४१ हजार मतदाता घटे

जाजरकोट, १३ चैत । पाँच वर्षअघिको संविधानसभाको भन्दा यसपटक हुने निर्वाचनमा जाजरकोटमा मतदाताको संख्या ४१ हजार कम देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गत संविधानसभाको चुनावमा ९७ हजार तीन सय चार रहेको जिल्लाको कुल मतदाता संख्या यसपटक ५६ हजार २ सय ८५ मा झरेको छ ।

निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियान अन्तर्गत संकलित तथ्यांक निकै घटेको पाइएको हो । मतदाता नामावली संकलन केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित स्वयम् उपस्थित हुनुपर्ने भएकाले यसपटक मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सर्वदल शाहीले जानकारी दिए ।
कार्यालयका अनुसार खलंगामा सबै भन्दा बढी चार हजार ७० मतदाता छन भने रामीडाडाँमा सबै भन्दा कम आठ सय २३ रहेका छन् । कार्यालयका अनुुसार जिल्लाको क्षेत्र नम्बर १ मा २९ हजार तीन सय ५१ र क्षेत्र नम्बर २ मा २६ हजार नौ सय ३४ मतदाता छन् । जाजरकोटमा दुई निर्वाचन क्षेत्र र तीस गाविस छन् ।
नागरिकता नहुँदा नामावली संकलनमा समस्या
निर्वाचन आयोगको कार्यक्रम अनुसार गाउँमा फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न गएका जिल्ला निर्वाचन कार्यालयका कर्मचारीलाई समस्या परेको छ । नामावली दर्ता गराउन नागरिकता अनिवार्य गरिएपछि गाउँका अधिकांश स्थानीयसित नागरिकता नहुँदा समस्या परेको हो ।
घरदैलो अभियानबाट नामावली संकलन तथा अद्यावधिक गर्न हिँडेका कर्मचारीलाई जनताले नागरिकता नै नभएको बताउँने गरेपछि अपेक्षाअनुसारको संख्यामा नामावली संकलन गर्न समस्या परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीले जानकारी दिए ।
जनतामा निर्वाचनप्रति खासै चासो नभएको कार्यालय स्रोतले बताएको छ । निर्वाचन आयोगले एकमहिने अभियानबाट १४ हजार मतदाताको नाम संकलन गर्ने कार्यक्रम राखे पनि नागरिकता सहितका सर्वसाधारणको सहभागिता कम भएपछि आयोगको लक्ष्य पूरा नहुने देखिएको छ ।
२७ फागुनदेखि २६ चैतसम्मका लागि जिल्ला निर्वाचन कार्यालयका कर्मचारी जिल्लाका ३० वटै गाविसमा विभिन्न पाँच समूहमा खटिएका छन् । आगामी निर्वाचनका लागि जाजरकोटमा ७९ मतदान केन्द्र कायम गरिएका छन् ।

प्रतिक्रिया