‘तत्काल मिति घोषणा नभए असारमा चुनाव गाह्रो’

काठमाडौं : निर्वाचन आयोगका नवनियुक्त पदाधिकारीले आयोगका कर्मचारीसँग संविधानसभा चुनावको तयारी तथा थप गर्नुपर्ने कामबारे परामर्श थालेका छन् ।
संविधानसभा चुनाव सम्पन्न गर्नेगरी ६ वर्षको नियुक्ति लिएर आइतबार काम सुरु गरेका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तले चुनावको तयारीबारे कर्मचारीसँग परामर्श थालेका हुन् । उनीहरूले सोमबार कर्मचारीसँग असार पहिलो साता चुनाव सम्पन्न गर्न आवश्यक प्राविधिक तथा भौतिक पक्ष र कार्यतालिकाबारे छलफल गरेका थिए । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कर्मचारीलाई चुुनावको तयारीमा जुट्न निर्देशनसमेत दिएका थिए ।
चुनावको तयारी र त्यसक्रममा आउनसक्ने विभिन्नखाले समस्याबारे पनि आयुक्त र कर्मचारीबीच छलफल भएको थियो । कर्मचारीले मिति तय गर्न ढिलाइ हुँदा समयमै चुनाव गराउन समस्या हुनेतर्फ आयुक्तको ध्यानकर्षण गराएका थिए । उनीहरूले तत्काल मिति घोषणा नभए असार पहिलो साता चुनाव गर्न नसकिने जानकारी गराएका थिए ।
त्यस्तै, विभिन्न जिल्लामा फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध देखिएको भन्दै यसले पनि चुनावलाई असर गर्ने कर्मचारीको भनाइ थियो । चुनावका लागि सबै दलबीच सहमति आवश्यक रहनेमा पनि कर्मचारीले आयुक्तको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रमुख आयुक्त उप्रेतीले चुनावको मिति तोक्नका लागि राजनीतिक दलका नेताहरूसँग तत्काल छलफल गर्ने बताएका थिए । पहिलो चरणमा उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरूसँग र दोस्रो चरणमा अन्य दलसँग छलफल गरी मिति तय गर्ने निष्कर्षमा आयोग पुगेको छ ।
आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले बैठकमा प्रमुख आयुक्तसहित आयुक्तहरूले चुनावको तयारीका विषयमा आयोगका अधिकारीसँग जानकारी लिएको बताए । आयोगको आन्तरिक तयारी र प्राविधिक विषयमा बुझिसकेपछि मात्रै कार्यतालिकाबारे सरकारलाई सिफारिस गर्ने उनको भनाइ थियो । (सौस)

प्रतिक्रिया