पाच सय मुक्त कमलरीलाई छात्रवृत्ति रकम वितरण

कञ्चनपुर : जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले विद्यालय तहमा अध्ययनरत पाँच सय ४६ मुक्तकमलरी छात्रालाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।
विभिन्न विद्यालयमा अध्ययनरत मुक्त कमलरीलाई सम्बन्धित विद्यालयमार्फत छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्रालाई वार्षिक एक हजार ५ सय, कक्षा ९ देखि १० सम्म अध्ययनरतलाई एक हजार ८ सय रुपियाँ र उच्च माध्यमिक तहका विद्यार्थीलाई पाँच हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा कार्यालयले जनाएको छ । उपसचिव पद्मराज भट्टका अनुसार कक्षा १ देखि ८ सम्म ४६१ जना, कक्षा ९ देखि १० मा ६८ र उच्च माध्यमिक तहमा १७ जना गरी ५ सय ४६ मुक्त कमलरी अध्ययनरत छन् ।
छात्रवृत्तिबापत उनीहरूलाई आठ लाख ९८ हजार ९ सय रुपियाँ वितरण गरिएको शिक्षा कार्यालयले जनाएको छ । गत वर्ष ५ सय ८५ मुक्त कमलरी छात्रालाई छात्रवृत्तिबापत नौ लाख ४४ हजार ३ सय रकम वितरण गरिएको थियो ।
यसैगरी, अभिभावक नभएका एवं छात्रावासमा बस्दै आएका ५० मुक्त कमलरीलाई खाना खर्चबापत मासिक दुई हजार पाँच सयका दरले रकम उपलब्ध गराउने व्यवस्थासमेत शिक्षा कार्यालयले गर्दै आएको छ । भीमदत्त नगरपालिकाको पूर्ण उच्च माविको छात्रावासमा बसेर अभिभावक गुमाएका मुक्त कमलरी पढ्दै आएका छन् । (सौस)

प्रतिक्रिया