दुर्गमका अहेवलाई निक साइमन्स अवार्ड

firoj-aliउदयपुर, ९ चैत । जिल्लाको विकट गाविस जातेस्थित स्वास्थ्यचौकी टोड्केका अहेव मोहम्मद फिरोज अलि राईन यस वर्षको सर्वोत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएका छन् । सर्वोत्कृष्ट स्वास्थ्यकर्मी घोषणा भएसँगै फिरोजले निक साइमन्स अवार्ड ०६९ समेत प्राप्त गरेका छन् ।

छोटो समयमै स्वास्थ्यचौकी व्यवस्थापन र गुणस्तरीय सेवा दिएको भन्दै स्वास्थ्यसचिव डा. प्रवीण विश्र, निक साइमन्स अवार्डका संस्थापक डा. जिम साइमन्स र म्यार्लिन साइमन्सले फिरोजलाई अवार्ड प्रदान गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपियाँसमेत प्राप्त गरेका छन् । सम्मान कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक र पाँचवटै विकास क्षेत्रका स्वास्थ्य निर्देशकहरूको सहभागिता थियो ।
सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीमध्ये एक जनालाई दिइने उक्त अवार्ड यस वर्ष फिरोजले हात पारेका हुन् । ‘अवार्ड पाउँदा म एकदम खुसी छु,’ उनले भने, ‘वास्तवमै मैले गरेको कामको नेपाल सरकारले सही मूल्यांकन गर्‍यो ।’
०६२ सालमा जाते गाविस पुगेका उनले त्यहाँका बासिन्दाको स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्था भवन निर्माण गर्न योगदान पुर्‍याएका थिए । त्यस्तै, स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालन, उपस्वास्थ्यचौकीबाट स्वास्थ्यचौकी बनाउन विशेष पहल र चौबिसै घन्टा आकस्मिक सेवा सञ्चालनलगायत कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया