‘निकासका लागि रेग्मी’

काठमाडौं : कांग्रेस सभापति सुशील कोइरालाले दलबीच व्याप्त अविश्वासका कारण चुनौती मोलेरै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउनुपरेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको तेस्रो स्मृति दिवसमा आयोजित ‘गिरिजाप्रसाद कोइराला, दलहरूको प्रतिबद्धता र लोकतन्त्र’ विचारगोष्ठीमा उनले रेग्मी नेतृत्वको सरकारले राजनीतिक निकास दिने दाबी गरे ।
‘दलहरूबीच एकले अर्कोलाई नमानेपछि प्रधानन्यायाधीशलाई स्विकारेका हौँ,’ कोइरालाले भने, ‘हामीले यसलाई चुनौतीका रूपमा लिएका छौँ, जुन प्रजातन्त्रका निम्ति हो ।’ रेग्मीले राजीनामा नदिए पनि न्यायपालिकामा उनको छायासमेत नपर्ने विश्वास कोइरालाले व्यक्त गरे । ‘कायममुकायम प्रधानन्यायाधीशले अदालतमा रेग्मीको कुनै छाया नपर्ने बताउनुभएको छ, राजीनामा नदिए पनि अदालत स्वतन्त्र रहनेछ,’ उनले भने ।
प्रजातन्त्रको स्थायित्वका लागि चुनावको विकल्प नभएको भन्दै कोइरालाले चुनावले उत्सव, प्रेरणा र जनतामा जागरण ल्याउने बताए । कांग्रेसले चुनावलाई प्राथमिकतामा राखेको भन्दै उनले प्रधानमन्त्री पदको लोभमा आफू नलागेको जिकिर गरे । कांग्रेसमा यसपटक धेरैको आकर्षण रहेको भन्दै सभापति कोइरालाले अबको चुनावमा कांग्रेस मुख्य पार्टी बन्ने दाबीसमेत गरे । कोइरालाले नेता–कार्यकर्तालाई पार्टीका सामान्य विवादमा नअल्झी चुनावको तयारी गर्न निर्देशन दिए । (सौस)

प्रतिक्रिया