युवासंघ चुनावमा होमिने

mahesh basnetकाठमाडौं, १० चैत । एमाले निकट युवा संघले आगामी निर्वाचनमा मतदाताको मत सुरक्षाका लागि भन्दै ‘एभ्री बुथ, इफेक्टिभ युथ’को रणनीति अघि सारेको छ । आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष महेश बस्नेतले मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाए एमाले पहिलो पार्टी बन्नेसमेत ठोकुवा गरे ।

अघिल्लो चुनावमा मतदातामाथि एमाओवादीले देखाएको धम्की र त्रासबाट मतदातालाई मुक्त गर्न नसकेकैले एमाले तेस्रो पार्टी भएको दाबी गर्दै बस्नेतले युवा संघले निर्वाचन केन्द्रित रणनीति बनाउन लागेको बताए । ‘अब युवा संघका सारा कुरा निर्वाचन केन्द्रित हुनेछन्, मुलुक निर्वाचनमय र निर्वाचन एमालेमय हुनेछ,’ बस्नेतले भने, ‘घरबाट मतदाता जसलाई मत हाल्छु भनेर निस्कन्छन्, त्यसैमा मतदात गर्ने वातावरण सुनिश्चित भए एमाले पहिलो पार्टी हुन्छ । हामी त्यही सुनिश्चितताका लागि रणनीति बनाउँदै छौँ ।’
प्रतिस्पर्धी युवा संगठनहरूले पहिलेको जस्तै बल प्रयोग गरे युथ फोर्स ब्युँताउने बस्नेतले चेतावनी दिए । अबको चुनावमा मतदाताको मत सुरक्षाका लागि हरेक बुथमा युवा संघले प्रभावकारी परिचालन गर्ने उद्घोष उनले गरे । ‘अब एभ्री बुथ इफेक्टिभ युथको रणनीति लागू गर्छाैं’ बस्नेतले भने । युवा संघले १६ वर्ष उमेरका नागरिकले मतदान गर्न पाउनुपर्ने, विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । आगामी चुनावमा पार्टीका तर्फबाट ५० प्रतिशत उम्मेदवार युवा हुनुपर्ने दबाब पार्टीसमक्ष खडा गर्ने पनि बस्नेतले बताए ।
लडाकु शिविरभित्र १८ अर्ब रुपियाँ भ्रष्टाचार गरेको र युवा स्वरोजगार कोषमा भएको भ्रष्टाचार छिपाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शाही सरकारका सचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफरिस गरेको बस्नेतले दाबी गरे । उनले कार्कीलाई कुनै पनि हालतमा अख्तियार प्रमुख बनाउन नदिने ठोकुवा गरे ।
‘शिविरभित्र १८ अर्ब रुपियाँ भ्रष्टाचार गरेका प्रचण्ड बाबुरामहरूले शिविरको भ्रष्टाचारबाट चोखिन र युवा स्वरोजगार कोषको दुरुपयोगबाट बच्न हुकुम प्रमांगीवाला लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेका हुन्,’ बस्नेतले भने, ‘कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय भए युवा संघले सफल हुन दिँदैन र भ्रष्टाचारीलाई जेल पठाउन दबाब दिन्छौँ ।’
युवा संघको राष्ट्रिय महाधिवेशनले मुलुकलाई उत्पादन क्रान्तिमा जोड्ने नीति लिएकाले युवा संघका कुनै पनि नेता कार्यकर्ता उत्पादन कार्यमा संलग्न हुने र राजनीतिलाई पेसा नबनाउने बस्नेतले बताए । बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजनलगायत निर्णय गरेको थियो ।

प्रतिक्रिया