८५ प्रतिशत गुनासो फछ्र्योट

काठमाडौं, १३ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले हेलो सरकार सञ्चालनको मंसिर, पुष, माघ र फागुनमा तीन हजार चार सय ६० गुनासो प्राप्त भएकोमा दुई हजार नौ सय ३३ वटा गुनासो फछ्र्याेट भएको बताए । यो ८४ दशमलव ७७ प्रतिशत हो । उनका अनुसार १७ कात्तिक ०६८ मा सुरु गरिएको हेलो सरकारमा २१ हजार एक सय ९४ वटा उजुरी दर्ता भएका छन् ।

सचिव बास्कोटाका अनुसार गत ०६९ फागुनमा सात सय ६२ वटा गुनासो प्राप्त भएकोमा पाँच सय ८९ वटा फछ्र्योट भई एक महिनाको फछ्र्योट प्रतिशत ७७ दशमलव २९ प्रतिशत रहेको छ । बाँकी गुनासोमध्ये २३ वटा उच्च प्राथमिकता प्राप्त, तीन सय १६ वटा प्राथमिकता प्राप्त र तीन सय ८५ वटा साधारण गुनासोका रूपमा प्राप्त भएको थियो ।
०६९ फागुनमा प्राप्त गुनासामा मुख्यत: तोकिएको अवधिभन्दा बढी समय लोडसेडिङ, राहदानीको दर्खास्त बुझाउँदा तोकिएको दस्तुरभन्दा बढी रकम असुली गर्न खोजिएको, विवाह दर्ता प्रमाणपत्र दिने कार्यालयसँग फाराम नभएको, अभिभावकको सेवा आवश्यक पर्ने यात्रु अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा विमानस्थलभित्र जान नपाइएको जस्ता गुनासोमा हेलो सरकार कक्षले पहल गरी समस्या समाधान गरेको छ ।
यसैगरी ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट गुनासोका आधारमा धमिरा लागेको पोल हटाइएको, विद्युत् चोरीमा कडाइ गरिएको, तोकिएको सयमभन्दा कम लोडसेडिङ गरिएको, विद्युत् उत्पादन वृद्धि गर्न प्रयासरत रहेको, अलपत्र रहेका पोल गाडिएको र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखिएको कुरा जनाइएको छ । यसैगरी कृषि विकास मन्त्रालयबाट कृषि क्षेत्रमा रोजगारीको अवसर वृद्धि गर्न र व्यावसायिक कृषि उत्पादनका लागि सीप विकासमा जोड दिइएको छ । यसबाहेक वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट वजार अनुगमनलाई तीव्रता दिइएको, कालो बजारी नियन्त्रणको प्रयास भएको, पेट्रोलियम पदार्थको सहज आपूर्तिको पहल भइरहेको, खाना पकाउने ग्यासको आपूर्ति सहज तुल्याएको, मूल्य वृद्धि नियन्त्रणमा जोड दिएको तथा दुर्गम क्षेत्रमा खाद्यान्न पठाउन पहल गरेको प्रगति प्राप्त भएको पनि सचिव बास्कोटाले बताए ।
०६९ मंसिरदेखि फागुनसम्ममा तीन हजार चार सय ६० गुनासा मध्ये सर्वाधिक बढी गुनासा गृह मन्त्रालयसँग सम्बन्धित पाँच सय ६१ वटा रहेको र त्यसपछि शिक्षा मन्त्रालयसँग सम्बन्धित गुनासाको संख्या पाँच सय २० वटा रहेको छ । ती दुवै मन्त्रालयको गुनासा फछ्र्योट प्रतिशत क्रमश: ९८ र ९२ रहेको छ । स्थानीय विकास मन्त्रालयतर्फ तीन सय तीन वटा गुनासा प्राप्त भएकोमा ९९ प्रतिशतभन्दा बढी फछ्र्योट भएको छ । भौतिक पूर्वाधारतर्फ दुई सय १९ वटा गुनासा प्राप्त भएको छ ।
६१ प्रतिशत फछ्र्याेट भएको, सहरी विकास मन्त्रालयतर्फ दुई सय गुनासा प्राप्त भएकोमा ८४ प्रतिशत फछ्र्याेट भएको र नेपाल विद्युत् प्राधिकरणतर्फ एक सय ६२ वटा गुनासा प्राप्त भएकोमा ९१ प्रतिशत फछ्र्योट भएको छ । यो अवधिमा नेपाल दूर सञ्चार कम्पनीले ८७ वटा गुनासामा ३० वटा फछ्र्याेट गरेको छ । यसैगरी सिंचाई मन्त्रालयले २३ वटा गुनासो प्राप्त भएकोमा १२ वटा फछ्र्याेट गरेको छ । उद्योग मन्त्रालयले ३८ वटा गुनासोमा १७ वटा मात्रै फछ्र्याेट गरेको छ । सचिव बास्कोटाले प्राप्त गुनासामध्ये कम्तिमा ७५ प्रतिशत फछ्र्याेट गर्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयका सचिव र नोडल अधिकृतको ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया