२२ जिल्लाका कर्मचारीको भेला चैत–२६ गते

राजविराज, १३ चैत । जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय निकायका कर्मचारीले आफ्ना अधिकारका बारेमा छलफल गर्न तराईका २२ जिल्लाका कर्मचारीहरुको भेला सप्तरीमा बोलाएका छन् ।
आफूहरुका मागप्रति सरकार उदाशिन रहेको भन्दै गाविस कर्मचारीहरुले चैत–२६ गते भेला बोलाएका हुन् । राजविराजमा आज पत्रकार सम्मेलन गरेर भेलाका बारेमा जानकारी दिईएको हो ।
गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष तरुणकुमार यादवले चैत–२६ गते राजविराजमा झापादेखि कञ्चनपुरसम्मका कर्मचारी जम्मा हुँने जानकारी दिए । भेला मार्फत पेशागत हकहितका लागि योजना तयार गरिने अध्यक्ष यादवले बताए ।
‘सरकार मात्र होइन गाविस सचिवहरु समेत तराईमा कार्यरत स्थानीय निकायका कर्मचारीप्रति सकारात्मक देखिएनन्’ उनले भने, ‘सवै काम हामी कर्मचारीहरु गर्छौ, तर सरकारले सुविधा दिँदा गाविस सचिवलाई दिन्छ ।’
संघका सचिव हरिनारायण यादवले आफूहरुको तलवको समेत ग्यारेण्टी नरहेको बताए । उनले गाविस सचिवको तजविजका भरमा कर्मचारीहरु काम गर्न वाध्य भएको गुनासो गरे ।

प्रतिक्रिया