‘सबै दल चुनावमा आउँछन्’

काठमाडौं, ११ चैत । एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिले विरोध गर्ने दलहरू पनि चुनावमा सहभागी हुने दाबी गरेका छन् । चुनावले नै मुलुकको अहिलेको समस्यालाई निकास दिने उनले बताए ।

‘बुझाइमा समस्या देखिएका कारण निर्वाचनमा भाग लिन्नौँ भन्ने दलहरू पनि निर्वाचन नै उपयुक्त विकल्प हो भन्ने बुझ्न थालेका छन् । बिस्तारै निर्वाचनको माहोल बन्दै छ’, शनिबारको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले भने । चुनावको विरोधमा उत्रिनेहरूलाई जनताले ठेगान लगाउने उनको भनाइ थियो ।
निर्वाचन आयोगले तोकिएको मितिभित्रै चुनाव गराउन सकिने प्रतिवद्धता जनाइसकेकाले सबै दलले चुनावको माहोल बनाउनेतर्फ लाग्नुपर्ने प्रवक्ता सापकोटाले बताए । विरोध गरिरहेका दलहरूलाई उनले चुनावसित नतर्सिन आग्रह गरे । ढिलोमा आइतबारसम्ममा निर्वाचन आयोगमा पदाधिकारीहरू नियुक्त गरिने पनि उनले दाबी गरे ।
प्रवक्ता सापकोटाले भने, ‘दलहरूको सिफारिसमा संवैधानिक परिषद्ले प्रस्ताव गरेका आयोगका पदाधिकारीहरूको नाममा राष्ट्रपतिले आपत्ति जनाउनुपर्ने कुनै कारण छैन ।’ आफ्नो पार्टी जारी केन्द्रीय समितिको बैठकबाटै निर्वाचनको प्रक्रियामा लागेको उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्की एमाओवादीको मात्रै सिफारिस हो भनेर गरिएको प्रचारमा सत्यता नभएको दाबी प्रवक्ता सापकोटाले गरे । प्रमुख चारवटै राजनीतिक शक्तिले संयुक्त रूपमा कार्कीको नाम सिफारिस गरेको उनले बताए ।

प्रतिक्रिया