली (चेसनट हेडेड बी इटर) को स–सानो बथान यो वर्ष पहिलोपटक गत २ मार्चमा सौराहामा देखा परेको चराविद् डा. हेमसागर बरालले बताए । ‘फेब्रुअरी अन्तिमतिर नेपालका सिमसारमा आइसक्ने कटुसटाउके मुरलीको बथान सौराहामा देखा परिसकेको छ, यो ग्रिष्मकालीन पाहुना चरा आउन सुरु भएको संकेत हो,’ डा. बरालले सोमबार सौर्यसँग भने, ‘मेसम्ममा सबै आइपुग्छन् ।’
बरालका अनुसार नेपालमा गर्मीयाम सुरु भएपछि बच्चा कोरल्न सजिलो हुने र दिन लम्बिँदै गएकाले धेरै समय आहारा खान पाइने लोभले आगन्तुक चरा नेपाल भित्रिने गर्छन् ।
जाडो र गर्मी दुवै याम आगन्तुक चराले भ्रमण गरिरहने राम्रो ठाउँ मानिने नेपालमा अहिले भित्रिने करिब ४० प्रजातिका चरा बच्चा कोरल्नकै लागि आउने गर्छन् । नजिकमा भारत र टाढामा दक्षिण अफ्रिकाबाट पाँच हजार किलोमिटरसम्मको दूरी पार गरेर आउने चरा बच्चा हुर्काएर अक्टोबरसम्ममा आºनै वासस्थान फर्कन्छन् । दक्षिणी मुलुकमा गर्मीयाममा रात र दिन उस्तै समयको हुने र खाद्यान्नका लागि धेरै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले चराहरू नियमित रूपमा गर्मीसँगै नेपाल भित्रिने गर्छन् ।
४० प्रजातिका ग्रिष्मकालीन आगन्तुक चरामा आधाभन्दा धेरै कोइलीको प्रजाति हुने र प्राय: कोइली आफूले गुँड नबनाउने प्रकृतिको हुने गरेको बरालको भनाइ छ । ‘काफल पाक्यो कोइलीले चिरबिरे चराको गुँडमा र को–हो को–हो कोइलीले कागको गुडमा फूल पारेर छाडिदिन्छन्,’ उनले भने, ‘अरू चराले आºनो भन्ठानेर कोरल्छन्, ठूलो भएर बच्चा कोइलीकै समूहमा जान्छ, धेरैजसोले त्यसैगरी बच्चा कोरल्छन् ।’
यसो गर्दा दुईदेखि चार साता ओथारो बसेपछि निस्कने बचेरा करिब चार सातामा आफैँ उड्न सक्ने हुन्छन् । ६ महिना नेपाल बसेर फर्कने पाहुना चरा थपिएका बच्चासहित आ–आºनो देश फर्कंदा ठूलो बथान हुने गर्छ ।
कोइलीबाहेक अरू चरा आफँै गुँड बनाएर बच्चा कोरल्ने र दिनभर लामो समयसम्म आहारको जोहो गर्ने गरेको उनले बताए । ग्रिष्मकालीन आगन्तुक चरा भित्रिन सुरु भएसँगै उत्तरी मुलुकबाट न्यानोको खोजीमा जाडोयाम सुरु हुनासाथ नेपाल भित्रिने चरा फर्कने क्रम पनि सुरु भएको चराविद्ले बताए । हिउँद लाग्नासाथ साइबेरिया, मंगोलिया, उत्तर कोरिया, रसिया, चीनलगायत उत्तरी र कतिपय युरोपेली मुलुकबाट झन्डै डेढ सय प्रजातिका आगन्तुक चरा जाडो छल्न नेपाल भित्रिने गर्छन् ।

प्रतिक्रिया