पावरटेलरको प्रयोग बढ्यो

पर्वत, १२ चैत । पछिल्लो समयमा कृषि कर्ममा आधुनिकता भित्रिएको छ । आधुनिकताको विकास सँगै परम्परागत रूपमा गोरु पाल्ने र हलोले जोतेर बालीनाली लगाउने क्रम पनि घट्दै गएको छ ।

परम्परागत रूपमा गरिने खेती प्रणालीलाई परिवर्तन गर्दै कृषक पावरटेलरको प्रयोग गर्न थालेका छन् । गोरु पाल्ने झन्झट नहुने र खर्चसमेत कम लाग्ने भएपछि कृषकहरू पावरटेलरको प्रयोग गर्न थालेका हुन् । जिल्लाका गाउ गाउमा पावरटेलर भित्रिएपछि कृषकलाई राहतका साथै गोरु पाल्नुपर्ने झन्झट समेत हटेर गएको छ ।
थोरै समयमा धेरै काम गर्न सकिने र किफायती भएका कारण कृषकहरूले पावरटेलरको प्रयोग बढाएका हुन् । गोरुबाट एक हल जोत्नुपरेमा १५ सयसम्म खर्च हुने तर यान्त्रिक हलोले १ घण्टामा १ हल गोरुले गर्ने काम गर्ने र रकम समेत ५ सय रुपैया भन्दा खर्च नलाग्ने भएकाले पावरटेलरको प्रयोग बढ्दै गएको कृषकहरू बताउँछन् ।
गाउमा एक यान्त्रिक हलोलाई ५० घरधुरीले उपयोग गर्न सक्ने भएकाले समूहमार्फत गाउ गाउमा भित्र्याउने क्रम समेत बढेर गएको छ । त्यसका लािग जिल्ला कृषि विकास कार्यालयले समूह निर्माण गरेर आएमा ५० प्रतिशत अनुदानमा हलो वितरण गर्ने गर्छ । एउटा यान्त्रिक हलोलाई क्षमताअनुसार ४० देखि ६० हजार रुपैया पर्ने र कृषि विकास कार्यालयले समूहमार्फत ५० प्रतिशत अनुदान दिने भएकाले कृषकहरूले सस्तो दरमा हलो पाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
एक हल गोरुको स्थानीय बजारमा ३० हजारदेखि ४५ हजारसम्म पर्ने र पाल्न समेत झन्झट हुने भएकाले यसतर्फ आकर्षित भएको चुवाका किसान विष्णु प्रसाद भुवाँजीले बताए । पेट्रोल र डिजेल दुबै इन्धनबाट चल्ने भएपनि कृषकको भने डिजेलबाट चल्ने हलोप्रति आकर्षण रहेको छ । डिजेलबाट चल्ने हलो टिकाउ र इन्धन समेत कम खाने भएकाले सजिलो भएको कृषक भुवाजीको भनाइ छ ।
यान्त्रिक हलोको भाडा प्रतिघण्टा ५ सय लिने गरेको र दैनिक रूपमा खर्च कटाएर १ हजार देखि १५ सय रुपैयाँसम्म कमाइ हुने गरेको उनको भनाइ छ । हल गोरु खोजेर जोताउनुपर्दा एक दिनको १५ सय रुपैयाँ खर्च लाग्ने र यान्त्रिक हलो भएमा कुनै किसिमको झन्झट नहुने कृषक राम प्रसाद पाध्याले बताए । जिल्ला कृषि विकास कार्यालय पर्वत तथा कृषकहरूको आºनै पहलमा जिल्लाको पाङ, खुर्कोट, चुवा, भुकताङ्ले, पाङराङ, हुवास, नाङलीवाङ, फलेवास, बर्राचौर, धाईरिङ्ग, पिपलटारी लगायतका गाविसहरूमा पावरटेलरको प्रयोग हुन थालेको वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।
कृषकहरूले सहज महसुस गरेर माग गरेमा अन्य गाविसहरूमा समेत समूहमार्फत हलो वितरण गरिने रेग्मीले बताए । विभिन्न क्षमताका हलो बजारमा भित्रिएको भएपनि जग्गाको अवस्था र कृषकको सङ्ख्या हेरेर सिफारिस गर्ने गरेको उनको भनाइ छ ।
अहिले बजारमा विभिन्न कम्पनीहरूले ५ देखि १२ हर्ज पावरसम्मका पावरटेलर बेचविखन गरिरहेका छन् । जति बढी क्षमताको हलो भयो त्यति बढी मात्रामा काम लिन सकिने भएकाले जग्गाको अवस्था हेरेर सिफारिस गर्ने गरिएको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया