चौध वर्षपछि हिरो

काठमाडौं : सानैमा चलचित्र हेर्न जाँदा सहरका भित्ताभरी हिरोका फोटा भएका पोस्टर टाँसिएका हुन्थे । आफ्ना फोटा पनि त्यसैगरी पोस्टरमा टँसाउने रहर मनमा जाग्यो । त्यो रहरका कारण उनी कलाक्षेत्रतिर होमिए । यसमा होमिएको १४ वर्षपछि अहिले आएर उनका रहर पूरा भएको छ । अर्थात् अहिले सहरका भित्ताभरी चलचित्र ‘लब इन चाइना बोर्डर’का पोस्टर टाँसिएका छन् । ती पोस्टरमा आफ्ना फोटा अटाउन उनी सफल भएका छन् । उनी अर्थात् रोहित कुमार ।
हुन त उनका पोस्टर सहरका भित्तामा टाँसिएको यो पहिलो भने होइन । यसअगाडि ‘रुद्राक्ष’ र ‘चम्पा चमेली’ चलचित्र प्रदर्शनका समयमा पनि पोस्टरमा देखिएका थिए । जसका कारण उनी सबैमाझ चिनिन सफल भए । चारवर्ष अगाडि ‘दुई मुटु एक धड्कन’ चलचित्रबाट अभिनयमा प्रवेश गरेका रोहित सोदेखि अहिले पछिल्लो ‘तोरी लाउरे’सम्म आइपुग्दा दर्जन चलचित्रमा अभिनेताका रूपमा अभिनय गरिसकेका छन् । ‘यी मध्ये केही चलचित्र प्रदर्शन आए, केही आउने तयारीमा छन् र केही निर्माणकै क्रममा थन्किए’, रोहितले भने । धेरै अगाडि नै चलचित्र अभिनय गरे पनि पहिलेका चलचित्र केही थन्किएका र केही प्रदर्शनमा आउन ढिला भएकाले आफू भर्खर मात्र अभिनयमा आएको जस्तो देखिएको हो ।
बाल्यकाल देखिकै हिरो बन्ने रहरले कलाकारितामा छिरेका रोहित म्युजिक भिडियोका मोडेल र र्‍यापरका रूपमा धेरै अगाडि आफूलाई चिनाउन सफल भइसकेका छन् । पैसा हालेर हिरो नखेल्ने मनस्थिति आफूमा भएको अभिनेताका रूपमा चिनिन यतिका वर्ष लागेका बताउने उनी नेपाली चलचित्रका नियमित दर्शक पनि हुन् । अहिलेसम्म प्रदर्शनमा आएका कुनै चलचित्र हेर्न नछुटाएको उनले सुनाए ।
अभिनय, नृत्य र एक्सन कलाकारिताका लागि यी तीन कुरा अनिवार्य मानिन्छ । यी तीनैमा पोख्त भएपछि मात्र कलाकारितामा होमिएका रोहितले बुबाको आर्मी बनाउने सपना लत्याउँदै यस क्षेत्र रोजेका हुन् । बुबाआर्मीमा भएकाले मलाई पनि आर्मी अफिसर बनाउने उहाँको सपना थियो उनले भने, उहाँको त्यो सपना मैले कलाकारितामा लागेर पूरा गर्न सकिनँ । त्यसो कलाकारिताका सुरुका समयमा साथीभाइले बहुला आयो भनेर बनाएको घाउ उनका मनमा आलै छ । त्यतिबेला बहुला भन्नेले अहिले प्रशंसा गर्न थालेका छन् त्यो घाउको मलम यसैलाई बनाउँदै छन् ।
म मरे पछि मात्र त हिरो भएको चलचित्र बजारमा आउँछ होला केही वर्ष अगाडिसम्म बुबाले भनेका यी शब्द उनले दोहोर्‍याए । बुबाका यी शब्दले बुबा जीवित छँदैमा चलचित्रमा हिरो बन्नुपर्छ भन्ने मलाई हौसला मिल्यो । त्यसैले पनि आज हिरोका रूपमा उदाउन सफल भएको उनको ठहर छ । कलाकारिताको सुरुका समयमा स्टेज कार्यक्रमका कमाइले सबै खर्च टरे पनि अहिले हिरोका कमाइले भने उनका आवश्यकता पूरा गर्न सकेको छैन त्यसैले त उनी स्टेजलाई पनि जारी राख्ने मनस्थितिमा छन् । म स्टेजबाट नै अभिनयमा आएको हो, त्यसैले यो कर्म छाड्दिनँ,’ उनले भने कलाकारिता एक्सन हिरोका रूपमा चिनिने चाहाना छ । (सौस)

प्रतिक्रिया