गाईपालन व्यवसायमा युवा

cowकाठमाडौं, ११ चैत । विभिन्न व्यवसाय गरेर धेरै अनुभव बटुलिसकेका दाङ, तुल्सीपुर स्थायी घर भएका दीपक बस्नेतले सानोठिमी–१६, स्थित लोकन्थली जातिगालमा जिमिनी कृषि उद्योग सञ्चालन गरेका छन् । उनले गाईको शुद्ध दूधको परिकार प्रयोग गराँै, ढुक्क रही सधँैका लागि स्वस्थ रहाँै’ को नारा दिएर गाईपालन व्यवसाय सुरु गरेका हुन् । उनको यो व्यवसायमा दैनिक २५ हजार अर्थात् मासिक करिब १०/१२ लाखसम्मको कारोबार हुने गरेको छ । खर्च कटाएर डेढ/दुई लाखसम्म मासिक आम्दानी हुने गरेको उनले बताए । उनी रोजगारीका लागि बिदेसिने युवा जमातलाई मिहिनेत गरे स्वदेशमै प्रशस्त आम्दानी गर्न सकिने सल्लाह दिन्छन् । विदेश जाँदा लाग्ने खर्च स्वदेशमै लगानी गरेर स्वरोजगार बन्न सकिने उनको तर्क छ । उनी भन्छन्, ‘अग्र्यानिक तरकारी खेती वा गाईपालन व्यवसायबाट पनि रोजगारी बन्न सकिन्छ । गाईपालन व्यवसाय गर्न सुरुमा खासै ठूलो रकम जरुरी नपर्ने उनले बताए । गाईलाई खुवाइने दाना भने सरकारले सर्वसुलभ मात्रामा उपलब्ध गराउनुपर्ने उनको माग छ । यस्ता व्यवसायीका उत्पन्न समस्याबारे विशेष चासो राखी निराकरण गर्दै जाने हो भने अन्य बेरोजगार युवाजनशक्तिको पनि यसतर्फ पक्कै ध्यान जानेछ भन्ने उनलाई विश्वास छ ।

अहिले जर्सी, होलस्ट्यानलगायत उन्नत जातका २५/३० वटा गाई भएको र सो संख्या केही दिनमै दोब्बर पुर्‍याउने उनको लक्ष्य छ । प्रतिगाई ६० हजारदेखि ७५ हजार रुपियाँसम्म पर्ने उनले बताए । भन्छन्, ग्राहक आफँैले गाईको दूध दुहेर लैजान पनि सक्छन्, किनकि शुद्धता नै मेरो प्रतिबद्धता हो ।’ एउटा गाईले २० लिटरसम्म दूध दिने गरेको उनले बताए । आफूले व्यवसाय सुरु गरेपछि ग्राहक पनि बढेको उनको अनुभव छ । ग्राहककै अभिरुचि र डिमान्डका कारण आफूमा थप हौसला मिलेको उनले सुनाए । उनले यो व्यवसायमा ४/५ जनालाई रोजगारीसमेत दिएका छन् । उनी अहिले गाईका लागि व्यवस्थित गोठ बनाउन तल्लीन छन् । गाई थपेपछि उनले डेरी सञ्चालन गर्ने भएका छन् । उनको गोठमा दूध, दही, मही र पनिर उपलब्ध छ । गाईको गोबरबाट गोबर ग्यास निकाली स्थानीय उपभोक्तालाई सेवा दिने पनि उनको सोच छ । उनले गाईपालन व्यवसायका साथै अग्र्यानिक तरकारी खेतीतर्फ पनि ध्यान दिन थालेका छन् । यो व्यवसायका लागि उनले प्रयोग गरिरहेको ३ रोपनी जग्गाले नपुगेर थप जग्गाको खोजीमा लागेका छन् । उनले यस व्यवसायतर्फ आकर्षण गर्ने सरकारले कुनै कार्यक्रम नल्याएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बेरोजगारीका कारण युवाजनशक्ति बिदेसिँदासमेत सरकारले स्वदेशमै यस्तो व्यवसाय गर्नेतर्फ उत्प्रेरित नगर्नु सरकारको कमजोरी ठान्छन् उनी । डा. बाबुराम भट्टराईको सरकारको पालामा स्वरोजगार तालिमको व्यवस्था गरे पनि त्यसले खासै उपलब्धि हासिल नगरेको उनको भनाइ छ । भन्छन्, ‘सरकारले झाराटाराइ कार्यक्रम ल्याएर तालिमको बहानामा सरकारी ढुकुटी रित्याउनुभन्दा व्यवसायीलाई सर्वसुलभ मात्रामा ऋण उपलब्ध गराई कुनै व्यवसायमा लाग्न अभिप्रेरित गर्नु राम्रो हुन्छ ।’
एमएड गरेका बस्नेत हातमा सर्टिफिकेट लिएर रोजगारीको खोजीमा भौंतारिरहनुभन्दा आफँैले कुनै व्यवसाय गरेर आत्मसन्तुष्टि मिल्ने बताउँछन् । डिप्लोमा इन फार्मेसीसमेत गर्न भ्याएका उनले गौशालामा दीप फार्मेसी पनि सञ्चालन गरेका छन् ।

प्रतिक्रिया