उत्तरगया पर्यटकीय गन्तव्य बन्दै

Nuwakotनुवाकोट, १४ चैत । नुवाकोटको विदुर नगरपालिका संगै जोडिएको तुप्चे गाविसमा अवस्थित उत्तरगया क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हँदै छ । प्रचार/प्रसारको अभावका कारण पर्यटकीय क्षेत्रका रूपमा विकास हुन नसकेको स्थानीयले बताए । पौराणिक कालमा भगवान् शिवले वेतको छडी गाडी उत्पन्न भएको वेत्रगंगा नीलकण्ठ दहबाट झरेकी त्रिशूली गंगाको संगम स्थल वेत्रावती क्षेत्र उत्तरगयाको रूपमा परिचित रहेको छ ।

हिन्दू धर्ममा उच्च कोटिको तिर्थको रूपमा रहेको गयामा पित्रृ कार्य सम्पन्न गरेका खण्डमा मात्र आफ्ना पित्रृले मुक्ति पाउने शास्त्रमा उल्लेख भए पनि प्रचार/प्रसार अभावका कारण नेपाली भारतमा अवस्थित दक्षिण गया मात्र जाने गरेका स्थानीय केशव पौडेलले बताए । गयाको मुख्य स्थलका रूपमा रहेको त्रिशूली नदीको किनारमा अवस्थित उत्तर गयामा गएर पित्रृ तर्पण गरेमा पित्रृले मुक्त पाउने पुराणमा उल्लेख छ । महादेवले समुद्र मन्थनबाट निक्लेको विषलाई कण्ठमा राखी छटपटाएर मुक्तिका लागि गोसाइँकुण्ड प्रस्थान गर्दा प्यासले सही नसक्नु भएर आफूले समातेको वेतको छडी भुइँमा गाडी पानी निकालेर प्यास मेटाएको स्थान भएका कारण वेत्रावती नाम रहेको पौडेलले बताए ।
यो क्षेत्र गोसाइँकुण्ड जाने मार्ग रहेको भए पनि प्रचार प्रसारका अभावका कारण धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना रहेको उत्तरगया क्षेत्र विकासका लागि हाल स्थानीयवासी आपैँmले पहल थालेका छन् । उत्तरगया क्षेत्र बृहत् संगठनका नाममा उत्तरगया क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पौराणिक महत्त्व क्षेत्र पहिचान गरी यो क्षेत्रको विकासका लागि यस संस्था लागिपरेको संस्थाका अध्यक्ष विष्णु बोगटीले बताए ।
ऐतिहासिक प्राकृतिक र धार्मिक स्थल भैरमकोट जुन स्थानमा पृथ्वीनारायण शाहले आफ्नो गढी बनाएर नेपाल एकीकरणका लागि पाहिला चालेको स्थान आजसम्म पनि इतिहासमा मात्र सीमित भएको उनले बताए ।
यस्तो महत्त्वको स्थान इतिहासका विद्यार्थी र इतिहासमा रुचि राख्नेका लागि खुला किताबका रूपमा विकास गरिनुपर्नेमा हालसम्म पनि पर्यटनका हिसाबले विकास हुन नसक्दा तुप्चेवासीले दु:ख व्यक्त गरेका छन् । नेपाल एकीकरणका लागि एक कोसे ढुंगाका रूपमा रहेको यस स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी त्यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकनको छुट्टै मज्जा लिन सकिन्छ । यस स्थानको प्रमुख देव स्थल बाघ भैरव मन्दिर पनि यसै गढीमा अवस्थित रहेका कारण यसको महत्त्व झनै रहेको छ ।
तुप्चे गाविस वडा नं ७ मा अवस्थित कालीपोखरी अर्को पर्यटकीय आकर्षण स्थलका रूपमा रहेको छ । तामाङ वस्तीको निकटमा रहेको कालीपोखरी जमिनमुनि गुफाभित्र रहेका कारण पनि यसको महत्त्व अलग्गै रहेको हो । १० किलोमिटर टाडाबाट खानेपानीको जोह गर्नुपर्ने स्थानमा एक सानो गुफाको खोँचमा रहेको पोखरी प्रकृतिको अद्वितीय नमुना हो ।

प्रतिक्रिया