चार युवाको कथामा प्रोड्युसर

Taruni-1काठमाडौं : अचेल कुनै पनि चलचित्रले व्यवसायिक सफलता हात पार्न सकेको छैन । चलचित्रमा निर्माताले जति पनि लगानी गरेका छन्, ती सबै बालुवामा पानी हालेसरह भएको छ । यस्तो अवस्थमा चलचित्रमा निर्माण गर्न चाहने चार युवाहरूका विषयलाई चलचित्रको मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र ‘प्रोड्युसर’ ले आफ्नो प्रचारप्रसार सुरु गरेको छ । सोमबार मैतिदेवीस्थित एक क्याफेमा कार्यक्रम आयोजना गरी चलचित्रले प्रचार सुरु गरेको हो ।
तोकिएको समयभन्दा केही ढिला सुरु भएको कार्यक्रममा चलचित्रका निर्माता राजकुमार राईले चलचित्रको व्यावसाय नभइरहेको वर्तमान अवस्थालाई आफ्नो चलचित्रले परिवर्तन गर्ने बताए । ‘मेरो चलचित्र बजारमा आएपछि अहिलेको व्यावसायिक अवस्थालाई परिवर्तन गर्नेछ’ उनले भने, ‘चलचित्र अहिलेका चलचित्र भन्दा फरक रहेको छ ।’
त्यस्तै, ‘प्रोड्युसर’ चलचित्रमार्फत नै निर्देशनमा डेब्यु गरेका निर्देशक जनकदीप पराजुलीले चलचित्र राम्रो बनाउने कोसिस गरेको बताए । चलचित्रका कलाकार तथा चलचित्रभित्र प्रोडक्सन म्यानेजरको भूमिकामा प्रस्तुत भएका श्याम राईले चलचित्र हेर्न हलमा बसुन्जेल दर्शकलाई बोर फिल नहुने बताए । चलचित्रले यस क्षेत्रमा एक खालको फड्को मार्ने उनले दाबी गरे ।
कार्यक्रममा साहित्यकार शिवभक्त शर्माले नेपाली समाजका सत्यघटनालाई निश्चित उद्देश्यका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै ‘प्रोड्युसर’ को सफलताका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा निर्देशक आकाश अधिकारी, चलचित्र संघका महासचिव प्रदीप उदय र कलाकार युवराज लामालगायतले चलचित्रको सफलताका लागि शुभकामना दिए । आरसी पिक्चर्स प्रालिको प्रोडक्सनमा द मिडियाज कलेक्सनको प्रस्तुति रहेको चलचित्र चलचित्र ‘प्रोड्युसर’ का प्रस्तुतकर्ता ज्योति राई रहेका छन् । श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई, विल्सनविक्रम राई, पायाल रायमाझीलगायत कलाकारको चलचित्रमा मुख्य भूमिका छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केशव अधिकारी हुन् ।
चलचित्र बनाउन चाहने नवयुवाहरूको संघर्ष र रहरले चलचित्र बनाउन चाहने निर्माताको वास्तविकतालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ । काठमाडौंलगायत दोलखाका रमणीय स्थानहरूमा छायांकन गरिएको चलचित्र हाल प्रविधिक कार्यको अन्तिम चरणमा रहेको छ । कार्यक्रममा चलचित्रको प्रोमो तथा पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा लेखन किरण माइकल, द्वन्द्व रोशन श्रेष्ठ, संगीत राहुल प्रधान, सुरेश राई, किरण माइकल, नृत्य साइमन राजवंशीको रहेको छ भने सम्पादन ध्रुवराज पराजुलीको छ । (सौस)

प्रतिक्रिया