लघु जलविद्युत्ले विकट गाउँमा व्यवसाय

Baglungकाठमाडौ, १४ चैत । बाग्लुङ जिल्लाको विकट खरवाङ गाउँमा थरवाङ चिउरी सामुदायिक साबुन उद्योग सञ्चालन भएको छ ।
गिरिङ्दी खोला लघु जलविद्युत् सहकारी संस्थामार्फत ७५ किलोवाटको जलविद्युत् आयोजना निर्माणपछि गाउँमा चिउरी हर्बल साबुन उद्योग सञ्चालनमा आएको हो । नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) को सहयोगमा धवलागिरि क्षेत्रीय नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्र (डिसिआरडिसी) ले गाउँमा लघु जलविद्युत् आयोजना बनाएपछि तीन वर्षअघि साबुन उद्योग स्थापना भएको हो । गाविस, स्थानीय समुदायलगायतको सहयोगमा २ लाख ३० हजार रुपियाँको लागतमा स्थापना भएको उद्योगबाट उत्पादित साबुन बाग्लुङ बजारदेखि म्याग्दी र पोखराका होटेलसम्म बिक्री गरिने साबुन उद्योगका अध्यक्ष यमबहादुर भुजेलले जानकारी दिए । ‘लघु जलविद्युत्को कारणले गाउँमै साबुन उद्योग सञ्चालन गरेर ठूलो फाइदा लिँदै आएका छौँ ।’,उनले भने । उनका अनुसार, साबुन उद्योगमा मात्र ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो वर्ष १ लाख २० हजार र दोस्रो वर्ष २ लाख ६० हजार रुपियाँको कारोबार गर्न सफल उद्योगमा यस वर्ष ५ लाख बराबरको कारोबार हुने र ५ हजार साबुन उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
लघु जलविद्युत्को कारणले गाउँमा साबुन उद्योगसँगै सामुदायिक एफएम, ग्रिल उद्योग, केबल नेटवर्क, कम्प्युटर, ई–लाइब्रेरी, कापी उद्योग, कुटानी/पिसानी मिल, मौरी घार उद्योग, डेन्टल क्लिनिक, एक्सेर मेसिन सञ्चालनलगायतको स्थापना र व्यवस्थापन भएको छ । लघु जलविद्युत्मार्फतै सञ्चालित १०७.४ मेगाहर्जको रेडियो सारथीले गाउँका समाचार र सूचनामूलक जानकारी दिइरहेको छ भने स्थानीय त्रिभुवन उच्च माविले गाउँमै ल्यापटप कम्प्युटरमार्फत बालबालिकालाई पढाउन थालेको छ । ‘लघु जलविद्युत्को कारणले गाउँमा ५० भन्दा बढी उद्योग स्थापना भएका छन् भने त्यहाँ दुई सयले प्रत्यक्ष रोजगारी र एक हजारभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।’, लघु जलविद्युत् सहकारीका सचिव नारायण धितालले भने, ‘अधिकांशले स्थानीयस्तरमै व्यवसाय गर्न थालेका छन् भने पैसा कमाउनका लागि सहर र विदेश जाने क्रम घटेको छ ।’ उनको अनुभवमा लघु जलविद्युत्ले गाउँमा ठूलो आर्थिक क्रान्ति र सामाजिक परिवर्तन गरेको छ ।
२ करोड ३३ लाख रुपियाँको लागतमा बनेको आयोजनाबाट करिब ९ सय घरधुरीमा विद्युत्को सुविधा पुगेको छ भने विकट खरवाङ गाउँ लघु जलविद्युत्कै कारणले बजारका रूपमा परिणत भएको छ । लघु जलविद्युत्ले गाउँमा उद्योग सञ्चालन गर्न पाएकोमा र राम्रो शिक्षा बालबालिकालाई दिन पाएकोमा स्थानीयबासी पनि खुसी छन् । ‘गाउँमै ग्रिल उद्योग सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेको छु ।’– स्थानीय चन्द्र विकले भने– ‘लघु जलविद्युत् नभएको भए आधुनिक ग्रिल उद्योग सञ्चालनको सम्भावना नै थिएन ।’
स्थानीय विष्णुमाया अर्यालको अनुभवमा भने लघु जलविद्युत्ले पूरै गाउँको मुहार फेरिएको छ । ‘अध्याँरो गाउँ उज्यालो भएको छ, कुटानी/पिसानी गाउँमै छ, बालबालिकाले गाउँमै ल्यापटपबाट पढ्न पाएका छन्, घरमै बसेर सहर र विदेशमा रहेका आफ्ना छोराछोरीसँग कुरा गर्न पाइएको छ ।’– उनले सम्झिइन्– ‘यस्तो विकट गाउँमा यति धेरै विकास हुन त अचम्मै मान्नुपर्छ, लघु जलविद्युत् आएपछि कल्पना नगरिएको विकास गाउँमा भयो ।

प्रतिक्रिया