औलो नियन्त्रणको तयारी

काठमाडौं, १४ चैत । गर्मी मौसम सुरु भए लगत्तै तराईका जिल्लामा औलो रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औलो नियन्त्रणको तयारी थालेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा यति बेला औलोको जोखिमलाई कम गर्न आवश्यक सम्पूर्ण पूर्व तयारीमा जुटिरहेको छ । महाशाखा प्रमुख डा. जिडी ठाकुरका अनुसार जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ ।
‘लामखुट्टेको टोकाइका कारण हुने औलोको जोखिम देखिन थालेको छ’ डा. ठाकुरले भने, ‘त्यसकारण हामी जोखिम कम गर्नका लागि तयारीमा व्यस्त भएका छौँ ।’ महाशाखासँगै तराईका जिल्ला जनस्वास्थ्य कार्यालयहरू समेत औलो नियन्त्रणको तयारीमा जुटेको उनले बताए । डा. ठाकुरका अनुसार तराईका सम्पूर्ण जिल्ला र केही पहाडी जिल्ला गरी देशभरका ३१ जिल्लामा औलो रोग नियन्त्रणका लागि तयारी भइरहेको छ ।
गर्मीसँगै औलो देखिने हुँदा विगतका तुलनामा कम जोखिम होस् र सम्भावित प्रकोपलाई ध्यानमा राख्दै विभिन्न आवश्यक पूर्व तयारी पूरा गर्दै रोग रोकथामका लागि थप तयारी गरिरहेको डा. ठाकुरले जनाए । सरकारले औलो रोगको उच्च जोखिममा रहेका देशभरका ३१ जिल्लामा रोग फैलन नदिन गर्मी सुरु भए लगत्तै झुल वितरण गर्नेदेखि कीटनासक औषधि छर्कनेसम्मका कार्यक्रमहरू सुरु गरिसकेको छ ।
महाशाखाले औलोको खतरा तराईका जिल्लामा र केही पहाडी जिल्लमा बढी रहेकाले त्यहाँको जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालहरू तथा चिकित्सकदेखि स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारीलाई तयारी पूरा गर्न र सम्भावित जोखिमको न्यूनीकरणमा लाग्न निर्देशन दिइसकेको छ । डा. ठाकुरले ती जिल्लामा कीटनाशक औषधि, झुल र अन्य आवश्यक सम्पूर्ण सामग्रीहरू पर्याप्त मात्रामा पुर्‍याउने कार्य भइरहेको बताए ।
औलो नियन्त्रण गर्न सरकारले दुई वर्षअघि बनाएको ‘नेपाल औलो रणनीति योजना’ अनुसार नै कार्यक्रमहरू सञ्चालन गरेको महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार विश्व स्वास्थ्य संगठनले गरेको राष्ट्रिय औलो नियन्त्रण कार्यक्रमको सुझावअनुसार सन् २०११ देखि २०१६ सम्मको रणनीतिक योजना तयार पारी औलो नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

प्रतिक्रिया